No Image Headlineअर्थमुख्य खबरविशेष

चिनीमा चरम कालोबजारी : व्यापारी, तस्कर र प्रहरी प्रशासन मालामाल, उपभोक्ताको बेहाल

चिनीमा भइरहेको कालोबजारी नियन्त्रणमा सरकारले चरम उदासीनता देखाएको छ । उद्योगीहरुले कारखाना मूल्य किलोमो ९५ रुपैयाँ रहेको बताइरहेका छन् । तर, उपभोक्ताहरुले १३५ रुपैयाँ तिर्नु परिरहेको छ । मूल्यमा यो मनपरी किन भइरहेको छ त ?

चिनीको मूल्यमा देखिएको अराजकता बुझ्न सबैभन्दा पहिला उत्पादन र मागको अवस्था हेरौं, नेपालका उद्योगीले यो वर्ष १ लाख ७६ हजार टन चिनी उत्पादन गरेका छन् । बजारको वार्षिक माग करिब ३ लाख टन छ । स्वदेशी उत्पादनले थेग्न नसकेको परिमाण विगतमा भारतबाट आउँथ्यो । तर, यस पटक भारतले आफ्नो आपूर्ति व्यवस्था मिलाउन चिनी निकासीमा रोक लगाएको छ ।

यो अभावको मौका छोपेर चिनी उत्पादक र २ नम्बरी कारोबारीले मूल्यमा मनपरी चलाइरहेका छन् । औसतमा मासिक २० हजार टन चिनीको माग हुनेमा दशैतिहारजस्ता पर्वका बेला दोब्बर माग पुग्छ । चाडवाडको मुखमा भारतबाट अवैध रुपमा चिनी भित्र्याउने तस्कर र उद्योगी दुवैथरिले कालोबजारी गरिरहेका छन् ।

तस्करीबाट सिमाना क्षेत्रमा खटिएका प्रहरी प्रशासन र कारोबारी मालामाल भएका छन् भने उद्योगीले पनि मूल्यमा मनपरी चलाएका छन् । त्यसको सोझो मार उपभोक्तालाई परेको छ । चिनीलाई कच्चा पदार्थको रुपमा प्रयोग गर्ने उद्योगीहरु पनि प्रभावित भएका छन् । अहिले सीमावर्ती बजारमा एक किलो चिनीको ७० रुपैयाँ पर्छ भने त्यति नै चिनी अन्यत्र किन्दा १३० देखि १४० रुपैयाँसम्म तिर्नु पर्दछ ।

चिनी उद्योगले ९५ रुपैयाँ कारखाना मूल्य भने पनि ११५ रुपैयाँसम्म लिने गरेको व्यापारीहरु बताउँछन् । यसमा भाडा र तहगत व्यापारीको नाफा जोड्दा काठमाडौंलगायत मुख्य शहरमा चिनीको भाउ डेढ सय रुपैयाँ हाराहारी पुग्ने व्यापारी बताउँछन् ।

भारतबाट अवैध रूपमा भित्रिएको चिनीले सीमावर्ती क्षेत्रका उपभोक्तालाई भने राहत दिए पनि तस्करी चिनी सीमाबाहेकका जिल्लामा पुग्दा त्यसको मोल पनि स्वदेशी उद्योगकै हाराहारीमा लिने गरिएको को छ ।

‘भारतसँग सिमाना जोडिएका क्षेत्रमा अहिले स्वदेशी उद्योगको चिनी बिक्दैन । भारतबाट भित्रिएको चिनी सस्तोमा पाएपछि व्यापारीले त्यही विक्री गरिरहेका छन् । स्वदेशी चिनी बिक्ने भनेको तराईबाहेकका क्षेत्रमा हो,’ इन्दुशंकर चिनी उद्योगका सञ्चालक राजेश केडियाले भनेका छन्।

भारतीय बजारमा चिनीको खुद्रा मूल्य प्रतिकिलो ६४ रुपैयाँ (भारू ४०) छ । क्यारियरले किलोको ४ रुपैयाँ लिएर सीमावर्ती नेपाली बजारमा ल्याइदिन्छन् । अनधिकृत रूपमा भित्रिएको चिनी काठमाडौं, पोखरा, हेटौंडालगायत शहर र ग्रामीण क्षेत्रमा पुग्ने गरेको छ ।

सीमावर्ती क्षेत्रमा खटिएका सुरक्षाकर्मीलाई मिलाएर गिरोहले यस्तो चिनी विभिन्न शहरमा पुर्‍याउने गरेको छ । भारतबाट भित्रिएको सस्तो चिनी सीमावर्ती क्षेत्रबाहेकका स्थानमा चर्को मूल्यमै विक्री हुन्छ ।

जिल्ला प्रहरी कार्यालय पर्साले गत शुक्रवार वीरगञ्जमा एक टन चिनी बरामद गरेको थियो । आदर्शनगरमा फेला परेको चिनी प्रहरीले बेवारिसे बनाएर भन्सार चलान गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्साका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक डीएसपी कुमारविक्रम थापाले बेवारिसे चिनी भन्सार चलान गरिएको दाबी गरे ।

व्यापारी भने एकाध बोरा चिनी बेवारिसे भेट्न सकिए पनि एक टन चिनी बेवारिसे अवस्थामा हुन नसक्ने दाबी गर्छन् । स्थानीय एक व्यापारीका अनुसार उक्त चिनी प्रहरीले व्यापारीको गोदामबाट लिएर गएको हो । व्यापारीलाई जोगाउन बेवारिसे बनाइएको दाबी उनले गरे । डीएसपी थापा तस्करी नियन्त्रणमा प्रहरी सक्रिय भएको बताउँछन् ।

अभावको मौका छोपेर उद्योगीहरूले समेत बढी मूल्यमा चिनी बेचिरहेको व्यापारी बताउँछन् । उद्योगीले किलोको ९५ रुपैयाँ हाराहारीमा बिल दिएर ११५ रुपैयाँसम्म लिएको उनीहरू बताउँछन् । बिलको रकम चेकमा र बिलभन्दा बढीको भुक्तानी नगदमा लिने गरको एक व्यापारीले बताए ।

नेपाल चिनी उत्पादक संघका महासचिवसमेत रहेका उद्योगी केडिया उद्योगले बोरामा अधिकतम खुद्रा मूल्य नै लेखेकाले त्यसो गर्न नसक्ने बताउँछन् । जब बोरामै अधिकतम खुद्रा मूल्य लेखिएको छ भने त्यो मूल्यभन्दा बढी त कसैले पनि लिन सक्दैन, उनले भने । इन्दुशंकर चिनी उद्योगले आफ्नो उत्पादनमा ५० किलोको बोराको मूल्य ५ हजार ५०० रुपैयाँ उल्लेख गरेको छ ।

यस हिसाबले एक किलो चिनीको अधिकतम मूल्य ११० रुपैयाँ हुन्छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले मूल्य राख्न अनिवार्य गरेपछि विगत १ महीनादेखि उद्योगहरूले बोरामा अधिकतम मूल्य लेख्न थालेका छन् ।

यही मूल्यका आधारमा विभागले अनुगमन गर्ने हो भने चिनीमा भइरहेको बदमासी नियन्त्रण हुने दाबी केडियाको छ । उद्योगले लिने भनेको कारखाना मूल्यमात्रै हो । यो अहिले किलोको ९५ रुपैयाँ हाराहारीमा छ । त्यसबाहेकको रकम बीचमा कसले खाइरहेको छ त्यो खोज्नुपर्‍यो । यहाँ त सबै रकम उद्योगीले खाएजस्तो गरी प्रचार भइरहेको छ, उनले भने ।

भर्खरै मात्र अर्थ मन्त्रालयले साल्ट ट्रेडिङ कर्पोरेशन र खाद्य व्यवस्था तथा व्यापार कम्पनीलाई १०–१० हजार मेट्रिक टनका दरले भन्सार छूटमा चिनी आयात गर्ने अनुमति दिएको छ । तर, दशैं, तिहार र छठ जस्ता ठूला चाडपर्वलाई लक्ष्य गरेर चिनी आयातको अनुमति दिए पनि दशैं आउन करीब १ महीना मात्रै बाँकी रहेकाले दशैंअघि सस्तो चिनी आउने सम्भावना देखिँदैन ।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button