शुक्रवार मध्यराती ठूलो जनधनको क्षति गराउने गरी जाजरकोट जिल्लामा गएको विनाशकारी भूकम्प यता त्यसक्षेत्रमा साना र मझौला भूकम्पहरू आउने क्रम जारी रहेको अधिकारीहरूले बताएका छन्।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका भूगर्भविद् चिन्तन तिम्सिनाका अनुसार सो क्षेत्रमा शुक्रवार राति यता ४ म्याग्निट्यूड भन्दा माथिका ६ वटा परकम्प गएका छन्।
उनले भने, चार देखि ५ म्याग्निच्यूडका ६ वटा परकम्प गएको छ। सबै गरेर साना चाहिँ २५० भन्दा माथि पुगिसके। ती भनेका दुई देखि चार म्याग्निट्यूडसम्मका भूकम्पहरू हुन्।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले ती सबै परकम्पहरूको केन्द्रबिन्दु पनि जाजरकोटको रामिडाँडा आसपास नै रहेको बताए। उनले भने, अहिले पनि त्यो क्षेत्रमा परकम्पहरू गई नै रहेको छ।
यसैबीच उक्त भूकम्पबाट पीडितहरूको खोज तथा उद्धार कार्यको अन्तिम चरणका कामहरू आइतवार पनि जारी रहने अधिकारीहरूले जनाएका छन्।