कोशी प्रदेशमा मध्यावधि भए दोब्बर सिट ल्याउँछौँ : माधव नेपाल
पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले कोसी प्रदेश मध्यावधि निर्वाचन भए आफ्नो पार्टीले अहिलेको भन्दा दोब्बर सिट ल्याउने दाबी गरेका छन् ।
एकीकृत ट्रेड युनियन महासङ्घको कार्यक्रमलाई आज काठमाडौँमा सम्बोधन गर्दै उनले मध्यावधिमा जानु देश र जनताका लागि भलो नहुने भएकाले सकेसम्म मिलेर सरकार बनाउनु पर्ने बताए ।
उनले आफ्नो पार्टी मध्यावधिको पक्षमा नरहे पनि परिस्थिति त्यस्तै बन्यो र मध्यावधि भयो भने अहिलेको भन्दा दोब्बर सिट जित्ने बताए । उनले कोशी प्रदेशमा मिल्नु, साथ दिनु र चुनावमा जानुको विकल्प नभएको समेत बताए ।
उनले भने, ‘हामीलाई त फरक हुनेवाला छैन। किनभने हाम्रो साथीहरूको हिसाब के छ भने, चुनाव भयो भने हाम्रो पार्टीलाई फाइदै हुन्छ। अहिले हामीसँग त्यहाँ चार सिट छ, सिट संख्या बढेर हामीले दोब्बर तेब्बर ल्याउन सक्छौँ । तर अरुको सातो गएको छ।’
उनले मध्यावधि हुँदा ४० सिट भएको एमाले र २९ सिट भएको कांग्रेसलाई सिट गुम्ने डर रहेको बताए ।