No Image Headlineअर्थविशेष

लोडशेडिङमुक्त नेपालमा झ्याप्पझ्याप्प जान्छ बिजुली

नेपाललाई लोडशेडिङमुक्त देश घोषणा गरिए पनि झ्याप्पझ्याप्प बिजुली जाने अवस्था देखिन थालेको गुनासो पछिल्ला समय बढेको पाइन्छ। नेपालमा बिजुली अत्यधिक खपत हुने पीक आवर माग दुई हजार मेगावाटभन्दा तल नै रहे पनि जडित विद्युत् उत्पादन क्षमता २,६८४ मेगावाट छ।

Patanjali Nepal
SweetMart Nepal

विद्युत् प्राधिकरणका प्रवक्ता सुरेशबहादुर भट्टराई प्रसारणलाइन विस्तार नभए उच्च मात्रामा विद्युत् उत्पादन हुने वर्षायाममा देशभित्रै गुणस्तरीय विद्युत् प्रवाह र विदेशमा व्यापार गर्न ठूलो समस्या हुनसक्ने बताउँछन्।

सुक्खायाममा विद्युत् उत्पादन एक तिहाइसम्मले घट्ने हुँदा त्यो बेला भने प्रसारणलाइन मुख्य समस्याको रूपमा देखापरिसकेको छैन। तर बर्सेनि नयाँ जलविद्युत् आयोजनाहरूले उत्पादन सुरु गर्दै जाने अवस्थामा सुस्त गतिमा प्रसारणलाइन विस्तार गर्ने सुविधा अब कसैसँग नरहेको उनी बताउँछन्।

प्राधिकरणको पछिल्लो वार्षिक प्रतिवेदनमा देशका मुख्य सहरमा त्यहाँको बढ्दो विद्युत् माग र पीक आवरलाई धान्न सक्ने गरी प्रसारणलाइन र सबस्टेसन अपर्याप्त हुने जनाइएको छ। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था इप्पानका पदाधिकारीले नेपालमा विद्युत् उत्पादन पर्याप्त भइसक्न लाग्दासमेत प्रसारण लाइन त्यसअनुसार नहुनु ठूलो समस्या बनेको बताउँछन्।

यस वर्षभित्रै २२० केभीको कुश्मा न्यू बुटवल र ४०० केभीको ढल्केवर इनरुवा प्रसारणलाइन सञ्चालनमा आउन लागेको प्राधिकरणका अधिकारीहरू बताउँछन्। भदौ पहिलो साता नेपाल विद्युत् प्राधिकरणले ठेक्का सम्झौता भएको झन्डै डेढ दशकमा २२० केभीको हेटौँडा भरतपुर बर्दघाट प्रसारणलाइनको उद्घाटन गर्‍यो।

त्यसैगरी अन्तरदेशीय विद्युत् व्यापारका लागि हाल ४०० केभी क्षमताका ढल्केबर–मुजफ्फरपुर प्रसारणलाइन प्रयोगमा रहेको छ। सन् २०२९ भित्र थप चार वटा ४०० केभीकै प्रसारणलाइन थप्ने दुई देशका योजना रहेका छन्।

ढल्केवर सीतामणि प्रसारणलाइनको निर्माण कार्य भइरहेको छ। बुटवल गोरखपुर प्रसारणलाइनअन्तर्गत भारतीय खण्डको निर्माण कार्य मार्च २०२५ सम्म सम्पन्न गर्न हाल बोलपत्र आह्वानको काम भइरहेको छ।

त्यसैगरी इनरुवा पुर्णिया र लम्बी दोधारा बरेली अन्तर्देशीय प्रसारण लाइनको निर्माण क्रमशः सन् २०२७ २८ र २०२८२९ सम्ममा सम्पन्न गर्ने योजना छ।

प्राधिकरणको पछिल्लो वार्षिक प्रतिवेदन अनुसार हाल देशभरि १३२, २२० र ४०० केभी क्षमताका गरेर कुल २,८५२ सर्किट किलोमिटर प्रसारणलाइन निर्माणाधीन छन् भने ६,७५१ सर्किट किलोमिटर प्रस्तावित र योजनामा छन्। पछिल्लो आठ वर्षमा नेपालमा ३,००० बढी सर्किट किलोमिटर क्षमताका प्रसारणलाइन थपिएका थिए।

सरकारले आगामी आर्थिक वर्षभित्र नेपालका सबै घरधुरीमा बिजुली पुर्‍याउने लक्ष्य राखेकाले पनि प्रसारणलाइन त्यसका लागि अहम् विषय बनेको छ। विद्युत्‌को माग उच्च हुने समय साँझको साढे पाँचदेखि साढे आठ बजेसम्म र बिहान पाँच बजेदेखि आठ बजेसम्म राजधानीसहित वीरगन्ज, विराटनगरजस्ता मुख्य सहरमा माग अनुसार बिजुली प्रवाह गर्न नसकिएको कुरा प्राधिकरणका अधिकारीहरू स्वीकार्छन्।

प्राधिकरणका प्रवक्ता सुरेशबहादुर भट्टराई प्रसारण सञ्जालमा विद्युत् आपूर्तिका बाटोहरू थपिँदा प्रणालीमा भार कम भएर बिजुलीको प्रयोग विश्वसनीय र स्थिर हुने बताउँछन्। तर नेपालभित्रकै औद्योगिक कोरिडोर र भारतीय बजारमा पुर्‍याउनुपर्ने अवस्थामा प्रसारणलाइन अहिले नै ठूलो समस्याका रूपमा छ, प्रवक्ता भट्टराई भन्छन्।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button