वीरगञ्जका उद्योगलाई स्वअनुगमनको निर्देशन, के हो स्वअनुगमन ?
वीरगञ्ज महानगरपालिका क्षेत्रमा सञ्चालित उद्योगहरूलाई वातावरणीय प्रभावसम्बन्धी स्वअनुगमन प्रतिवदेन पेश गर्न भनिएको छ । महानगर क्षेत्रमा सञ्चालनमा रहेका विभिन्न उद्योग प्रतिष्ठानले नजिकको बस्तीमा ध्वनि, वायु तथा पानी प्रदूषण र ठोस फोहोरमैला गरेको गुनासो आएको भन्दै यस्तो प्रतिवेदन पेश गर्न महानगरले निर्देशन दिएको हो ।
महानगरका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेलले जारी गरेको सूचनामा वातावरण संरक्षण नियमावली २०७७ को नियम ४५ (१) र महानगरको वातावरणीय अध्ययन तथा प्रारम्भिक वातावरणीय परीक्षण कार्यविधि २०७८ अनुसार स्वअनुगमन प्रतिवदेन पेश गर्न भनिएको छ । नियम ४५ (१) मा उद्योग ‘प्रस्तावकले प्रस्तावको निर्माण तथा सञ्चालन गर्ने चरणमा सोबाट वातावरणमा परेको प्रभावको विषयमा प्रत्येक ६ महीनामा स्वअनुगमन गरी सोको प्रतिवेदन सम्बन्धित निकाय वा विभागमा पेश गनुपर्ने’ उल्लेख छ ।
वातावरण संरक्षण ऐन २०७६ को दफा ३१ (२)ले आफ्नो क्षेत्रभित्र वातावरण संरक्षण भए/नभएको अनुगमनको अधिकार पालिकालाई दिएको छ । नियम ४५ (३) मा स्थानीय तहले आफूले गरेको अनुगमन तथा निरीक्षणको प्रतिवेदन आर्थिक वर्ष समाप्त भएको २१ दिनभित्र प्रदेश मन्त्रालयमा पठाई सार्वजनिक गर्नुपर्ने व्यवस्था गरेको छ ।