कानूनले प्रतिबन्ध गरेको जुवाका यस्ता छन् पौराणिक र ऐतिहासिक सन्दर्भ

जुवा,तास र पासा खेलेको आरोपमा प्रहरीले चाडबाडका बेला र अघिपछि पनि मानिसहरू पक्राउ परेको जानकारी दिने गरेको छ। नेपाल प्रहरीका अनुसार तुलनात्मक रूपमा दशैँ र तिहारको लामो बिदाका बेला अझ धेरै मानिस जुवा खेलेको आरोपमा पक्राउ पर्ने गरेका छन्।
यद्यपि चाडबाडको छेकोमा रमाइलोका लागि खेल्ने गरिएकोमा प्रहरीले गर्ने गरेका कारबाहीप्रति धेरैले असन्तुष्टि जनाउँदै आएका छन्। प्रहरीले कानुन आकर्षित हुने अवस्थामा बाहेक पक्राउ गरेको आरोप चाहिँ अस्वीकार गर्ने गरेको छ।


चाडबाडकै मौका छोपेर व्यावसायिक जुवाडेले ठूलो रकमको दाउ खेल्ने देखिएको र त्यसले विकृति र अपराध जन्माउने गरेको प्रहरी अधिकारीहरूको दाबी छ। जुवातासकै कारण कतिपय ठाउँमा बेलाबखत अपराध तथा घरेलु हिंसाका घटना हुने गरेका विवरण पनि आउने गरेका छन्।
नेपालमा सञ्चालित जुवाघरमा नेपालीले प्रवेश नपाउने भए पनि हिजोआज मानिसहरू अनलाइन जुवा खेल्न थालेको विवरण बेलाबेलामा सार्वजनिक हुने गरेको छ। जुवातास खेल्नु वा खेलाउनु गैरकानुनी भएकोले चाडबाडको बेलाबाहेक सामान्य अवस्थामा पनि प्रहरीले जुवाको खाल थाप्ने, जुवा खेल्ने र खेलाउनेलाई कानुनी दायरामा ल्याएर कारबाही गर्दै आएको प्रहरीका अधिकारीहरुको दाबी छ ।
धेरै ठाउँमा सामान्यतया लक्ष्मीपूजाको अघिल्लो दिनदेखि भाइटीकासम्म मानिसले बढी जुवातास खेल्ने गरेका देखिन्छ। नेपालमा बर्सेनि ठूलो सङ्ख्यामा तास आयात हुँदै आएको भन्सार विभागको तथ्याङ्क छ। खेल्न नदिने भएपछि आयात किन गर्ने दिएको हो भन्ने प्रश्न कतिपयले गर्ने गरेका छन्।
यस्तो छ पौराणिक सन्दर्भ
जुवातासको पौराणिक र ऐतिहासिक साइनो रहेको इतिहासविद् दिनेशराज पन्त बताउँछन्। महाभारतमा उल्लेख गरिएअनुसार कौरवहरूसँग जुवा खेल्ने क्रममा ज्येष्ठ पाण्डव युधिष्ठिरले द्रौपदीलाई हारेका थिए, उनी भन्छन्, प्राचीनकालदेखि द्यूतक्रीडा अर्थात् जुवा खेल्ने कुरा लक्ष्मीसँग जोडिएर आएको कुरा हो।
ूधार्मिक पक्षसँग पनि यो जोडिएको छ। पुरानो उखानअनुसार जनैपूर्णिमा बाहुनको चाड, दशैँ क्षेत्रीको चाड, तिहार वैश्यको चाड र फागु शूद्रको चाड भन्ने छ। अब सबै वर्णका मानिस र ती वर्णबाहेकका मानिसले पनि गर्ने भए। आमोदप्रमोदसँग जोडिएका कुरा हुन, उनी भन्छन् ।
पृथ्वीनारायण शाह र राणाकालको प्रसङ्ग
तन्त्र साधना गर्ने कान्तिपुरका राजा प्रताप मल्लले साक्षात् देवीसँग पासा खेल्ने गरेको प्रसङ्ग काठमाडौं उपत्यकामा प्रचलित एउटा किम्बदन्तीमा पाइन्छ। इतिहासकार पन्तका अनुसार शासकहरूले जुवातास खेले पनि त्यसमा निर्लिप्त हुन नहुने मान्यता थियो।
विसं १८२६ मा पृथ्वीनारायण शाहले वसन्तपुर दरबारमा जुवा खेल्ने, बढ्ता सुत्ने, बढ्ता स्त्रीभोगमा लाग्ने राजाहरू मूर्ख हुन् भनेर निन्दा गरेका छन्, ऐतिहासिक सन्दर्भ खोतल्दै उनी भन्छन्। विसं १८६२ मा रणबहादुर शाहले जुवा खेल्ने, भाङधतुरो खानेहरूलाई दण्ड गर्नू भनेका छन्। यो आमोदप्रमोदको एउटा विषय हो। कोजाग्रत पूर्णिमामा, लक्ष्मीपूजाको दिन खेल्ने शास्त्रीय कुरा भयो, उनी थप्छन् ।
पछि राणाकालमा प्रथम विश्वयुद्धमा नेपालले मित्रराष्ट्रहरूलाई सहयोग गर्यो, द्वितीय विश्वयुद्धमा मित्रराष्ट्रहरूलाई सहयोग गर्यो, राजा महाराजालाई बाहिरबाट तक्मा आयो, युवराजको जन्म भयो आदि कुरामा जुवा खेलेको भेटिन्छ। उनका अनुसार राणाकालमा तिहारको पाँच दिन जुवा खेल्न छुट दिइन्थ्यो। कुनैकुनै वर्ष दिँदैन थिए होला, कुनैकुनै वर्ष दिन्थे होला। यो प्रमाणिक कुरा नै हो।
विद्यमान कानुनमा के छ ?
नेपालमा जुवातास खेल्नु र खेलाउनु कानुनी रूपमा दण्डनीय काम हो। नयाँ अपराध संहिता लागु हुनुअघि सजायको व्यवस्था निकै कम भएको र त्यसले जुवातास नियन्त्रण नहुने धेरैको मत रहिआएको थियो।
जुवा ऐन, २०२० अनुसार जुवा खेल्दा वा खेलाउँदा पहिलो पटक पक्राउ परे २०० रुपैयाँ जरिवाना र दोस्रो पटकदेखि भने बढीमा नौ महिना कैदको व्यवस्था थियो। हिजोआज मानिसहरू अनलाइन जुवा पनि खेल्न थालेका छन्
तर २०७५ साल भदौदेखि लागु भएको मुलुकी अपराध संहितामा जुवा खेल्ने वा खेलाउनेलाई सजाय बढाइएको छ। पहिलो पटक जुवा खेल्ने वा खेलाउनेहरूलाई तीन महिनासम्म कैद वा ३० हजार रुपैयाँसम्म जरिवानाको व्यवस्था मुलुकी अपराध संहिता, २०७४ मा छ। दोस्रो पटकमा एक वर्षसम्म कैद र ५०,००० रुपैयाँसम्म जरिवाना तोकिएको छ।
दोस्रो पटक सजाय भुक्तान गरेर पक्राउ परेमा हरेक पटक थप तीन महिनासम्म कैद र १०,००० रुपैयाँसम्म जरिवाना गर्ने व्यवस्था छ। जुवा खेल्न प्रयोग भएका सामान र खालमा प्राप्त सबै चलअचल सम्पत्ति जफत गर्ने कानुनी व्यवस्था छ।