नेपालले यूएईलाई सात विकेटले हरायो
असोसियट क्रिकेट टोलीमध्ये केही समययता नेपाल र यूएई बीचको प्रतिस्पर्धा निकै रोचक हुन थालेको छ। कीर्तिपुर क्रिकेट मैदानमा विश्वकप लीग २ को रोमाञ्चक खेल होस् वा एसीसी प्रिमियर कपको निर्णायक खेलमा यूएईलाई पन्छाउँदै नेपालले गरेको प्रगतियात्रा नेपाली क्रिकेटप्रेमीले बिर्सनै नसक्ने खालको छ।
यी दुई प्रतिद्वन्द्वीको फेरि काठमाडौंमा भेट हुँदा नेपालले यूएईलाई पराजित गरेको छ। यसपालिको भेट भने काठमाडौंको मूलपानी क्रिकेट मैदानमा भएको थियो। बीस ओभरको विश्वकप क्रिकेटमा पुग्ने लक्ष्यको प्रारम्भिक तयारीको रूपमा सुरु भएको त्रिकोणात्मक क्रिकेटको उद्घाटन खेलमा बुधवार नेपालले यूएईलाई सात विकेटले पराजित गरेको हो।
काठमाडौंमै सुरु हुने आईसीसी टी २० विश्वकप छनोटको तयारीको लागि नेपालले यो त्रिकोणात्मक शृङ्खला आयोजना गरेको हो। यो शृङ्खलामा नेपाल, यूएई र हङ्कङले डबल राउन्ड रोबिन लीगमा प्रतिस्पर्धा गर्ने छन्।
नेपालले टस जितेर पहिले फील्डिङ रोज्दै यूएईलाई १४०र७ मा रोकेको थियो। त्यसपछि १८।५ ओभरमा तीन विकेट गुमाउँदै जित हात पार्यो। पहिलो ओभरको अन्तिम बलमा सोमपाल कामीले विकेट लिँदै फील्डिङ गर्ने नेपालको निर्णयलाई सही प्रमाणित गरेका थिए।
पहिलो टी २० खेलिरहेका खालिद शाहलाई सोमपाल कामीले शून्य रनमा आउट गरेका थिए। नेपालका तीव्र गतिका बलरहरूले विपक्षी टोलीलाई कडा चुनौती दिए।
करण केसीले अलिसान सार्फुलाई चौथो ओभरमा आउट गरे। सातौँ ओभरमा बलिङ गर्न आएका गुलशन झा आफ्नो पहिलो बलमा नै कप्तान मोहम्मद वासिम १७ रन को विकेट लिन सफल भए। धरमराएको यूएईको इनिङ्स भने बासिद हमिद र अलि नासिरले उकासेका हुन्। यी दुईले पाँचौँ विकेटका लागि ५६ रनको साझेदारी गरे।
सो क्रममा बासिदले ५१ रन र अलि नासिरले ३२ रन बनाएका थिए। उनीहरूको योगदानका कारण टोलीको स्कोर १४० सम्म पुगेको थियो। यी तीन खेलाडीबाहेक अन्यले दोहोरो अङ्क जोड्न सकेनन्।
नेपालबाट करण केसीले ३, गुलशन झाले २ तथा सोमपाल कामी र अविनाश बोहोराले एक(एक विकेट लिए। नेपाली स्पिनरहरू भने विकेटविहीन बने।
विश्वकप छनोट खेल कात्तिक १३ गतेबाट काठमाडौंमा हुन लागेको छ। विश्वकप छनोटमा भने नेपालको समूहमा यूएई र हङ्कङ छैनन्। समूह ए मा नेपाल ओमान, मलेशिया र सिङ्गापुर छन् भने समूह बी मा यूएई, हङ्कङ, बहराइन र कुवेत रहेका छन्।
समूहका शीर्ष दुई टोली सेमिफाइनलमा पुग्ने छन् र फाइनलमा पुग्ने दुई टोली आईसीसी टी २०( विश्वकपमा छनोट हुने छ। विश्वकपकै तयारीका लागि नेपालले भारतको नागपुरमा १० दिनको हाई पर्फमन्स क्याम्पमा सहभागी भएर फर्किएको थियो।
लेग स्पिनर सन्दीप लामिछानेले प्रतियोगिता नखेल्ने भन्दै नाम फिर्ता लिएपछि युवा बलर श्याम ९मौसम० ढकालले नेपाली टोलीमा डेब्यू गर्ने मौका पाएका छन्। झन्डै एकवर्ष अगाडिदेखि राष्ट्रिय टोलीको प्रशिक्षणमा रहे पनि उनले मैदानमा ओर्लिने मौका पाएका थिएनन्।
टोलीमा समावेश सागर ढकाल, लोकेश बम, प्रतिश जीसी, सूर्य तामाङ र विवेक यादव पनि पहिलो पटक खेल्न पाउने प्रतीक्षामा छन्। यस्तै नेपाल र यूएईबीचको खेल मूलपानी मैदानमा पहिलो टी(२०आई प्रतिस्पर्धा भएको छ। यसअघि मूलपानीमा एसीसी प्रिमियर कपको रूपमा एकदिवसीय क्रिकेट प्रतियोगिता भएको थियो।