No Image Headlineमुख्य खबर

इजरेलमा मारिएका नेपालीका परिवारलाई सरकारले १० लाख राहत दिने

इजरेल र प्यालेस्टिनी लडाकु समूह हमासबीचको पछिल्लो लडाइँका क्रममा मारिएका नेपालीका परिवारलाई प्रतिपरिवार १० लाख रुपैयाँ तत्काल राहत स्वरूप उपलब्ध गराउने सरकारले निर्णय गरेको छ।

Patanjali Nepal
SweetMart Nepal

त्यस्तै मृतकप्रति सम्मान जनाउन मङ्गलवार राष्ट्रिय शोक मनाउने निर्णय पनि गरेको सोमवार अपराह्ण बसेको मन्त्रिपरिषद्‌ बैठकपछि सरकारकी प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सञ्चारकर्मीहरूलाई बताइन्।

उनका अनुसार इजरेलमा रहेका र स्वदेश फर्कन चाहने नेपालीहरूका लागि आवश्यक प्रबन्ध मिलाएर नेपाल वायु सेवा निगम र हिमालयन एयरलाइन्सको जहाज चार्टर गरेर उनीहरूलाई ल्याउने प्रबन्ध मिलाउने निर्णय पनि बैठकले गरेको छ। इजरेलमा करीब ५ हजार नेपाली रहेको अनुमान गरिएको छ ।

हमासले आक्रमण गरेपछि चर्किएको तनावका तनावका क्रममा अहिलेसम्म १० जना नेपालीको निधन भएको र चार जना घाइते भएको पुष्टि भइसकेको छ। त्यस्तै एक नेपाली नागरिक अझै बेपत्ता रहेको नेपाली कूटनीतिक अधिकारीहरूले जानकारी दिएका छन्।

मृतक र घाइतेहरू लर्न एन्ड अर्न कार्यक्रम अन्तर्गत नेपालबाट इजरेल गएका थिए। गाजाबाट इजरेललाई लक्ष्य गरी रकेट प्रहार गर्ने क्रम रोकिएको छैन। जेरुसलेममा सोमवार पनि विस्फोटन भएको सुनियो।

इजरेलले गाजानजिकै अवस्थित आफ्ना बस्तीहरूमा पुनः नियन्त्रण गरेको दाबी गरेको छ। तर त्यहाँ लडाकुहरू पनि सक्रिय रहेको विवरण प्राप्त भएको छ। शनिवार बिहान हमासले आक्रमण गर्न थालेपछि इजरेलमा मृत्यु हुनेको सङ्ख्या ७०० नाघेको छ। तीमध्ये २६० जना एउटा साङ्गीतिक कार्यक्रम हेर्न गएका मानिस छन्। दुवैतर्फ गरी ११०० भन्दा बढी मानिसको मृत्यु भएको सञ्चारमाध्यमहरुले बताएका छन् ।

आफ्नो भूमिमाथि आक्रमण भएपछि इजरेलले गाजामा हवाई हमला गरेको छ। त्यस क्रममा ५०० जनाभन्दा बढीको मृत्यु भएको र एक लाख जनाभन्दा बढी विस्थापित भएको स्थानीय अधिकारीहरूले बताएका छन्।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button