हुलाकी राजमार्गमा निकुञ्ज बाधक, कहिले होला पूरा ?
राष्ट्रिय गौरवको हुलाकी राजमार्ग निर्माण सुरू भएको डेढ दशकमा पनि सम्पन्न कहिले हुने यकिन छैन । सडक खण्डमा पर्ने राष्ट्रिय निकुञ्जको कारण अनिश्चित्ता भएको हो ।
हुलाकी सडकको हालसम्मको प्रगति ९१ प्रतिशत पुगेको छ । भौतिक प्रगति र वित्तीय प्रगति दुवै तर्फ ९१ प्रतिशत पुगेको हुलाकी राजमार्ग आयोजना निर्देशनालयले जनाएको हो । आयोजनाअन्तर्गत चितवन राष्ट्रिय निकुञ्ज, नवलपरासी, दाङ, बाँकेलगायतका जिल्लामा वन क्षेत्रमा अध्ययनका लागि स्वीकृति नपाएका कारण निर्माण सुरू नसकेको हो ।
निकुञ्ज र वन बाहेक अन्य क्षेत्रमा भने निर्माण प्रगति सन्तोषजनक छ । पूर्व पश्चिम तराई–मधेशका २३ जिल्ला जोडने १७ सय ९२ किमी सडकमध्ये ९ सय मिटर कालोपत्र र ६४२ किमी निर्माणाधीन अवस्थामा छ । सो बाहेक २५० किमीमा भने कुनै काम हुन सकेको छैन । आयोजनाले पटक–पटक वन मन्त्रालयलाई वातावरणीय प्रभाव मूल्यांकन (इआईए) र अध्ययन सहमतिका लागि पत्र पठाएको छ ।
तर, मन्त्रालयले केही इआईए स्वीकृत गरे पनि चितवन राष्ट्रिय निकुञ्जले अध्ययन गर्न भने भर्खर सहमति दिएको छ । वन तथा वातावरण मन्त्रालयले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई पहिलेकै बाटो सञ्चालनमा ल्याउने गरी वातावरणीय इआइए प्रतिवेदन तयार गर्न सहमति दिएको छ ।
चितवनको नारायणघाट–माडी सडकमा पर्ने निकुञ्जको जंगलमा अहिले र पहिलेको गरि दुइवटा मार्ग रहे पनि जैविक विविधता संरक्षणका दृष्टिले ध्रुवघाट–वनकट्टा पहिलेकै सडकको इआइए गर्न मन्त्रलयले सहमति दिएको हो ।
कोरोनाको कारण थपिएको २ वर्ष अर्थात् आर्थिक वर्ष ०८१/८२ सम्म हुलाकी सडक निर्माण कार्य सम्पन्न हुनु पर्ने हो । तर, वन तथा निकुञ्जको समस्याको कारण थपिएको समयमा पनि निर्माण सम्पन्न हुने सम्भावना कम हुँदै छ । मन्त्रलयले स्विकृती दिए पनि निकुञ्जले अध्यायन अनुमति दिन बाँकी नै छ ।
प्रकृया पुरा गरि डिपिआर तयार गर्दासम्म कम्तिमा एक बर्ष वित्ने अनुमान छ । उसो हो भने अन्य कुनै अवरोध नभए विसं २०८४ सम्ममा आयोजना सम्पन्न गर्न सकिने हुलाकी सडक परियोजनाले जनाएको छ ।
हुलाकी राजमार्गलाई तराई मधेस क्षेत्रको समृद्धिसंग जोडेर सुरू गरिएको हो । यस क्षेत्रमा मुलुकको कुल जनसंख्याको आधाभन्दा बढी जनसंख्या बसोबास गर्छन् । आयोजना सम्पन्न भएपछि यस क्षेत्रको व्यापार, कृषिलगायतका क्षेत्रमा नयाँ सम्भावना खुल्नेछ । पूर्व–पश्चिम राजमार्गबाट सुरू भएर हुलाकी राजमार्गलाई पार गरी भारतीय सीमासम्म पुग्ने गरी फिडर रोडहरू निर्माण गरिएका छन् ।
राजमार्गले पूर्वदेखि पश्चिमसम्म पूरै तराईलाई समेटेको छ । हुलाकी राजमार्गअन्तर्गत निर्माण भइरहेको फिडर सडक बाहेक अरू निकायबाट पनि उत्तर दक्षिण जोड्ने गरी सडक निर्माण गरिएका छन् । निर्माण सकिएपछि तराई मधेशका धेरै ठाउँसम्म सडकको सञ्जाल विस्तार हुनेछ ।
विसं २०६६ मा सुरू भएको आयोजनाको निर्माण सम्पन्न हुनु पर्ने अवधि पछिल्लो पटक थपभए अनुसार चालु आवसम्म मात्रै हो । निकुञ्जमा जंगली जनावर र वन जंगललाई बाधा नपर्ने गरि राजमार्ग निर्माण गर्ने विश्वका सयौं मोडलहरू छन् । हाम्रो निकुञ्जमा कुन किसिमको निर्माण उपयुक्त हुन्छ, सोही अनुरूप अगाडि बढनु पर्ने हो । तर हाम्रा प्रशासन र माननीय मन्त्री ज्युहरू समस्याको गाँठो फुकाउने भन्दा जुँगाको लँडाइ गर्दै गाँठो कस्नमा माहिर छन् ।