टीकाको साइत नेपालमा भन्दा अमेरिकामा किन अगाडि ?
यसपालि बडादशैँको टीकाको साइत नेपाल र अमेरिका अनि क्यानडामा अगाडिपछाडि परेको देखिएपछि त्यस विषयमा ज्योतिषीहरूबीच नै दुई मत देखिएको छ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले आफ्नो निर्णयको बचाउ गरेको छ भने केही सिद्धान्त ज्योतिषीले त्यसमाथि प्रश्न उठाएका छन्।
समितिले निर्धारण गरेअनुसार अमेरिका र क्यानडामा नेपालमा भन्दा एक दिन पहिला दशैँको टीकाको साइत परेको छ। समितिका अनुसार अमेरिका र क्यानडामा अक्टोबर २३ तारिखमा दशैँको टीकाको साइत छ भने नेपाल लगायतका मुलुकमा २४ तारिखमा निर्धारण गरिएको छ।
नेपालमा भन्दा अमेरिका र क्यानडामा एक दिन पहिला नै दशैँको टीकाको साइत निर्धारण गरिनुलाई खगोलविद् तथा सिद्धान्तज्योतिषका प्राध्यापक जयन्त आचार्य अस्वाभाविक मान्छन्। घटस्थापनाको अघिल्लो दिन औँसीमा अमेरिकामा भएको सूर्यग्रहण नेपालबाट देखिएन, उदाहरण प्रस्तुत गर्दै उनले भने।
यता नेपालमा औँसी श्राद्ध सकेपछि मात्र ग्रहण लाग्यो। औँसीको तिथिमा सूर्य ग्रहण हुने हो। अमेरिका तथा क्यानडातिरे तिथि पछाडि नै आउने कुरा सामान्य हिसाबले देखायो। नेपालमा टीका ग्रहण गरिसकेपछि त्यसको केहीपछि अमेरिका र क्यानडामा टीका लगाउनुपर्छ भनेर आफूले आफन्तहरूलाई भन्ने गरेको प्राध्यापक आचार्य बताउँछन्।
गणना नगरीकनै उहाँहरूले अनुमानको भरमा भने जस्तो लाग्यो। उहाँहरूले गरेको गणना नै बिग्रेको छ। उहाँहरूका अनुसार त्यहाँ पूर्णिमा पनि पहिल्यै हुने भयो, उनले थपे। समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेल चाहिँ आफूहरूले निर्धारण गरेको दशैँको टीकाको साइत शास्त्रीय हिसाबले गणित हेरेर मिलाइएको बताउँछन्। अमेरिकामा भन्दा नेपालमा तिथि ढिलो आउँछ भन्ने गलत बुझाइ मानिसहरूमा रहेकोले यो अवस्था देखिएको उनको तर्क छ।
सूर्य र चन्द्रमाले तिथि बनाउँछन्। सूर्य र चन्द्रमा पश्चिमबाट पूर्वतर्फ गइरहेका हुन्छन्, ढुङ्गेलले भने। हामी पृथ्वीमा रहेकाहरू पनि पश्चिमबाट पूर्व गइरहेका हुन्छौँ। तर तीनवटा चिजको गति फरक भयो। हामीले देख्दा सूर्य र चन्द्रमा पूर्वबाट पश्चिम गएको देख्छौँ। तर वास्तवमा पश्चिमबाट पूर्व आइरहेका हुन्छन्, उनले भने।
सूर्य र चन्द्रमाले नेपालको भन्दा अमेरिकाको त्यो तिथि नक्षत्रको भोग पहिल्यै गरिसकेका हुन्छन्, ज्योतिषी ढुङ्गेलाले भन्छन्। नेपालमा दशैँको टीकाको दशमी सुरु हुँदा त अमेरिकामा दशमी आधी बितिसकेको हुन्छ।
सूर्य र चन्द्रमाले तिथि बनाउने तथा सूर्य र चन्द्रमा पश्चिमबाट पूर्व आउने भएकाले नेपालको भन्दा अमेरिकामा तिथि पछि नजाने ढुङ्गेलको तर्क छ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले केही समययता अमेरिका, अस्ट्रेलियाका लागि नेपाली परम्पराको पात्रो बनाउँदै आएको अधिकारीहरू बताउँछन्।
विभिन्न देवीदेवता तथा पौराणिक पात्रहरूको जस्तै गुण होओस् भन्ने कामना गर्दै मान्यजनले दुर्गाको प्रसाद स्वरूप टीका, जमरा लगाइदिने र आशीर्वाद दिने चलन छ। तर त्यस्तो कार्य गर्दा साइत पनि उत्तीकै महत्वपूर्ण हुने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेल बताउँछन्।
विभिन्न ज्योतिष विज्ञहरुसँगको परामर्श र छलफलपछि साइत निर्धारण गरिन्छ । विजया दशमीको दिन आफैमा शुभ दिन मानिन्छ। उक्त दिनमा पनि सबैभन्दा उचित पल कुन हो भनेर खोज्नु नै साइत जुराउनु भएको विज्ञ बताउँछन्।
उपयुक्त साइत जुराउँदा नौ वटा ग्रहहरु कति बलवान् स्थानमा छन् भन्ने कुरा मापन गरिने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिको भनाइ छ। तर त्यसरी जुराइएको समयमा नै टीका लगाइनु पर्छ भन्ने नभएको वाल्मिकी विद्यापीठमा सिद्धान्त ज्योतिष अध्यापन गर्ने प्राध्यापक जयन्त आचार्य बताउँछन् ।
हरेक देशको स्थानीय पञ्चाङ्ग अनुसार एउटै प्रकृतीको मुहुर्त फरक फरक समयमा हुने गरेको हुन्छ। नेपालमा शुभमुहुर्त भएको बेला ब्रिटेन, अमेरिका दुबई, कतार या अन्य देशहरुमा अर्कै प्रकृतिको मुहुर्त चलिरहेको हुन्छ। त्यसैले नेपाल र नेपाल पूर्वका देशमा दशैँको साइत अक्टोबर २४ कार्तिक ७ मा निर्धारण भएपनि क्यानडा र अमेरिकामा भने त्यसको अघिल्लो दिन गरिएको हो। बीबीसीबाट