No Image Headlineअर्थमुख्य खबर

चेक अनादारलाई बैंकिङ कसुरमा राखिँदै, कसुरदारलाई दुई वर्षसम्म कैद हुने

सरकारले बैङ्किङ कसुर तथा सजाय ऐन २०६४ को संशोधन गरी चेक अनादरलाई बैङ्किङ कसुर बनाउने प्रस्ताव गरेको छ। केही समयअघि मन्त्रिपरिषद्बाट पारित विधेयकमा चेक अनादरको विषयलाई बैङ्किङ कसुर मान्ने र त्यस्तोमा अधिकतम दुई वर्षसम्म कैद सजाय हुनसक्ने व्यवस्था प्रस्ताव गरिएको हो ।

Patanjali Nepal
SweetMart Nepal

मन्त्रिपरिषद्बाट स्वीकृत भएको बैङ्किङ कसुर तथा सजाय ऐन २०६४ लाई संशोधन गर्न बनेको विधेयकमा ‘कसैले पनि आफ्नो बैङ्क खातामा रकम मौज्दात नभएको वा मौज्दात भए पनि भुक्तानीको लागि पर्याप्त छैन भन्ने जानीजानी कसैलाई चेक जारी गरी दिन वा बैङ्कसँग त्यस्तो चेकको भुक्तानी माग गर्नुहुँदैन,’ भन्ने व्यवस्था छ ।

यसअघिको बैङ्किङ कसुर तथा सजाय ऐनमा आफ्नो खातामा मौज्दात रकम नभएको जानीजानी चेक काटिदिन नहुने व्यवस्था मात्रै थियो । सरकारले चेक अनादरलाई बैङ्किङ कसुर बनाउने प्रयोजनकै लागि बैङ्किङ कसुर तथा सजायसम्बन्धी ऐन संशोधन गर्न लागेको हो ।

यसअघिको ऐनमा यस सम्बन्धमा पर्याप्त व्यवस्था नभएको तथा सर्वोच्च अदालतले भिन्न भिन्न प्रकृतिमा फैसला गरेपछि चेक अनादरको विषयमा कानुनी एकरूपता थिएन । विधेयक पारित भएपछि त्यसमा स्पष्टता हुनेछ ।

साथै, बैङ्कले भुक्तानीको लागि आएको चेकमा आवश्यक रकम खातामा नभए चेक धारकलाई फिर्ता दिनुपर्ने र त्यसरी फिर्ता हुन आएको चेक धारकले अनादर भएको प्रमाणित गराउन चाहेमा बैङ्कले बढीमा तीस दिनको म्याद दिई आफ्नो खातामा आवश्यक रकम जम्मा गर्न सम्बन्धित खातावालालाई सूचना दिई त्यसको अभिलेख राख्नुपर्ने प्रस्ताव विधेयकमा छ।

चेक फिर्ता दिँदा बैङ्कले खातावालालाई दिएको सूचनाको अभिलेख राखिसकेपछि त्यसको ब्यहोरा चेकमा समेत जनाई त्यस्तो चेक धारकलाई फिर्ता गर्नुपर्ने गरी ऐन संशोधन प्रस्ताव गरिएको छ। ३० दिनको म्याद समाप्त भएपछि चेक धारकले फिर्ता गरिएको चेकमा उल्लेख गरिएको रकम भुक्तानी माग्दा खातामा आवश्यक रकम मौज्दात नभएर भुक्तानी दिन नसकिने भएमा बैङ्कले तीन दिनभित्र सम्बन्धित खातावालाले चेक अनादर गरेको ब्यहोरा प्रमाणित गरी त्यस्तो चेक धारकलाई फिर्ता गरिदिनु पर्ने गरी ऐन संशोधन प्रस्ताव गरिएको हो ।

चेक अनादर गरेको ब्यहोरा प्रमाणित गर्ने कार्यविधि भने अर्थ मन्त्रालयको परामर्शमा नेपाल राष्ट्र बैङ्कले निर्धारण गरेअनुसार हुने प्रस्ताव गरिएको हो । संशोधन विधेयकमा प्रस्ताव भएको चेक अनादर प्रमाणित भएमा चेक जारी गरी दिने खातावालाबाट धारकलाई बिगो बमोजिमको रकम भराई चेक जारी गरी दिने खातावालालाई बिगोको पाँच प्रतिशत जरिवाना साथै जेल सजायको समेत प्रस्ताव गरिएको छ ।

चेक अनादरमा पाँच लाख रुपैयाँसम्म बिगो भए एक महिनासम्म कैद, पाँच लाख रुपैयाँभन्दा बढी दश लाख रुपैयाँसम्म बिगो भए तीन महिनासम्म कैद, दश लाख रुपैयाँभन्दा बढी पचास लाख रुपैयाँसम्म बिगो भए ६ महिनासम्म कैद र पचास लाख रुपैयाँभन्दा बढी जतिसुकै बिगो भए पनि दुई वर्षसम्म कैद सजाय प्रस्ताव भएको हो ।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button