दिल्लीमा वायु प्रदूषण बढ्यो, ‘सबैभन्दा खराब अवस्था’ आउनै बाँकी रहेको चेतावनी
भारतको राजधानी दिल्लीको वायु गुणस्तर कमजोर स्तरमा पुगेको र आगामी दिनमा यो अझै खराब हुन सक्ने अधिकारीहरूले बताएका छन्। वर्षभरि नै दिल्ली संसारका सबैभन्दा प्रदूषित सहरहरूमध्ये रहने गर्दछ।
तर कृषि बालीको अवशेष बाल्ने प्रवृत्ति, हावाको कम गति र चाडपर्वमा पड्काइने पटकालगायतका कारणबाट यहाँको हावा जाडोयाममा अझ विषालु बन्ने गर्दछ।
दूषित हावाले हरेक वर्ष दिल्लीवासीहरूमाझ गम्भीर स्वास्थ्य समस्या निम्त्याउने गर्दछ। सरकारी तथ्याङ्कअनुसार सोमवार त्यहाँको पीएम २.५ को स्तर ३०६ थियो।
पीएम २.५ भनेको फोक्सोलाई ढाकेर धेरै थरी रोग उत्पन्न गराउने धुलोका कणहरूको मात्रा हो। यसको मात्रा १०१ देखि २०० सम्म हुनुलाई मध्यम मानिन्छ भने २०१ देखि ३०० सम्म हुनुलाई कमजोर। त्यसभन्दा बढी मात्रामा पीएम २.५ हुनु भनेको वायुको गुणस्तर “अत्यन्त कमजोर” हुनु हो भने ५०० भन्दा माथिको मात्रालाई “चरम” मानिन्छ।
भारतको मौसम विभागका एक वैज्ञानिक भीके सोनीका अनुसार दिल्लीको वायुको गुणस्तर आगामी केही दिन अझै “अत्यन्त कमजोर” रहने अपेक्षा गरिएको छ। त्यहाँका बासिन्दाहरूले पनि विशेषतः बिहानीपख तुवाँलोबारे गुनासो गर्ने गरेका छन्।
“दिल्लीको प्रदूषणको स्तर विगत १०-१२ दिनदेखि बढिरहेको जस्तो मलाई लागेको छ। हामी हाम्रो आँखामा त्यो महसुस गर्न सक्छौँ,” एक साइक्लिस्टले एएनआई समाचार संस्थालाई बताए। केही स्थानीयहरूले अहिले दिल्लीको प्रदूषण चक्रको सुरुवाती दिन मात्र आएको र सबैभन्दा खराब अवस्था आउनै बाँकी रहेको बताएका छन्।