विदेशबाट फर्किनेले अन्तर्राष्ट्रिय विमानस्थलबाट भन्सार नतिरी केके ल्याउन पाउँछन् ?

चालू आर्थिक वर्षको बजेटले व्यवस्था गरेअनुसार विदेशबाट नेपाल फर्कने यात्रुले महिलाको हकमा ५० ग्रामसम्मको सुनको गहना भन्सार नतिरी ल्याउन पाउँछ । यसैगरी, पुरुषको हकमा २५ ग्रामसम्मको सुनको गहनामा भन्सार तिर्नुपर्दैन । यसबाहेक थप २ सय ग्रामसम्म सुनको गहना भन्सार बिन्दुमा महसुल तिरेर साथमा ल्याउन पाउने व्यवस्था रहेको छ । गहनाको आकार मात्रै दिएर बनाइएका बेरुवा औंठी, बाला, सिकीजस्ता रसायन प्रयोग नगरिएका सुनलाई गहनाको मान्यता नहुने कानुनी व्यवस्था रहेको छ ।



यसैगरी, मोबाइलको हकमा भने विदेशबाट फर्कने नेपाली यात्रुले आफूले प्रयोग गरिरहेको मोबाइल साथमा ल्याउँदा भन्सार तिर्नुपर्दैन । श्रम स्वीकृति लिएर लगातार ६ महिनाभन्दा बढी विदेशमा काम गरी फर्केका यात्रुहरूले आफ्नो साथमा थप एक थान मोबाइल भन्सार नतिरी ल्याउन पाउने कानुनी व्यवस्था रहेको छ । थप एक थान मोबाइलका लागि भन्सार कार्यालयमा घोषणा गरी भन्सार प्रक्रिया भने पूरा गर्नुपर्छ ।



यसैगरी, श्रम स्वीकृति लिई लगातार १२ महिना काम गरी फर्कने सामाजिक सुरक्षा कोषमा सूचीकृत भएको नेपाली यात्रुले जुनसुकै आकार वा प्रकारको टेलिभिजन साथमा ल्याउँदा भन्सार तिर्नु नपर्ने व्यवस्था रहेको छ । तर श्रम स्वीकृति लिई लगातार १२ महिना काम गरी फर्केको भए पनि सामाजिक सुरक्षा कोषमा सूचीकृत नभएका नेपाली यात्रुले भने ३२ इन्चसम्मको टेलिभिजन मात्र भन्सार नतिरी साथमा ल्याउन पाउँछन् ।



त्रिभुवन विमानस्थल कार्यालयका अनुसार ५ हजार अमेरिकी डलर बढी विदेशी मुद्रा लिएर आउनेले विमानस्थलमा स्वघोषणा गर्नुपर्छ । रकम घोषणाको भने कुनै महसुल वा शुल्क बुझाउनु नपर्ने व्यवस्था रहेको छ ।
भन्सार विभागका अनुसार विदेशबाट काँचो सुनचाँदी लिएर नेपाल आउन पाइँदैन । चाँदी भन ५ सय ग्राम ल्याउन पाइने व्यवस्था रहेको छ । मदिरा पनि १ लिटर मात्रै ल्याउन पाइने व्यवस्था रहेको छ ।
विदेशमा प्रयोग गरेको आफ्नो ल्यापटप वा कम्प्युटर, ट्यावलेट, घडी, क्यामेरा, भिडियो क्यामेरा, सेलुलर, मोबाइल फोन र पेन ड्राइभ एक÷एक थान ल्याउँदा भन्सार छुट पाइने व्यवस्था रहेको छ । यस्तै, बच्चा राख्ने पेराम्बलेटर र ट्राइसाइकल एक÷एकवटा ल्याउँदा पनि कुनै भन्सार तिर्नुपर्दैन ।
विभिन्न पेसा गर्ने व्यक्ति स्वदेश फर्किंदा ल्याएका व्यावसायिक सामानमा पनि भन्सार नलाग्ने व्यवस्था छ । डाक्टरले ब्लड प्रेसर नाप्ने यन्त्र, स्टेथेस्कोप, खेलाडीले खेलकुदसम्बन्धी सामान फुटबल, भलिबल, संगीत क्षेत्रमा लागेकाहरूले बाजाहरू, गीतार, हार्मोनियम, तबलालगायतका सामान एक÷एक थान ल्याउन भन्सार रकम भुक्तानी गर्नुपर्दैन । सात किलोसम्म खाद्यसामग्री ल्याउँदा पनि भन्सार भुक्तानी गर्नुपर्दैन ।
औषधी उपचारका लागि विदेश गएका नागरिकले आफ्नै प्रयोजनका लागि ल्याउने औषधी र शारीरिक रूपमा अशक्तको सहाराका लागि ल्याइने सामग्रीमा पनि भन्सार छुटको व्यवस्था रहेको छ । सात किलोग्रामसम्मको खाद्यवस्तुमा पनि भन्सार शुल्क लाग्दैन ।
केही सामग्रीमा परिमाण बढी भए पनि एकैपटक ४० प्रतिशत समदर भन्सार तिर्नपर्ने व्यवस्था रहेकोे छ । म्युजिक तथा भिडियो प्लेयर, रेफ्रिजेरेटर, वासिङ मेसिन, पंखा र रेडियो एक÷एक थान ल्याउँदा ४० प्रतिशत भन्सार तिर्नुपर्छ । १० किलोग्रामसम्म खाद्य सामाग्री पनि ल्याउन पाइन्छ तर यसमा तोकिएको भन्सार भने तिर्नुपर्छ ।
१५ पिस लुगाफाटा, जुत्ता, कस्मेटिक्सलगायतका समान ल्याउँदा पनि तोकिएको ४० प्रतिशत भन्सार तिरेर विमानस्थलबाटै ल्याउन सकिन्छ । घरायसी प्रयोजनका लागि ल्याइने मिक्स्चर, जुसर, सिलाइ मेसिन, ग्यासटेबुल, इस्त्री, राइस कुकर दुई÷दुई थानसम्म ल्याएमा भन्सार तिर्नुपर्छ । चुरोट २ सय खिल्लीसम्म र सिगार ५० खिल्लीसम्म पनि समदरमा भन्सार लाग्ने व्यवस्था रहेको छ ।