कोशी प्रदेशको मुख्यमन्त्रीमा हिक्मत कार्की नियुक्त भएका छन् । प्रदेश प्रमुख परशुराम खापुङले उनलाई आज मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।
यसअघि कोशी प्रदेश सरकारको चौथो मुख्यमन्त्रीको रुपमा २०७९ पुस २४ गते कार्की नियुक्त भएका थिए ।
सर्वोच्च अदालतले बिहीबार मुख्यमन्त्री उद्धव थापालाई पदमुक्त गर्दै ४८ घण्टाभित्र कार्कीलाई मुख्यमन्त्री नियुक्त गर्न परमादेश जारी गरेको थियो ।
सर्वोच्चले यसअघिका मुख्यमन्त्री थापाले लिएको विश्वासको मतलाई बदर गरिदिएको थियो । थापा पदमुक्त भएसँगै संविधानको धारा १६८ (३) अनुसार प्रदेशसभाको सबैभन्दा ठूलो दलको नेताको हैसियतमा कार्की दोस्रो पटक मुख्यमन्त्रीमा नियुक्त भएका हुन ।
कार्की १७४ दिनमात्र सत्ताको बागडोर सम्हालेर बिदा भएका थिए । कार्कीले प्रदेश प्रमुख खापुङबाट आजै सपथ पनि लिएका छन् ।