सरकारले निर्माण व्यवसायीको ७ अर्ब बक्यौता भुक्तानी गर्ने, दशैंपछि सुध्रिएला त बजार ?
सरकारले निर्माण व्यवसायीहरुको काम सम्पन्न भएको ७ अर्ब रुपैयाँ भुक्तानी दिने भएको छ । सरकारले ठेक्कापट्टाको सम्पन्न गरेबापतको रकम भुक्तानी नपाएका निर्माण व्यवसायीले भुक्तानी पाउने बाटो खोलेको हो ।
सरकारले यस्तो रकम भुक्तानी गरेसँगै अहिले सुस्ताएको निर्माण सामग्रीको बजारमा सुधार आउने अपेक्षा गरिएको छ । निर्माण व्यवसायीले भुक्तानी नपाएपछि निर्माणका काम नभएको र यसबाट निर्माण सामग्रीका उद्योगहरुको रकम अड्किएको बताइएको छ । भुक्तानी आएपछि बजार चलायमान हुने अपेक्षा गरिएको छ ।
अर्थ मन्त्रालयले कात्तिक १ गते विकासे मन्त्रालयहरूलाई भुक्तानी दिने नीतिगत निर्णय गरेसँगै निर्माण व्यवसायीले गत आर्थिक वर्ष आव २०७९ ८० सम्मको बिल पेश भइसकेको रकमको भुक्तानी पाउने भएका हुन् ।
मन्त्रीस्तरीय बैठकले भौतिक पूर्वाधार तथा यातायात, ऊर्जा जलस्रोत तथा सिँचाइ, खानेपानी र शहरी विकास मन्त्रालयले उक्त वर्षको भुक्तानी दिन सक्ने नीतिगत निर्णय गरेको हो । उल्लिखित मन्त्रालयका विभागहरूबाट आव २०७९ ८० सम्म सृजित भएको तरर उक्त वर्षमा भुक्तानी हुन नसकेको रकम भुक्तानी गर्न सक्ने उल्लेख गरेको छ ।
मन्त्रालयले बजेटरी सहायताअन्तर्गत तेस्रो त्रैमासिकसम्म विनियोजन रकम वैदेशिक स्रोत प्राप्त नभएमा सरकारको स्रोतबाट हिसाब मिलान गर्नेगरी तेस्रो त्रैमासिकसम्म स्रोत फुकुवा गर्ने उल्लेख गरेको छ ।
अर्थ मन्त्रालयले भुक्तानी खुला गरे पनि निर्माण व्यवसायीले रकम पाइहाल्ने अवस्था भने छैन । बुधवार निर्णय गरे पनि दशैं लागिसकेको हुँदा अहिले नै व्यवसायीले रकम पाइहाल्ने छैनन् ।
नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले जुनजुन निकायमा बजेट छ, त्यहाँबाट रकम भुक्तानी पाउने अवस्था हुने भए पनि शुक्रवार १ दिनमात्रै सम्बद्ध कार्यालय खुल्ने र दशैं बिदा हुने भएकाले यो निर्णयले तत्काल असर नदेखाउने बताए ।
उनका अनुसार यो रकम सबै मन्त्रालयले दिनुपर्ने भुक्तानी हो । सबैभन्दा धेरै रकम पौने ५ अर्ब रुपैयाँ भौतिक मन्त्रालयको छ । असार मसान्तमा बिल बुझाएको यो रकम ३ महीनापछि पाउन लागेको उनको भनाइ छ ।