आयातमा प्रतिबन्ध हटाउँदा पनि सुध्रिएन व्यापार, मुख्य नाकामै लक्ष्यभन्दा कम राजस्व
देशको मुख्य व्यापारिक नाकाको वीरगञ्ज भन्सार कार्यालयले चालू आर्थिक वर्ष २०८०/८१ को साउन र भदौमा लक्ष्यअनुसार राजस्व उठाउन सकेन ।
२ महीनामा भन्सारले लक्ष्यको तुलनामा ७० प्रतिशतमात्र राजस्व उठाएको छ । भन्सारले गत आवको पहिलो २ महीनामा लक्ष्यको ७९ प्रतिशत राजस्व उठाएको थियो ।
अघिल्लो आवमा सरकारले व्यापार नियन्त्रणको नीति लिएको थियो । चालू आवमा सबै खालका नियन्त्रण हटाए पनि बजारमा माग नबढेकाले वैदेशिक व्यापार खुम्चिएको र त्यसको प्रत्यक्ष प्रभाव भन्सारको राजस्व असुलीमा देखिएको भन्सारका सूचना अधिकारी रामचन्द्र ढकालले बताए ।
भन्सार कार्यालयले आफ्नो वेबसाइटमा राखेको तथ्यांकअनुसार बितेको २ महीनाका लागि यो भन्सारलाई ३५ अर्ब रुपैयाँ उठाउने लक्ष्य दिइएको थियो । असुली २४ अर्ब ५८ करोड रुपैयाँमै सीमित भएको छ ।
यी २ महीनामा ९ अर्ब ३५ करोड भन्सार महशुल, १० अर्ब ४० करोड रुपैयाँ मूल्य अभिवृद्धिकर र १ अर्ब ९० करोड अन्त:शुल्क उठेको उल्लेख छ ।