तिहार सकिएसँगै तराईमा छठको तयारी तीव्र
दीपावली सकिएसँगै जनकपुरधाममा छठको तयारी शुरु भएको छ । छठ पर्व नजिकिँदै गएपछि जनकपुर, वीरगञ्जलगायतका विभिन्न स्थामा पोखरी र नदीहरुलाई स्थानीयवासी र समूहको सहभागितामा विशेषरूपमा श्रृङ्गार्न थालिएको छ ।
कतिपय पोखरीका घाटमा सरसफाइ पनि गरिएको छ । तराईमा छठको छुट्टै महत्त्व रहेको छ । प्रत्येक वर्ष छठ मनाउनेहरू वृद्धि भइरहेकाले यस पर्वका लागि आवश्यक पर्ने सामानको जोहो गर्न किनमेल गर्नेको बजारमा निकै भीड देखिन थालेको छ ।
विगतभन्दा यस वर्ष छठ पर्वमा आवश्यक सामानको मूल्य निकै वृद्धि भएको स्थानीयले बताएका छन् । यसवर्ष मङ्सिर ३ गते षष्ठीको दिन विधिपूर्वक साँझको अर्घ्य दिने दिन भए पनि यसको मुख्य विधि तीन दिन अगावैदेखि निष्ठापूर्वक सुरु हुने गर्छ ।
सूर्य पुराणअनुसार सर्वप्रथम अत्रिमुनिकी पत्नी अनसुइयाले छठ व्रत गरेपश्चात अटल शौभाग्य र इच्छा पूरा भएपछि त्यही समयदेखि छठ पर्वको सुरुआत भएको मान्यता छ । छठ पर्व मनाउनुको पछाडि धार्मिक मान्यता, वैज्ञानिक, ज्योतिषसम्बन्धी तत्त्व पनि त्यत्तिकै महत्त्व राख्दछ । जसअनुसार सूर्य तत्वबाट आफ्नो ज्ञानको अभिवृद्धि गरी जनकल्याणका लागि महत्त्वपूर्ण हुने विश्वास रहिआएको छ ।
यस्तो छ छठको विधि
अहिले गाउँगाउँ घरघरमा छठ पर्वका गीत गुन्जिने गरेको पाइन्छ । चार दिनसम्म मनाइने यो पर्वमा व्रतालुहरुले माछा, मासु, लसुन, प्याज, कोदो, भन्टा, मसुर आदि परित्याग गरी व्रत बस्ने गरिन्छ । निकै निष्ठापूर्वक मनाइने छठको पहिलो दिन बर्तालु नहायखाय गरी छठ पर्व आरम्भ गर्छन् । दोस्रो दिन खरना विधि गरिन्छ । खरनालाई पापको क्षय हुने दिन पनि भनिन्छ ।
खरनाका दिन राति गाईको गोबरले लिपपोत गरी अरबा चामलको पिठोबाट तयार पारिएको झोलले भूमि सुशोभित गरेर बर्तालु दिनभर उपवास बस्ने गर्छन् । बेलुकीपख चन्द्र दर्शन गरिसकेपछि माटोको नयाँ चुल्हो र माटाकै नयाँ भाँडामा सख्खर, दूध र चामलको खीर पकाइन्छ ।
यस्तो खीर केराको पातमा राखेर छठिमातालाई चढाइन्छ र चढाइसकेपछि बर्तालुले प्रसादका रूपमा ग्रहण गर्ने गर्छन् । यसलाई परिवारका अन्य सदस्यले पनि प्रसादका रूपमा ग्रहण गर्ने चलन छ । अर्को दिन बेलुकी अस्ताउँदो सूर्यलाई अर्घ्य दिन बर्तालुले रातभरि जाग्राम बसी भोलिपल्ट बिहान उदाउँदो सूर्यलाई फेरि अर्घ्य दिएर व्रत समाप्त हुन्छ ।
पारिवारिक सुख, शान्ति, रोगबाट मुक्ति तथा विभिन्न मनोकांक्षा पूरा होस् भन्ने उद्देश्यले श्रद्धापूर्वक मनाइने छठ पर्वका अवसरमा भीड लाग्ने गर्दछ । सूर्यको आराधनाबाट सुख, समृद्धि र सन्तान प्राप्ति एवं चर्मरोग निको हुने जनविश्वास रहेको छ ।
ज्योतिषशास्त्रका आधारमा छठ पर्वका समयमा ब्रम्हाण्डमा सूर्य दक्षिणयनतिर हुने भएकाले कन्या राशि समय पर्ने र यस बेलालाई सूर्य प्रकाश प्रखर तथा प्रभावकारी र मानवका लागि फलकारी पनि मानिएको जानकारहरु बताउँछन् । छठ पर्वको मुख्य प्रसादका रूपमा रहेका ठेकुवा, भुसबा, केरा, फलफूल, मीठाइ, अदुवा, मटोबाट बनेको हाती, कुर्वार, दियो, घैटो, उखुलगायत बासबाट बनेका अन्य सामग्री रहने गर्छ ।