तस्करीको मलले स्वदेशका प्रांगारिक मल उत्पादकलाई सकस
भारतबाट अवैध रूपमा भित्रिएको प्रांगारिक मलका कारण स्वदेशमा प्रांगारिक मल उत्पादक समस्यामा परेको पाइएको छ । वीरगञ्जमा यसे मल उत्पादन गर्दै आएका उद्यमी तारा प्रसादले यस्तो गुनासो गरेका हुन् ।
भारतबाट भित्रिएको गुणस्तरहीन मलका कारण स्वदेशी उद्योगको उत्पादन बिक्री हुन समस्या भएको उनले बताए । अनधिकृत रूपमा भित्रिने यस्तो मल गुणस्तरहीन भएको ताराको दाबी छ । अवैध रूपमा आयात भएको कमसल मलबाट किसान ठगिएको पनि उनले बताए ।
अवैध रूपमा भित्रिएको यस्तो मलबाट एकातिर किसान ठगिएका छन्, अर्कातिर स्वदेशी उद्यमी मारमा परेका छन्,’ उनले सञ्चारकर्मीहरुसँग भनेका छन् । स्थानीय तहहरुसँग पनि उद्यमीको गुनासो छ ।
स्थानीय सरकारहरूले कृषिका कार्यक्रम ल्याउने गरे पनि प्रांगारिक मल प्रयोगबारे प्रभावकारी नीति नलिएको गुनासो पनि क्याप्टेन फार्मका सञ्चालक ताराले गरे । रासायनिक मलको प्रयोगबाट माटोको प्राकृतिक गुण नै ह्रास भइरहेको छ । जनस्वास्थ्यमा गम्भीर असर परिरहेको छ । तर, यसमा कुनै पनि तहका सरकार त्यति गम्भीर देखिएका छैनन्,’ उद्यमी ताराले भने ।
तारा प्रसादले उद्योगीले पुस्तैनी उद्यम छोडेर प्रांगारिक मल कारखाना खोलेका हुन् । चामल उत्पादनको कामबाट मल उत्पादनतर्फ मोडिएका उद्यमी हुन्– तारा प्रसाद ।
वीरगञ्जमा खुलेको उनको क्याप्टेन फार्मले प्रांगारिक मल उत्पादन गर्दै आएको छ । शुरूमा गाई तथा भैंसीपालनमार्फत दूध उत्पादन गरेका ताराले रासायनिक मलले पारिरहेको असर हटाउने उद्देश्यले पछिल्लो समय मल कारखाना खोलेको बताए ।
उनले २५ करोड रुपैयाँ लगानीमा खोलेको मल कारखाना ३ बिघा क्षेत्रफलमा फैलिएको छ । क्याप्टेन फार्मले उत्पादन गरेको मल रूख ब्राण्डमा बजारमा पुर्याइएको उनले बताएका छन् । खेतीमा रासायनिक मल र विषादीको बढ्दो प्रयोगले माटोको उर्वराशक्ति र मानिसको स्वास्थ्य समेत बिगारिरहेको छ । यस्तो असर कम गर्न सकियोस् भनेर प्रांगारिक मल उत्पादनमा लागेको हुँ, उनले भने ।
गाईभैंसीको गोबर संकलन गरी स्थानीय झारपात मिसाएर बनाइएको प्रांगारिक मलबाट रासायनिक मल प्रयोगको तुलनामा ४० प्रतिशतभन्दा बढी उत्पादन हुने दाबी उनले गरे । क्याप्टेन फार्मले वार्षिक ६ करोड रुपैयाँ बराबरको यस्तो मल विक्री गर्दै आएको छ । यहाँ उत्पादित मल काठमाडौं, पोखरा, हेटौंडा, नारायणगढलगायत स्थानमा विक्री भइरहेको छ ।