देशमुख्य खबर

जाजरकोटमा ३०० भन्दा बढी परकम्प, नेपालमा किन गइरहन्छ बारम्बार भूकम्प ?

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार शुक्रवारको भूकम्पछि जाजरकोटमा ३०० वटाभन्दा बढी परकम्पहरू गइसकेका छन्। जाजरकोटको रामिडाँडा केन्द्रबिन्दु भएर सोमवार अपराह्न गएको परकम्पका कारण थप घरहरू भत्किएको र केही मानिसहरू घाइते भएको स्थानीय जनप्रतिनिधिले बताएका छन्।

Patanjali Nepal
SweetMart Nepal

सोमवार साढे चार बजेतिर बारेकोटको रामिडाँडा केन्द्रबिन्दु बनाएर गएको ५.८ म्याग्निट्युडको भूकम्पको धक्का वरपरका जिल्लाहरूसम्म महसुस भएको स्थानीयले बताएका छन्।  बारेकोट गाउँपालिकाका अध्यक्ष बीर बहादुर गिरीले सो क्षेत्रमा थप क्षती भएको जानकारी दिए।

अहिले पनि केही घरहरू भत्किए र केही मानिसहरू घाइते भएका छन्। एक जना बच्चा गम्भीर घाइते छन्। थप उपचारका लागि आधारभूत अस्पतालबाट कहाँ पठाउने भनेर म काम गर्दैछु, उनले भने। भूकम्पका कारण यसअघि नै घर बाहिर बसिरहेका मानिसहरू थप आतङ्कित भएको र  घरभित्र पस्न सक्ने अवस्था नभएको उनले बताए। शुक्रवार गएको भूकम्पका परकम्पहरू कम भएपछि मानिसहरूले आफ्नो घरका भग्नावशेषबाट सामानहरू निकाल्न सुरू गरेका थिए।

गत शुक्रवार राति उक्त स्थानमै केन्द्रबिन्दु भएको ६.४ म्याग्निट्युडको भूकम्प गएको थियो। शुक्रवारको भूकम्पमा परेर कुल १५३ जनाको ज्यान गएको अधिकारीहरूले बताएका छन्। तीमध्ये ८३ जना महिला र ७० जना पुरुष रहेका छन्। कुल ३३८ जना घाइते भएकामा २४३ जना उपचारपछि अस्पतालबाट डिस्चार्ज गरिएका छन् भने ९५ जना अझै उपचाररत छन्।

यसअघि सरकारले भूकम्पमा परी १५७ जनाको ज्यान गएको बताएको थियो। तर केही मृतकको सङ्ख्या दोहोरिन गएकोले सच्याउँदा १५३ देखिएको अधिकारीहरूले बताएका छन्। भूकम्पबाट भएको भौतिक क्षतिको वास्तविक विवरण आउन अझै केही समय लाग्ने प्राधिकरणका प्रवक्ता खड्काले बताए।

नेपाल प्रहरीले आइतवार साँझ उपलब्ध गराएको विवरण अनुसार करिब एक हजारवटा घर पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् भने करिब २,९०० घरमा आंशिक क्षति पुगेको छ।

किन गइरहन्छ भूकम्प ?

विसं २०७२ सालको भूकम्प गएपछि सङ्कलित तथ्याङ्क र अन्य प्रमाणका आधारमा भूकम्पको चिरा फुटेको मध्यरेखामा धेरै कम्पन भएको र चिरा फुटेको पूर्वी छेउमा कम्पन बढी केन्द्रित भएको निष्कर्षमा भूगर्भशास्त्री र अन्य वैज्ञानिकहरू पुगेका छन्।

तर पश्चिम नेपालमा सन् १५०५ पछि कुनै ठूलो भूकम्प नगएको र भूगर्भमा धेरै ऊर्जा सञ्चित भएर बसेकाले त्यहाँ र भारतमा पनि ठूलो भूकम्पको जोखिम रहेको बताइन्छ। भारतीय उपमहाद्वीपको भूगर्भमा रहेको चट्टानहरूको तह उत्तरतिर गइरहेको छ र युरेशिएन प्लेटमा जोतिइरहेको छ।

भूगर्भशास्त्रीहरूले यसलाई भारतीय उपमहाद्वीपलाई बिस्तारै युरेशिएन महाद्वीपले निलिरहेको पनि भन्ने गरेका छन्।
पूरै हिमालय भएको क्षेत्र ती दुई प्लेटहरू ठोक्किने स्थान हो। त्यसैले हिमालयछेउछाउ भूकम्पको सम्भावना सधैँ हुन्छ।

भारतीय चट्टान युरेशिएन चट्टानमा ठोकिने भएकाले यो क्षेत्र जोखिमयुक्त क्षेत्रमा परेको हो, रजौरेले भने। उनका भनाइमा ती चट्टानहरू त्यत्तिकै चल्न सक्दैनन्। अड्किएरै बस्दा समयक्रममा तनाव उत्पन्न हुन्छ र त्यसक्रममा उब्जिएको ऊर्जा भूकम्पका रूपमा निस्कन्छ।

नेपालको जमिनमुनि पनि प्राविधिक भाषामा भनिने फल्ट लाइन वा जमिनमुनिका चिरा रहेकाले भूकम्पको सम्भावना बढी भएको हो। फल्ट भनेको दुई वटा चट्टानहरू एकअर्कामा नजिक भएर सर्ने र त्यहाँ एकातर्फ एउटा ठोस भाग र अर्को ठोस भाग अर्कोतर्फ हुने अनि उनीहरू एक अर्कासँग नजिक भएर सर्ने प्रक्रिया भएको भूकम्पविद्हरूको भनाइ छ।

ती चट्टानहरू एकअर्काबीच निकै सुस्त गतिमा चल्ने गर्छन्। तर त्यसमा आउने अचानक हलचल वा फेरबदलले निकै ठूलो ऊर्जा उत्पन्न गराउँछ र ती चट्टानमा चिरा उत्पन्न भई भूकम्प आउँछ। यो तुलनात्मक रूपमा सतहको नजिक हुन्छ किनकि पृथ्वीको केन्द्र भाग लेदोयुक्त र तरल स्वरूपमा हुन्छ।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button