अर्थ

एनवाईईएफको व्यावसायिक सम्भाव्यता अभियान, पतञ्जली आयुर्वेद र मारुती पेपरमा औद्योगिक भ्रमण

Thrill Factory
Rungta Group

युवा उद्यमीहरुबीच व्यावसायिक र व्यक्तिगत सम्बन्ध विस्तारका लागि नेपाली युवा उद्यमी मञ्च (एनवाईईएफ) वीरगञ्ज र जनकपुर च्याप्टरले संयुक्त रुपमा औद्योगिक भ्रमण आयोजना गरेका छन् ।

यी २ ओटा च्याप्टरका युवा ४० जना उद्यमीले वीरगञ्जका पतञ्जली आयुर्वेद प्रालि र मारुती पेपरको भ्रमण गरेका हुन् । एनवाईईएफ वीरगञ्जका अध्यक्ष सन्दीप अग्रवालको अध्यक्षतामा स्वागत कार्यक्रमको आयोजना भएको थियो ।

सो कार्यक्रममा जनकपुरका उद्यमीहरुको स्वागत गर्दै अध्यक्ष अग्रवालले उद्यमबारे नयाँ विषयबस्तुको जानकारी र वीरगञ्ज र जनकपुर क्षेत्रमा युवा उद्यमीबीच व्यक्तिगत सुसम्बन्ध विस्तारमा भ्रमण आयोजना गरिएको बताए । सो अवसरमा एनवाईईएफ जनकपुरका अध्यक्ष सोनुकुमारले भ्रमणबाट उद्यमका आएका नयाँ विषयको जानकारीसँगै व्यक्तिगत सम्बन्ध प्रगाढ भएको बताए ।

औद्योगिक भ्रमणका क्रममा पतञ्जली अयुर्वेदका व्यवस्थापक युवराज सुवेदीले नेपालमा जडीबुटीको पर्याप्त उपलब्धता रहेको भन्दै त्यसको अपेक्षित उपयोग हुन नसकेको बताए । पतञ्जलीले सकभर स्थानीय स्रोतसाधनको उपयोग गर्दै उत्पादन बजारमा ल्याएको जानकारी दिए । उनले पतञ्जलीले आयुर्वेद औषधि उत्पादन गर्ने योजना बनाएको पनि बताए ।

युवा उद्यमीहरुले नेपालकै ठूलो मारुती पेपरको भ्रमण गरे । सो अवसरमा उद्योगका प्रबन्ध निर्देशक दीपेश अग्रवालले सो उद्योग नेपालकै सबैभन्दा ठूलो पेपर उद्योग भएको जानकारी दिए । यो उद्योगले खेर गइरहेका पुराना कार्टुन प्रोसेसिङ गरेर क्राफ्ट पेपर उत्पादन गर्दै आएको जानकारी अग्रवालले दिए । यो उद्योग सञ्चालनमा आएपछि अहिले यस्तो पेपरको आयात प्रतिस्थापन भएको जानकारी उद्योग व्यवस्थापनले दिएको छ ।

मारुती ग्रुपद्वारा सञ्चालित सो उद्योगले क्राफ्ट पेपर उत्पादन गर्नुका साथै स्वचालित प्रविधिबाट विभिन्न आकारका कार्टुन उत्पादन गर्दै आएको जानकारी प्रबन्ध निर्देशक अग्रवालले दिए । उद्योग भ्रमणअघि आयोजित औपचारिक कार्यक्रममा आर्थिक अभियान दैनिकका पत्रकार ओमप्रकाश खनालले युवा उद्यमीहरू नवप्रवर्तनको अवधारणाबाट उद्यममा अघि बढ्नुपर्ने बताए । कुनै पनि उद्यमका हात हाल्नुअघि त्यस्तो उद्यमको समस्या, चुनौती र त्यसको समाधानका उपायबारे राम्ररी जानकार भएरमात्रै सहभागी हुन सुझाव दिए । अध्ययनविना अघि बढ्दा कैयौं उद्योगको लगानी संकटमा परेको उदाहरण उनले दिए ।

एनवाईईएफ वीरगञ्जका निवर्तमान अध्यक्ष राकेश साहले उद्यमीहरूले व्यावसायिक सम्बन्धलाई विस्तार गर्दै जानुपर्ने धारणा व्यक्त गरे भने पूर्वअध्यक्ष अनुप अग्रवालले युवाहरू आर्थिक रुपान्तरणका संवाहक भएको बताए । उनले आर्थिक र सामाजिक विकासको नेतृत्वमा युवाहरुको सहभागिताबाट मात्रै लक्ष्यमा राखिएको समृद्धि हात लाग्न सक्ने बताए ।

कार्यक्रममा एनवाईइएफ वीरगञ्जका सल्लाहकार राहुल अग्रवालले कुनै पनि उद्यम र उद्यमीको सफलताको लागि व्यावसायिक सम्बन्ध महत्वपूर्ण हुने बताए । कार्यक्रमको सहजीकरण एनवाईईएफ सदस्य एवम् यात्राडेली डटकमका सञ्चालक आशुकुमार सर्राफले गरेका थिए । औद्योगिक भ्रमणको संयोजन मोहित गुप्ता र राहुल अग्रवालले गरेका थिए । औद्योगिक भ्रमणपछि सहभागीहरुबीच विभिन्न मनोरञ्जनात्मक खेलहरु खेलाइएको थियो । सो सेसनको सञ्चालन पंकज अग्रवाल र विपिन बावरीले गरेका थिए ।

 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button