कुनकुन देशमा चलाउन पाइँदैन टिकटक ?
सरकारले टिकटकमाथि प्रतिबन्ध लगाउने निर्णय गरेपछि यसको पक्ष र विपक्षमा टिकाटिप्पणी भइरहेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले टिकटकमाथि प्रतिबन्धको निर्णय गरेको हो । तर, टिकटकमा प्रतिबन्ध लगाउने नेपाल पहिलो देश भने होइन यसअघि नै डेढ दर्जन देशले यो एपमा प्रतिबन्ध लगाइसकेका छन् ।
यी मध्ये अधिकांश मुलुकले सरकारी विद्युतीय उपकरणमा मात्रै टिकटक प्रयोगमा प्रतिबन्ध लगाएका हुन् । चिनियाँ प्रविधिमा बनेको यो एप अमेरिका, क्यानाडा, बेलायतजस्ता मुलुकमा सरकारी एवम् सरकारी जागिर खाने कर्मचारीको विद्युतीय उपकरणमा टिकटक प्रयोगमा प्रतिबन्ध छ भने अफगानिस्तान, भारत सोमालियाजस्ता मुलुकमा भने टिकटकमाथि पूर्ण बन्देज छ । टिकटक चलाउन नपाइने मुलुकहरु यस्ता छन् :
अफगानिस्तान
अफगानिस्तानमा शासन चलाइरहेको तालिबानले सन् २०२२ मा टिकटक र पब्जीमाथि प्रतिबन्ध लगाएको थियो । युवालाई ‘बहकिन’ बाट जोगाउन भन्दै तालिबानले प्रतिबन्ध लगाएको हो ।
अस्ट्रेलिया
गत अप्रिल महिनामा अस्ट्रेलियाका सरकारी विद्युतीय उपकरणमा टिकटक प्रयोगमा प्रतिबन्ध लगाइएको थियो । सुरक्षाको कारण देखाउँदै अस्ट्रेलियाको संघीय सरकारले जारी गरेका विद्युतीय उपकरणमा टिकटकको प्रयोगमा प्रतिबन्ध लगाएको हो ।
बेल्जियम
युरोपेली मुलुक बेल्जियममा पनि सरकारको स्वामित्वमा रहेका एवम् सरकारले खरिद गरेका विद्युतीय उपकरणमा टिकटकको प्रयोगमाथि प्रतिबन्ध लगाइएको छ । त्यहाँको सरकारले साइबर सुरक्षा, गोपनीयता र मिथ्या सूचनाको कारण देखाउँदै गत मार्च महिनामा यस्तो निर्णय गरेको हो ।
क्यानाडा
क्यानाडामा पनि सरकारले जारी गरेका विद्युतीय उपकरणमा टिकटक प्रयोग गर्न प्रतिबन्ध लगाइएको छ । गोपनीय र सुरक्षामा ‘अभूतपूर्व’ जोखिम रहेको भन्दै क्यानाडा सरकारले गत फेब्रुअरी महिनामा सरकारले जारी गरेका विद्युतीय उपकरणमा टिकटक प्रयोग गर्न प्रतिबन्ध लगाएको हो ।
डेनमार्क
डेनमार्कको रक्षा मन्त्रालयले आफ्ना कर्मचारीलाई आफ्नो फोनमा टिकटक प्रयोग गर्न प्रतिबन्ध लगाएको छ । मन्त्रालयले गत मार्च महिनामा कर्मचारीको विद्युतीय उपकरणमा इन्स्टल गरिएको भए तत्काल हटाउन निर्देशन दिएको थियो । ‘आफ्नो काममा यस एपको प्रयोग सीमित हुने भएकाले’ र ‘सुरक्षालाई मध्यनजर गर्दै’ यस्तो निर्णय गरिएको डेनिस मन्त्रालयको भनाइ छ ।
युरोपेली युनियन
युरोपेली युनियनका तीनवटै निकायहरु युरोपेली संसद्, युरोपेली आयोग र युरोपेली परिषद्ले कर्मचारीहरुका विद्युतीयउपकरणमा टिकटक प्रयोगमा प्रतिबन्ध लगाइएको छ । युरोपेली संसद्ले सांसदहरुलाई समेत टिकटक नचलाउन भनेको छ ।
फ्रान्स
फ्रान्सले आफ्ना सरकारी कर्मचारीलाई टिकटक, ट्विटर र इन्स्टाग्रामजस्ता सामाजिक सञ्जालको ‘सिर्जनात्मक’ प्रयोग गर्न प्रतिबन्ध लगाएको छ । अपर्याप्त ‘डेटा सुरक्षा’ को चिन्ताका कारण फ्रान्स सरकारले गत मार्च महिनामा यस्तो प्रतिबन्धको घोषणा गरेको हो ।
भारत
सन् २०२० मा सुरक्षालाई मध्यनजर गर्दै भारत सरकारले टिकटक र अन्य दर्जनौँ चिनियाँ एपमाथि प्रतिबन्ध लगाएको थियो । दुई मुलुकको सीमास्थित गलवान क्षेत्रमा चिनियाँ र भारतीय सैनिकबीच झडप भएसँगै भारतले चिनियाँ एपहरुमाथि प्रतिबन्ध लगाएको हो ।
लात्भिया
पूर्वी युरोपेली मुलुक लात्भियाको विदेशमन्त्री एजर्स रिन्केभिक्सले गतमार्च १ मा ट्विट गर्दै आफूले टिकटक एप डिलिट गरेको घोषणा गरेका थिए । उनले आइन्दा विदेश मन्त्रालयका कर्मचारीले समेत टिकटक प्रयोग गर्न नपाउने घोषणा गरेका थिए ।
नेदरल्याण्ड्स
नेदरल्याण्ड्सको सरकारले कर्मचारीहरुको विद्युतीय उपकरणमा टिकटकजस्ता एपको प्रयोगमा प्रतिबन्ध लगाएको छ । डच सरकारले टिकटकको नाम नै उल्लेख नगरेको भएपनि सरकारी कर्मचारीहरुलाई ‘नेदरल्याण्ड्स वा डच हितविरुद्ध साइबर कार्यक्रम रहेका मुलुकहरुका एपको प्रयोगमा निरुत्साहन गरिने’ जनाइएको छ ।
न्यूजिल्याण्ड
न्यूजिल्याण्डमा सांसद तथा संसदका कर्मचारीलाई टिकटक प्रयोग गर्न प्रतिबन्ध लगाइएको छ । साइबर सुरक्षा विज्ञहरुको सल्लाहअनुसार संसदमा आबद्ध व्यक्तिहरुलाई टिकटक प्रयोग गर्न बन्देज लगाइएको हो । यद्यपि लोकतान्त्रिक कर्तव्य पालनाका लागि टिकटकको प्रयोग गर्नैपर्ने अवस्था आएमा विशेष व्यवस्था भने गर्न सकिने प्रावधान तोकिएको छ ।
नर्वे
नर्वेको संसदले कर्मचारीहरुलाई टिकटक प्रयोग गर्न प्रतिबन्ध लगाएको छ । त्यहाँको न्याय मन्त्रालयले पनि सरकारी कर्मचारीहरुको फोनमा टिकटक इन्स्टल भएको भए तत्काल हटाउन चेतावनी दिएको छ । त्यसबाहेक राजधानी ओस्लो र दोस्रो ठूलो महानगर बेर्गनले पनि आफ्ना कर्मचारीहरुलाई टिकटक प्रयोग गर्न बन्देज लगाएको छ ।
पाकिस्तान
पाकिस्तानले अक्टोबर २०२० यता टिकटकमाथि चार पटक अस्थायी प्रतिबन्ध लगाइसकेका छन् । अनैतिक सामग्री प्रचार गर्ने गरेको भन्दै पाकिस्तानी अधिकारीहरुले टिकटकमाथि बेला बेला प्रतिबन्ध लगाउँदै आएका छन् ।
ताइवान
ताइवानले सन् २०२२ को डिसेम्बरयता जनस्तरमा नै टिकटकमाथि प्रतिबन्ध लगाएको छ । ताइवानमा सरकारी विद्युतीय उपकरणहरुमा चिनियाँ सफ्टवेयरमाथि बन्देज लाग्दै आएको छ ।
बेलायत
बेलायतमा गतमार्च महिनामा सरकारका मन्त्रीहरु एवम् सरकारी कर्मचारीहरुले प्रयोग गर्ने विद्युतीय उपकरणमा टिकटकको प्रयोगमा पूर्ण बन्देज लगाइएको छ । सुरक्षाका कारण देखाउँदै यस्तो प्रतिबन्ध लगाइएको हो । त्यसैगरी, त्यहाँको संसदले पनि स्टाफहरु र कर्मचारीहरुलाई टिकटक प्रयोग गर्न प्रतिबन्धलगाएको छ । स्कटल्याण्डको अर्धस्वायत्त सरकार र लण्डन सिटी हलले पनि आफ्ना कर्मचारीहरुको विद्युतीय उपकरणमा टिकटकको प्रयोगमा प्रतिबन्ध लगाएको छ । बेलायती प्रसारण संस्था बीबीसीले पनि आफ्ना कर्मचारीहलाई कर्पोरेट उपकरणबाट टिकटक हटाउन आग्रह गरेको छ ।
अमेरिका
अमेरिकी संघीय सरकारले सरकारी निकायका विद्युतीय उपकरण एवम् सञ्चार प्रणालीमा इन्स्टल भएका टिकटक हटाउने घोषणा गरेको छ । सरकारी उपकरणमा मात्रै टिकटकको प्रयोगमा प्रतिबन्ध लगाइएको भएपनि राजनीतिक दलका केही प्रतिनिधिहरुले यस एपलाई पूर्ण रुपमा प्रतिबन्ध लगाउनुपर्ने माग गर्दै आएका छन् ।
त्यसबाहेक अमेरिकाका ५० मध्ये आधाभन्दा धेरै राज्यहरुले आफ्नो मातहत एवम् कर्मचारीहरुको स्वामित्वमा रहेका विद्युतीय उपकरणमा टिकटक प्रयोग गर्न प्रतिबन्ध लगाएका छन् । त्यसैगरी अमेरिकी संसद र अमेरिकी सेनाको स्वामित्व एवम् कर्मचारीहरुको उपकरणमा पनि टिकटकको प्रयोगमा प्रतिबन्ध लगाइएको छ ।