No Image Headlineअर्थ

बैंकमा बढ्दै निक्षेप : निक्षेप ५८ खर्ब, कर्जा ४९ खर्ब

रेमिट्यान्स विप्रेषण आप्रवाहमा भएको निरन्तर वृद्धि र सरकारले स्थानीय तहको सञ्चित रकमबाट निक्षेप गणना गर्न पाउने सुविधा दिएसँगै बैंकहरूको निक्षेप उच्च बिन्दुमा पुगेको छ। यतिखेर बैंक, वित्तीय संस्थामा कुल निक्षेप ५८ खर्ब रुपैयाँ नाघेको छ ।

Patanjali Nepal
SweetMart Nepal

नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको तथ्यांकअनुसार गत आइतवारसम्म बैंक, वित्तीय संस्थामा कुल निक्षेप ५८ खर्ब ६ अर्ब रुपैयाँ छ । गत असार मसान्तसम्ममा बैंक, वित्तीय संस्थामा कुल निक्षेप ५७ खर्ब ६७ अर्ब रुपैयाँ थियो ।

सरकारले स्थानीय तहको सञ्चित कोषको रकममध्ये ८० प्रतिशत निक्षेपमा गणना गर्ने सुविधा कटौती गर्दै ५० प्रतिशतमा झारेपछि चालू आवको २ दिनमा १ खर्ब ९ अर्ब रुपैयाँले निक्षेप घटेको थियो । तर, बैंकरसँगको छलफलपछि भदौ दोस्रो साता अर्थमन्त्री डा प्रकाशशरण महतले पुन स्थानीय तहको सञ्चित कोषको रकममध्ये ६० प्रतिशत बैंकहरूले निक्षेपमा गणना गर्न पाउने सुविधा दिए । यसैगरी विप्रेषण आप्रवाह उच्च भएपछि बैंकमा निक्षेप बढिरहेको छ ।

निक्षेप बढे पनि बैंकहरूको कर्जा प्रवाह भने सुस्त छ । अर्थमन्त्रीले आर्थिक गतिविधि चलायमान बनाउन ऋण प्रवाह बढाउने उद्देश्यले निक्षेप गणनाको सुविधा दिएका थिए । वित्तीय संस्थाले कुल ४९ खर्ब ३२ अर्ब रुपैयाँ लगानी गरेका छन् ।

गत आवको अन्तिममा ४८ खर्ब ७९ अर्ब रहेको कुल कर्जा लगानी साढे २ महीनामा ५३ अर्ब रुपैयाँले मात्र वृद्धि भएको छ । निक्षेप वृद्धिको तुलनामा कर्जाको माग बढ्न नसक्दा बैंकहरूले सरकारी ऋणपत्रमा लगानी गर्न प्रतिस्पर्धा गरिरहेका छन् ।

निक्षेप वृद्धिसँगै बैंकहरूको कर्जा–निक्षेप अनुपात सीडी रेसियो पनि घटेको छ । शनिवार ८२ दशमलव २१ प्रतिशत रहेको सीडी रेसियो आइतवार ८२ दशमलव शून्य ५ प्रतिशतमा झरेको छ । यसैगरी तरलता उच्च हुँदा अन्तरबैंक कारोबारको औसत ब्याजदर पनि २ दशमलव ५२ प्रतिशतमा झरेको छ ।

बैंकहरूले ९० प्रतिशतसम्म सीडी रेसियो कायम गरी लगानी गर्न पाउने व्यवस्था छ । यो प्रावधानअनुसार बैंकहरूसँग यतिबेला ४ खर्ब ६१ अर्ब रुपैयाँ थप कर्जा प्रवाह गर्ने क्षमता रहेको राष्ट्र बैंकले जानकारी दिएको छ ।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button