मनसुन अझै एक साता सक्रिय रहने, बाहिरिन किन भयो ढिलाई ?

जल तथा मौसम विज्ञान विभागले नेपालबाट मनसुन बाहिरिने दिन लम्बिएको बताएको छ । मनसुन लम्बिएकाले किसानलाई तत्काल धान नकाट्न र काटेको भए भित्र्याइहाल्न आग्रह गरेको छ । आज देशभर जसो नै बादल लाग्ने र धुम्म हुन्छ । घाम लाग्ने सम्भावना कम छ ।
सामान्यतः अक्टोबर २ देखि मनसुन बाहिरिने गरेको भए पनि अझै मनसुन सक्रिय देखिएको छ । वरिष्ठ मौसमविद् वरुण पौडेल विभिन्न विष्लेषणका आधारमा यसपाली मनसुन केही दिन लम्बिएको बताए । उनले अझै मनसुन बाहिरिन झण्डै हप्ता दिन लाग्नसक्ने अनुमान रहेको बताए ।


यो बेलामा हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानमा अवस्थित छ । साथै नेपालमा हाल भारतको विहार र पश्चिम बङ्गाल आसपासको क्षेत्रमा रहेको न्यून चापीय क्षेत्रसमेतको प्रभाव रहेको छ ।
अबको केही दिन मौसम बदली हुने र ठाउँठाउँमा वर्षासमेत हुने भएकाले यो बेलामा किसानले विशेष ख्याल गर्नुपर्ने उनले बताए । अहिले धानबाली भित्र्याउने बेला हो, काटेको धान छ भने भित्राइहालौं र काट्ने बेलाको धान छ भने नकाटौं । दुई÷तीन दिन रहने यो प्रणालीले धान बिगार्छ, खुलेपछि मात्रै काटौं, उनले भने ।
उनका अनुसार नेपालमा पश्चिमबाट मनसुन बाहिरिन्छ भने पूर्वबाट भित्रिन्छ । अहिले नेपालको कोशी, मधेश र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावनासमेत छ । भारतको उडिसा, छत्तिसगढ, विहारलगायत क्षेत्रमा पनि मौसम बदली छ ।
जल तथा मौसम विज्ञान विभागले दुई वर्षअघि मनसुन भित्रिने समय जुन १३ र बाहिरिने समय अक्टोबर २ लाई अनुमान गरेको थियो । त्यसअघि भित्रिने समय जुन १० र बाहिरिने समय सेप्टेम्बर २३ थियो । हरेक १० वर्षको विष्लेषण गरेर यसरी मिति अनुमान गर्ने गरिन्छ ।
पछिल्लो समयमा तोकेको मितिभन्दा ढिला गरी मनसुन बाहिरिरहेको छ । मनसुन भित्रिन पनि ढिला गरिरहेको छ । यही साल पनि मनसुन एक दिन ढिला गरी भित्रिएको थियो भने बाहिरिन पनि समय लाग्ने देखिएको छ ।
यो वर्ष नेपालमा जुन १४ अर्थात् जेठ ३१ मा मनसुन भित्रिएको थियो । तर, त्यसको नौ दिनपछि मात्रै असार ८ गते मनसुन देशैभर फैलिएको थियो । शुरुमा कोसी प्रदेश, मधेश र गण्डकी प्रदेशको पूर्वी भुभाग र बागमती प्रदेशका अधिकांश भू–भागमा मनसुन आगमन भएको थियो । यसपाली मनसुनको शुरुआती समयमै पूर्वी नेपालमा भारी भारी वर्षापछिको बाढी र पहिरोले वितण्डा मच्चाउँदा ठूलो धनजनको क्षति भएको छ ।
यसपाली १२ लाखभन्दा बढी मानिस प्रभावित हुने अनुमान थियो । मनसुनका समयमा औसतभन्दा कम पानी पर्ने आकलनसमेत गरिएको थियो । औसतभन्दा कम पानी पर्ने अनुमानका बीच केही स्थान केन्द्रित भएर मनसुनी वर्षा हुँदा भने पूर्वी र पश्चिम नेपालललगायत केही स्थानमा भने ठूलो जनधनको क्षति गराएको छ ।