अन्तराष्ट्रिय

उत्तरी गाजामा इजरेलको निरन्तर बम आक्रमण, सिरिया र लेबननमा पनि प्रहार

उत्तरी गाजास्थित अस्पतालमा सयौँ बिरामीहरू फसेका र उनीहरू शारीरिक रूपमा दक्षिणतिर जान सक्षम नभएको प्यालेस्टिनी शरणार्थीहरूको मामिला हेर्ने संयुक्त राष्ट्रसङ्घीय निकायका प्रमुखले बताएका छन्।

Patanjali Nepal
SweetMart Nepal

इजरेलले उत्तरी गाजामा निरन्तर बम आक्रमण गरिरहेको छ। प्यालेस्टिनी रेड क्रेसन्टका अनुसार गाजा सिटीस्थित कुद्स अस्पताल क्षेत्रवरिपरि शृङ्खलाबद्ध आक्रमण भइरहेको छ। इजरेली सेनाले आइतवार अस्पताल खाली गर्न निर्देशन दिएको थियो।

तर अस्पतालका कर्मचारीहरूले त्यहाँबाट सघन उपचार कक्षमा भएका बिरामीहरूलाई अन्यत्र लैजान सम्भव नभएको बताएका छन्। त्यहाँ शिशुहरूसहित सयौँ बिरामीको उपचार भइरहेको छ र अस्पताल परिसरमा झन्डै १४,००० गैरसैनिक नागरिकहरूले शरण लिइरहेको पनि बताइएको छ।

यूएनआरडब्ल्यूएका टम ह्वाइटका अनुसार चिकित्सक र अन्य सहायता संस्थाहरूले उत्तरी गाजास्थित अल(कुद्सजस्ता अस्पतालबाट बिरामीलाई अन्यत्र लैजान नसिकने बताएका छन्। उत्तरमा धेरै मानिसहरूले यूएनआरडब्ल्यूएका विद्यालयहरूमा आश्रय लिएका छन्, उनीहरूले अस्पतालमा आश्रय लिएका छन्, ह्वाइटले भने।

उनका अनुसार अस्पतालमा ठाउँ सार्न नसकिने अवस्थाका सयौँ बिरामीहरू छन्। उत्तरी गाजामा सवारीसाधन र अरू उपाय नभएकाले धेरै मानिसहरू अन्यत्र जान सक्ने अवस्थामा छैनन्। ह्वाइटका अनुसार मानिसहरू निकै भोकाएका, तिर्खाएका र डराएका छन्।

इजरेली सेनाले सिरिया र लेबननस्थित विभिन्न स्थानमा आक्रमण गरिएको बताएको छ। ती देशहरूबाट भएका रकेट हमलाको जबाफमा आफूले प्रत्याक्रमण गरेको इजरेलको दाबी छ। इजरेली डिफेन्स फोर्सेसका अनुसार एउटा इजरेली लडाकु विमानले सिरियाली सीमाभित्र रहेको रकेट प्रक्षेपकहरूलाई लक्ष्य बनाई हमला गरिएको हो।

आईडीएफका अनुसार सिरियाबाट प्रहार गरिएका रकेटहरू खुला क्षेत्रमा खसेका थिए र त्यसबाट कुनै क्षति वा कोही हताहत भएको छैन। इजरेली सेनाले लेबननमा रहेका हिज्बुल्लाह समूहले प्रयोग गरेका ठाउँहरूमा पनि हमला गरिएको जनाएको छ।

१४ जनाको मृत्यु

यता मध्य गाजापट्टीमा भएको इजरायली हमला परी कम्तीमा १४ जनाको मृत्यु भएको छ । सोमबार राति अल नुसेरात शरणार्थी शिविरमा रहेको एक आवासीय परिसरमा इजरायली हवाई आक्रमण परी कम्तीमा १४ जनाको मृत्यु भएको प्यालेस्टिनी समाचार एजेन्सी वाफाले जनाएको छ।

वाफाका अनुसार पीडितहरूलाई देइर अल बालाहको अल अक्सा अस्पतालमा ल्याइएको थियो, जहाँ उनीहरूलाई मृत घोषित गरिएको थियो। उनीहरु माकोसी र बकरी परिवारका थिए, जो गाजापट्टीको उत्तरबाट भागेर शिविरको अल दावा जिल्लाको हमदान परिवारको भवनमा शरण लिएर बसेका थिए।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button