अर्थमुख्य खबर

व्यापारीले किन मिति सच्याएर म्याद गुज्रिएका सामान बेच्छन् ? उपभोक्ता कसरी जोगिने?

जानकारहरूका अनुसार विशेष गरी लामो समय भण्डारण गरेर बिक्री गर्नुपर्ने व्यापारीहरूले म्याद सकिएका सामानलाई पुनः नयाँ मिति राखेर बिक्री गर्ने गरेको पाइएको छ। यद्यपि व्यापारीका सङ्गठनहरूले त्यस्तो आरोपको खण्डन गर्ने गर्छन्।

Patanjali Nepal
SweetMart Nepal

विज्ञहरू भने त्यस्ता म्याद गुज्रिएका सामग्रीको गुणस्तर न्यून हुने र त्यस्ता खाद्य सामग्री प्रयोग गरे स्वास्थ्य समस्यासमेत निम्तिन सक्ने बताउँछन्।

उपभोक्ता अधिकारकर्मी ज्योति बानियाँ नेपालमा अहिले विदेशबाट म्याद सकिएका सामान ल्याएर रिलेबलिङ गरी बिक्री गर्ने क्रम बढेको दाबी गर्छन्। जसरी बजारमा रिलेबलिङ गरिएका सामान छ्यापछ्याप्ती भेटिन्छन्, त्यसले नेपाल म्याद गुज्रिएका सामान ल्याउने देश बन्दै गएको देखिन्छ। यो अपराध हो तर सरकारले यो विषयमा गम्भीर रूपमा ध्यान दिएको छैन, उनी भन्छन्।

उपभोक्ताको स्वास्थ्यमा गम्भीर असर पर्न सक्ने भए पनि व्यक्तिगत मुनाफाका निम्ति कतिपय व्यापारीले त्यस्तो गर्ने गरेको उनको भनाइ छ। विभागका महानिर्देशक गजेन्द्रकुमार ठाकुर पनि अनुगमनका क्रममा रिलेबलिङ गरेका सामान भेटिनुले कतिपय उत्पादक तथा आयातकर्ताहरू यस्ता गतिविधिमा संलग्न भएको हुन सक्ने बताउँछन्।

चाँडै पैसा कमाउने लोभमा कतिपयले यस्ता गतिविधि गरेका होलान् तर यस्तो कार्य गर्न पाइँदैन, उनी भन्छन्। अहिले विभागले अनुगमनका क्रममा ‘लेबल’लाई पनि विशेष ध्यान दिएर हेर्ने गरेको उनको दाबी छ।

खुद्रा व्यापार सङ्घका सचिव राजु मास्के भन्छन्, साना व्यापारीहरूले पनि थाहा नपाएर रिलेबलिङ गरेका सामान बेचेको हुन सक्छ तर साना व्यापारीसँग त्यस्तो खालको प्राविधिक क्षमता छैन। धेरै सामान बेच्नेहरूले त्यस्तो गरेको सुनिन्छ। त्यसैले हामीले हाम्रा सदस्यहरूलाई राम्ररी सामान जाँच गरेर मात्र किन्नू भन्ने गरेका छौँ। फेरि यस्तो कुरा सुनिएपछि हामी सदस्यहरूलाई निर्देशन दिन्छौँ।

नेपालको कानुनले खाद्यवस्तुमा लेबल नलगाई बिक्री गर्न रोक लगाएको छ। त्यस्तो लेबलमा उत्पादकको नाम, ठेगाना, उत्पादन र उपभोग मितिलगायतका कुरा उल्लेख गर्नुपर्ने हुन्छ।

त्यसै गरी विभिन्न मिश्रणयुक्त खाद्यवस्तुमा त्यस्तो मिश्रणको मात्रा पनि खुलाउनुपर्ने व्यवस्था उपभोक्ता संरक्षण ऐनले गरेको छ। त्यस्ता खाले विवरण नेपाली वा अङ्ग्रेजी भाषामा हुनुपर्ने पनि नियम रहेको छ।

यद्यपि तरकारी, फलफूलसहित खुला रूपमा बिक्री वितरण गरिने खाद्यवस्तुमा लेबल अनिवार्य गरिएको छैन। कानुनले निषेध गरेकाले नेपालमा तोकिएका खाद्यवस्तु लेबल नलगाई उत्पादन, आयात, निर्यात वा बिक्री वितरण गर्न पाइँदैन।

त्यस्तो गरेमा जरिबाना र कैदसम्मको सजायको व्यवस्था कानुनले गरेको छ। उपभोक्ता संरक्षण ऐनले त्यस्तो कसूर गर्नेलाई एक लाखदेखि अधिकतम तीन लाख रुपैयाँसम्म जरिबाना गर्ने अधिकार दिएको छ।

त्यस्तै पटक पटक त्यस्तो कसूर दोहोर्‍याउनेलाई कानुन अनुसार तीन महिनादेखि एक वर्षसम्म कैद पनि हुन सक्छ।

उपभोक्ता अधिकारकर्मी र अधिकारीहरूले उपभोक्ताले केही कुरामा ख्याल गर्ने हो भने म्याद गुज्रिएका सामान किन्नबाट जोगिन सक्ने बताएका छन्। कुनै पनि प्याकिङ गरिएका खाद्यवस्तुमा उत्पादन, उपभोग मिति, ब्याच नम्बर, त्यसमा गरिएको मिश्रण, अधिकतम मूल्यलगायतका कुराहरू उल्लेख गरिएका हुन्छन्।

त्यसलाई रिलेबलिङ गरिएको हो वा हैन भनेर चिन्ने केही आधारहरू रहेको विभागका महानिर्देशक ठाकुर बताउँछन्। उनका अनुसार निम्न तरिकाले रिलेबलिङ’ गरिएको पाइने गरेको छ

मेटेर वा नबुझिने बनाएर,
कागज वा प्लास्टिक टाँसी नयाँ लेबल लगाएर,
पुरानो लेबलमाथि पुनः टाइप गरेर वा छाप लगाएर,
प्याकेट नै परिवर्तन गरेर।
उनका भनाइमा प्याकेट नै परिवर्तन गरिएका बाहेकका अवस्थामा रिलेबलिङ चिन्न केही सजिलो हुन्छ। त्यसका लागि उपभोक्ताले सामान किन्दा ध्यान दिनुपर्ने सुझाव उनको छ।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button