No Image Headlineअर्थमुख्य खबरविशेष

राष्ट्रिय गौरवका योजना, कुनको प्रगति कति ?

सरकारले मुख्य ६ वटा विकास निर्माणलाई राष्ट्रिय गौरवका आयोजनाको रुपमा अघि बढाएको छ । जसमध्ये कुनै सम्पन्न हुने चरणमा छ भने केहीको काममा ढिलाइ भइरहेको छ ।

६ वटा आयोजनामध्ये सबैभन्दा धेरै काम हुलाकी राजमार्गको भएको छ । सो राजमार्गको ९१ प्रतिशत काम सकिएको दाबी गरिएको छ । सबैभन्दा थोरै प्रगति भने कर्णाली करिडोरको हिल्सा सिमीकोट सडक खण्डको भएको छ । यस राजमार्गको काम २४ प्रतिशतमात्रै भएको छ ।

हुलाकी राजमार्ग आयोजनाले ५९ अर्ब ६५ करोड खर्च गरेको छ । संशोधित लागत अनुमान ६५ अर्ब २० करोड रहेको यो आयोजना २०६६ सालबाट सुरु भएको हो । आयोजना २०८४ सालमा सम्पन्न गर्ने लक्ष्य लिइएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहालले हालै प्रतिनिधिसभाको बैठकमा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिनेक्रममा अहिलेसम्म दुई वटा सम्पन्न भएका, १४ वटाको ८० प्रतिशत काम भएको, पाँच वटाको ५० देखि ८० प्रतिशत सम्म काम भएको र २ वटाको ५० प्रतिशत काम भएको बताएका थिए ।

प्रधानमन्त्रीले हुलाकी राजमार्गबारे चितवन र पर्सामा डीपीआरमा भएको ढिलाइले यो आयोजना तीन वर्षभित्र सम्पन्न गर्ने लक्ष्य लिएको बताए । उत्तर दक्षिण राजमार्ग काली गण्डकी कोरिडोर गैंडाकोट राम्दी मालढुंगा खण्डको भौतिक प्रगति पनि चित्तबुझ्दो छैन । यस आयोजनाको आर्थिक वर्ष २०७९/८० सम्म ४५ प्रतिशतमात्रै भौतिक प्रगति भएको छ । वित्तीय प्रगति भने ४३ प्रतिशत छ ।

आर्थिक वर्ष २०६६/६७ बाट सुरु भएको यस राजमार्गको लागत २५ अर्ब २२ करोड रहेको छ । आर्थिक वर्ष २०८३/८४ मा सम्पन्न गर्ने लक्ष्य लिइएको यस आयोजनामा ९ अर्ब ९५ करोड खर्च भइसकेको छ ।

आयोजनाअन्तर्गत कुल २४५ किलोमिटर सडक कालोपत्रे गर्ने लक्ष्य रहेको छ । जसमध्ये हाल १७७ किलोमिटर सडक खण्ड सम्पन्न भएको आयोजनाले जनाएको छ । यस राजमार्गको राम्दी रानीमहल सडक खण्डको १८ किलोमिटर सडकको काम बाँकी छ । त्यस्तै १५ वटा पुल ठेक्का व्यवस्थापन हुन बाँकी छ ।

पुष्पलाल मध्य पहाडी राजमार्गको काम ७२.७० प्रतिशत सकिएको छ । सो आयोजनाले ६४ अर्ब ७६ करोड खर्च गरेको छ । आयोजनाको संशोधित लागत अनुमान ८४ अर्ब ३३ करोड रहेको छ । २०६५ सालबाट सुरु भएको उक्त आयोजना २०८५ मा सम्पन्न गर्ने उल्लेख छ ।

उत्तर दक्षिण कोशी सडक आयोनाको काम ४२ प्रतिशत सकिएको छ । यस आयोजनाको लागत ११ अर्ब ९३ करोड रहेको छ । जसको ४२ प्रतिशत खर्च भइसकेको आयोजनाले जनाएको छ । २०६५/०६६ सालबाट सुरु भएको यो आयोजना आर्थिक वर्ष २०८३ /८४ मा सम्पन्न गर्ने लक्ष्य लिइएको छ ।

हिल्सा सिमीकोट सडकको भौतिक प्रगति २४ प्रतिशतमात्रै भएको छ । यस आयोजनाको लागत ६ अर्ब ६६ करोड रहेको छ । हालसम्म २० प्रतिशतमात्रै खर्च भएको छ । आर्थिक वर्ष २०६९/७० बाट सुरु भएको यो आयोजना आव २०८३ /८४ मा सम्पन्न गर्ने लक्ष्य रहेको छ ।

प्रधानमन्त्री दाहालले पशुपति विकास आयोजनाको भौतिक प्रगति ६६ र वित्तीय ६५ प्रतिशत भएको बताएका थिए । उनले मेलम्चीको क्षतिग्रस्त मनसुन रोकिएपछि काम गर्ने, मदन भण्डारी विश्वविद्यालयलाई चालु आर्थिक वर्षमा २ करोड रकम विनियोजन गरिएको जवाफ दिएका थिए।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button