लिबिया बाढीः सिङ्गो बस्ती नै समुद्रमा तानियो
लिबियामा सुनामी जसरी आएको विनाशकारी बाढीका कारण बगेर समुद्रमा पुगेका मानिसहरूको शव सङ्कलन गर्न उद्धार टोलीहरूलाई हम्मेहम्मे परिरहेको बताइएको छ।
सर्वाधिक प्रभावित डेर्ना सहरको एम्बुलेन्स अधिकारीहरूका अनुसार त्यहाँ कम्तीमा २,३०० जनाको ज्यान गइसकेको छ। डेर्नामा तटीय क्षेत्रमा आइतवार आइपुगेको एउटा समुद्री आँधीका कारण दुईवटा बाँध र चारवटा पुलहरू भत्किएका थिए।
त्यसपछि सहरको धेरै भाग बाढी र डुबानमा परेका थिए। रेड क्रेसन्टले त्यहाँ १०,००० जनाजति मानिसहरू हराइरहेका प्रारम्भिक विवरण प्राप्त भएको र ज्यान गुमाउनेहरूको सङ्ख्या अझै बढ्न सक्ने जनाएको छ।
इजिप्ट लगायतका देशहरूबाट बाढीपीडितहरूका लागि केही अन्तर्राष्ट्रिय राहत सामग्री भित्रिन थालेको छ। तर लिबियाको राजनीतिक अवस्थाका कारण देश दुईवटा प्रतिद्वन्द्वी सरकारहरूका बीचमा विभाजित भएकाले उद्धारकार्य प्रभावित भएको छ।
अमेरिका, जर्मनी, इरान, इटली, कतार र टर्कीले राहत सामग्री पठाइसकेको वा पठाउन तयार रहेको बताएका छन्। बाढी आउँदा मानिसहरूलाई बगाएर समुद्रमा पुर्याएको, कोही घरको छतमा बसेर जोगिएका जस्ता हृदयविदारक विवरणहरू आइरहेका छन्।
बीबीसी न्यूजका एफ्अ वाल्शका अनुसार डेर्ना सहरमा ज्यान गुमाएकाहरूको शव सामूहिक चिहानहरूमा समाधिस्थ गर्नुपरेको छ।
आइतवारको समुद्री आँधीपछि बाँध भत्किँदा उर्लेर आएको बाढीले त्सुनामीले जसरी मानिसहरूलाई समुद्रमा बगाएर लगेको घटनामा कम्तीमा २, ३०० जनाको मृत्यु भएको जनाइएको छ। बोरा र कम्बलहरूमा बेरिएका शवहरूलाई त्यहाँका समाधिस्थलमा मशीनले खनेको ठूलो खाडलमा एकसाथ गाड्ने गरिएको छ।