No Image Headlineअर्थविशेष

उद्यमीका पीडा : स्वदेशमा माग छैन, बाहिर प्रतिस्पर्धा गर्न सकिन्न

Thrill Factory
Rungta Group

नेपालमा उद्योग व्यवसाय सञ्चालन गर्न कठिन हुँदै गएको छ । अहिले वीरगञ्जलगायत देशका विभिन्न स्थानमा रहेका उद्योग नाफाका लागि नभई घाटा कम गर्न सञ्चालन गर्नुपरिरहेको व्यवसायीले नै गुनासो गरेका छन् ।

घाटा कम गर्नकै लागि मात्र उद्योग सञ्चालन हुने हो भने उनीहरू कहिलेसम्म टिक्न सक्लान् भन्ने प्रश्न अहम् छ । औद्योगिक वातावरणको आवश्यकतामा केन्द्रित रहँदै जति छलफल हुँदै गए पनि व्यवहारमा यो कठिन कामजस्तो भएको छ । उद्योग व्यापारको वातावरण बनाउन सरकार चुकिरहेको छ ।

स्वदेशी बजारमा माग छैन, निकासी गर्न सकिएको छैन । मूल्य र गुणस्तर दुवैमा प्रतिस्पर्धा गर्न सकिएको छैन । यसका लागि सरकारले नवीन प्रविधि । लागत घटाउने काममा नीतिगत प्रोत्साहन गर्नु पर्दछ । घोषणा गरिएको अनुदान पनि समयमा नपाउँदा उद्यमीहरू निराश छन् ।

निर्यात वृद्धि गर्दै गरेका स्यानिटरी प्याड उद्योग पनि बन्द हुन थालेका छन् । अघिल्लो वर्षको तुलनामा ५८२ प्रतिशतले निर्यात वृद्धि गरेका स्यानिटरी उद्योग किन धमाधम बन्द हुन थाले भन्ने कुरा गम्भीर हो ।

नेपालमा प्याड उद्योगको सम्भावना देखेर लगानी गरेका उद्योगीहरू अहिले सरकारका कारण समस्यामा परेका हुन् वा अन्य कारणले यसको खोजी गर्नुपर्ने देखिएको छ । सरकार अभिभावक बनेर उद्योगीहरूको समस्या समाधान गरिदिनुपर्नेमा उल्टै समस्या थप्न लागेपछि उद्योगहरू बन्दको अवस्थामा पुगेका उद्योगी, व्यवसायीको गुनासो छ ।

नेपालमा साना तथा ठूला उद्योगहरू खुल्ने र बन्द हुने क्रम चलिरहेकै छ । कुनै पनि उद्योग शुरूमा असफल हुन सक्छ । व्यवसाय कसरी गर्ने, ब्रान्डिङ कसरी बनाउने, बजारीकरण कसरी गर्ने, हिसाबकिताब कसरी राख्नेजस्ता सामान्य कुरा नजानेर पनि खुलेका सानातिना उद्योगहरू बन्द हुने गरेका छन् ।

सरकारले उद्योगको कच्चा पदार्थ, सहायक पदार्थमा लाग्ने कर थोरै र तयारी मालवस्तुमा लाग्ने कर बढी गर्नुपर्नेमा त्यसो नगर्दा प्याड उद्योगहरू समस्यामा परेका हुन् । विदेशबाट आयातित अन्तरराष्ट्रिय ब्रान्डसँग मूल्य र गुणस्तरमा प्रतिस्पर्धा गर्नुपर्ने चुनौती आफ्नो ठाउँमा छँदै छ ।

महिलाहरूले प्रयोग गर्ने प्याडमा कर लिएको भन्दै रातो कर खारेज गर्न आन्दोलन नै भयो । त्यही मागलाई सम्बोधन गर्न सरकारले बजेटमार्फत स्यानिटरी प्याड आयातमा ९० प्रतिशत भन्सार महशुल छूटको नीति लियो । यसले गर्दा विदेशबाट आयात हुने प्याडमा नाममात्रको कर लाग्न थाल्यो ।

महिलाहरूको माग आफ्नो ठाउँमा उचित नै हो तर त्यो मागलाई सम्बोधन गर्दा नेपाली उद्योग मर्नुपर्ने अवस्था आयो । एउटाको माग सम्बोधन गर्दा अर्कोलाई समस्या पर्न सक्छ भनेर नसोच्नु नै सरकारको कमजोरी हो । प्याड आयात गर्दा १ दशमलव ५ प्रतिशत कर लाग्ने तर कच्चा पदार्थ आयात गर्दा त्योभन्दा निकै बढी कर लाग्ने भएपछि उद्योगहरू समस्यामा परेका हुन् ।

नेपाली उद्योगको कुल उत्पादन क्षमता ९० करोड भए पनि सरकारी नीतिका कारण उद्योगहरू पूर्ण क्षमतामा सञ्चालन हुन सकेका छैनन् । तीन दर्जनभन्दा बढी उद्योग सञ्चालनमा रहे पनि अहिले १ दर्जन जति उद्योग बन्द हुन पुगेको उद्योगीहरूको भनाइ छ ।

सानो परिमाणको भए पनि प्याड निर्यात हुनु राम्रो हो । विदेशबाट कच्चा पदार्थ ल्याएर उत्पादन गरी विदेश निर्यात गर्दा मूल्य अभिवृद्धि हुनुका साथै धेरैलाई रोजगारीसमेत दिएको छ । प्याड उद्योगमात्र होइन, अन्य उद्योगहरूले पनि यो समस्या उठाइरहेका छन् । त्यसैले सरकारले तयारी वस्तु र कच्चा पदार्थमा लाग्ने करमा पर्याप्त अन्तर गर्नु जरुरी छ ।

मूल्य र गुणस्तरमा प्रतिस्पर्धा हुने तर करकै कारण विदेशी सामानले सहुलियत पाउने अवस्था आउन दिनुचाहिँ हुँदैन । स्यानिडरी प्याड, कपडा, कागज, प्याकेजिङ आदि विभिन्न उद्योगमा यस्तो समस्या देखिएकाले तिनको बुद्धिमत्तापूर्ण समाधान खोजिनु जरुरी छ ।

स्वदेशी उत्पादनलाई प्रोत्साहन र संरक्षण गर्नु सरकारको जिम्मेवारी हो । त्यसैअनुसार उसले नीति बनाउनुपर्छ । तर, स्वदेशी उद्योगको संरक्षणका नाममा आयातमा अत्यधिक कर लगाएर प्रतिस्पर्धारहित बनाउनु पनि हुँदैन ।

Related Articles

Back to top button