हिन्दु पात्रोअनुसार असोज कृष्ण पक्षको अष्टमीदेखि नवमीसम्म मनाइने जितिया पर्व आज सकिँदैछ । बिहीबारदेखि सुरु भएको यो पर्व आज पूरा हुँदैछ ।
ज्योतिषशास्त्रअनुसार महिलाले सन्तानको दीर्घायु र समृद्धिका लागि जितिया व्रत बस्ने गर्दछ । यो व्रत बस्दा सन्तान प्राप्तिका साथै सन्तानलाई दुःख, पीडा र समस्याबाट जोगाउँछ भन्ने विश्वास गरिन्छ । जितियालाई जीवितपुत्रिका व्रत पनि भनिन्छ ।
महिलाहरुले व्रतको विधि पालना गर्दै बिहीबार नजिकैको पोखरी तथा तलाउमा नुहाएर घिरौलाको पातमा, तोरीको तेल, सिन्दूर, तोरीको पीना खैर, मेहन्दीको पात, फूलआदि चढाएर विधिपूर्वक नहाय खाय गरेका छन् ।
उपवासको पूर्वसन्ध्यामा मध्यरातमा खाने खाना दही च्युरासँग माछा र मरुवा अनिवार्य खाने चलन छ । शुक्रबार बिहान ४ बजेबाट निराहार बसी शनिबार बिहान १० बजेपछि नवमी तिथि प्रारम्भ भएसँगै उपवास तोडेपछि जितिया व्रत सम्पन्न हुने जनकपुरधामकी व्रतालुहरु बताउँछन् ।
थारू समुदायमा विशेष मानिने जितियाको उपवास बस्ने महिलाहरू सन्तान तथा सौभाग्य समृद्धिको निम्ति जिमुतवाहन देवतालाई समर्पण गरी फलफूलले डाली भर्ने कथा सुन्ने गरिन्छ ।
शनिबार बिहान पुनः केराको पातमा दही च्यूरा, फलफूल चढाएपछि घिरौलाको पातबाट शुरु भएको जितिया केराको पातमा गएर सम्पन्न गरिने चलन रहँदै आएको छ ।