No Image Headlineदेश

विश्व भोकमरी सूचकाङ्क : भारत, पाकिस्तान र बाङ्गलादेशभन्दा नेपालको अवस्था राम्रो

विश्वव्यापी भोकमरीबारे जानकारी दिने एउटा अन्तर्राष्ट्रिय प्रतिवेदन अनुसार नेपालको अवस्था सुधारोन्मुख र दक्षिण एशियामा भारत, पाकिस्तान तथा बाङ्ग्लादेशभन्दा राम्रो देखिएको छ। गत साता सार्वजनिक भएको उक्त प्रतिवेदन अनुसार नेपाल अहिले मध्यम खालको भोकमरी रहेको देशको सूचीमा रहेको छ।

Patanjali Nepal
SweetMart Nepal

दक्षिण एशियाका श्रीलङ्का, नेपाल र बाङ्ग्लादेश मध्यम खालको भोकमरी भएका देशको सूचीमा छन्। भारत, पाकिस्तान र अफगानिस्तान चाहिँ गम्भीर खालको भोकमरी भएका देशका रूपमा रहेका छन्।

माल्दिभ्स र भूटानको तथ्याङ्क प्राप्त नभएको भन्दै प्रतिवेदनमा विवरण समेटिएको छैन। विश्वभरिको भोकमरीको अवस्था दर्शाउने भनिएको उक्त प्रतिवेदनलाई भारतले त्रुटिपूर्ण भन्दै त्यसले आफ्नो देशको अवस्था नझल्काउने बताएको छ।

गत वर्ष सन् २०२२ मा विश्व भोकमरी सूचकाङ्क जीएचआई मा नेपाल ८१औँ स्थानमा रहेकोमा यसपालि सन् २०२३ मा त्यसमा सुधार भएको देखिएको हो। यो वर्ष नेपाल गत वर्षभन्दा ११ स्थान माथि उक्लदैँ ६९औँ स्थानमा रहेको प्रतिवेदनमा जनाइएको छ।

प्रतिवेदनमा कुल १२५ देशको सूचकाङ्क निकालिएको छ। शून्यदेखि १०० अङ्कमा मापन गरिने यस्तो सूचकाङ्कमा जसको अङ्क सबैभन्दा कम हुन्छ त्यसैलाई कम भोकमरी भएको देशको रूपमा लिइन्छ भने जति बढी अङ्क भयो त्यति नै भोकमरी धेरै छ भन्ने बुझिन्छ।

नेपालको अङ्क १५ रहेको छ र त्यो मध्यम खालको भोकमरी भएको अवस्था रहेको प्रतिवेदनमा उल्लेख छ। आयरल्यान्डस्थित कन्सर्न वल्डवाइड र जर्मनीस्थित वेल्टहङ्गर हिल्फे नाम गरेका दुईवटा संस्थाले उक्त प्रतिवेदन तयार पारेर सार्वजनिक गरेका हुन्।

दक्षिण एशियाका अन्य देशहरूमा श्रीलङ्का नेपालभन्दा राम्रो अवस्थामा रहेको छ। श्रीलङ्का ६०औँ स्थानमा छ। त्यस्तै बाङ्ग्लादेश ८१औँ स्थानमा, पाकिस्तान १०२ स्थानमा, भारत १११औँ स्थानमा र अफगानिस्तान ११४औँ स्थानमा रहेका छन्।

विश्व भोकमरी सूचकाङ्क जीएचआई मापनका लागि विभिन्न सूचकहरूलाई आधार मानिएको प्रतिवेदन तयार पार्ने संस्थाहरूले जनाएका छन्। त्यसका लागि मुख्य चारवटा सूचकलाई आधार मान्ने गरिएको उक्त प्रतिवेदनमा उल्लेख छ।

त्यस्ता सूचकहरूमा अल्पपोषण, पाँच वर्षमुनिका बालबालिकामा हुने दीर्घकालीन कुपोषण, बालबालिकाको उमेर अनुसार उचाइ नपुगेको अवस्था र बाल मृत्युदर छन्। प्रतिवेदनमा जनाइए अनुसार अल्पपोषणको मापन गर्दा कुल जनसङ्ख्यामध्ये कतिले पर्याप्त क्यालोरी खाना प्राप्त गरेका छन् भनेर हेरिन्छ।

त्यस्तै उमेर अनुसार उचाइ नहुने पाँच वर्ष मुनिका बालबालिकाहरूको सङ्ख्या, उचाइअनुसार तौल नभएका बालबालिकाको सङ्ख्या र पाँच वर्षमुनि नै निधन हुने बालबालिकाको सङ्ख्याका आधारमा सूचकहरूको मापन गरिने प्रतिवेदनमा जनाइएको छ।

प्रतिवेदनमा भनिएको छ, चार सूचकमा आधारित भएर जीएचआईको अङ्कभार हेरी भोकमरीको अवस्था मापन गरिन्छ। त्यो शून्यदेखि १०० बिन्दुसम्मको हुन्छ र शून्य भनेको सम्भावित सबैभन्दा राम्रो अवस्था हो अर्थात् भोकमरी छैन भन्ने अवस्था हो भने १०० अङ्क भनेको सबैभन्दा खराब अवस्था हो।

भोकमरी सूचकाङ्कमा नेपालको सुधार सकारात्मक भए पनि अझै कैयौँ नेपाली भोकमरीको अवस्थामा रहेकाले सरकारले त्यसतर्फ ध्यान दिनुपर्ने विज्ञहरू सुझाव दिन्छन्।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button