No Image Headlineअर्थ

भैरहवाबाट पनि हङकङ तथा दिल्ली उडान

नेपाल वायुसेवा निगमले भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट पनि हङकङ तथा दिल्ली उडान गर्ने भएको छ। काठमाडौँलाई ट्रान्जिट बनाई यो उडान गर्न लागिएको हो। निगमले १२ भदौ (२९ अगस्ट) देखि नियमित रूपमा उडान भर्ने गरी बुकिङ खुला गरेको छ।

Patanjali Nepal
SweetMart Nepal

सुरुमा भैरहवाबाट हप्ताको एक उडान मात्र हुनेछ। हरेक मंगलबार हुने यो उडान बजारको माग तथा निगमको बजार व्यवस्थापन अनुसार बढाउँदै जाने निगमको योजना रहेको छ। उडान तालिकाअनुसार बिहान ८ः१५ मा भैरहवाबाट उडेको जहाज ९ः०० बजे काठमाडौँमा अवतरण गर्नेछ।

तत्पश्चात् ट्रान्जिट भई हङकङ जाने यात्रु हङकङ जाने उडानमा र दिल्ली जाने यात्रु दिल्ली जाने निगमकै कनेक्टिङ उडानमा चढ्नेछन्।यात्रुको सुविधाको लागि चेक इन गर्दाकै बखत गन्तव्यसम्मकै बोर्डिङ पास दिने र लगेज सिधै गन्तव्यमा पुगेर लिने व्यवस्था मिलाइएको निगमले जनाएको छ।

आइतबार निगमले एक विज्ञप्ति जारी गर्दै संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँगको समन्वयमा उडान सुरु गर्ने निर्णय गरेको बताएको हो। राष्ट्रिय गौरवको आयोजनाअन्तर्गत निर्माण भएको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट हाल मलेसियालगायतका राष्ट्रमा उडान हुने गरेका छन्। मलेसियाको उडान नेपाल एअरलाइन्सले गर्दछ।

गत जेठमा विमानस्थल उद्घाटनकै दिनदेखि कुवेतको जजीरा एअरवेजले पनि यो विमानस्थलबाट उडान भर्न सुरु गरेको थियो। तर, त्यसको केही समयपछि यो उडान बन्द भयो। त्यस्तै, हिमालय एअरलाइन्सले केही समय त्यहाँबाट मलेसियाको क्वालालम्पुरका लागि उडान गरेको थियो।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button