एकदिवसीय विश्वकप : दक्षिण अफ्रिकाको विजयी सुरुवात
आईसीसी एकदिवसीय विश्वकपमा दक्षिण अफ्रिकाले विजयी सुरुवात गरेको छ । शनिबार भएको खेलमा श्रीलंकालाई १ सय २ रनले हराउँदै दक्षिण अफ्रिकाले विश्वकपमा सानदार सुरुवात गरेको हो ।
जितका लागि ४ सय २९ रनको विशाल लक्ष्य पछ्याएको श्रीलंकाले ४४.५ अलआउट हुँदै ३ सय २६ रन मात्र बनाउन सक्यो । श्रीलंकाका लागि चारिथ अशलांकाले ७९ रनको योगदान दिए भने कुशल मेन्डिसले ७६ रन बनाए । कप्तान दासुन शानाकाले पनि ६८ रन बनाए पनि टोलीलाई हारबाट जोगाउन सकेनन् ।
दक्षिण अफ्रिकाका लागि जेराल्ड कोटजीले ३ तथा केशव महाराज, कागिसो रबाडा र मार्को जानसेनले २–२ विकेट लिए । त्यसअघि टस हारेर पहिलो ब्याटिङ गरेको दक्षिण अफ्रिकाले निर्धारित ५० ओभरमा ५ विकेट गुमाएर ४ सय २८ रन बनाएको थियो । एकदिवसीय विश्वकपमा कुनै पनि टोलीले बनाएको यो सबैभन्दा ठुलो स्कोर हो । उसका तीन खेलाडीले शतक बनाएका थिए ।
दक्षिण अफ्रिकाका लागि ओपनर क्वीनटन डी कक, रासी भान डेर डुसेन र एइडन मारक्रमले शतक बनाए । यता मारक्रम ४९ बलमा शतक पुरा गर्दै विश्वकपमा सबैभन्दा चाँडो शतक बनाउने खेलाडी पनि बने । उनले ५४ बलमा १४ चौका र ३ छक्कासहित १ सय ६ रन बनाए ।
त्यस्तै, ओपनर डी ककले ८४ बलमा आफ्नो शतक पुरा गर्दै आउट भए । उनले १२ चौका र ३ छक्का हिर्काए । डुसेनले ११० बलमा १ सय ८ रन बनाए । उनले १३ चौका र २ छक्का हिर्काए । श्रीलङ्काका लगि दिल्सान मधुशंकाले २ विकेट लिए ।