बारामा तीर्थयात्री चढेको बस दुर्घटना, कम्तीमा ७ जनाको मृत्यु
बारा जिल्लाको चुरियामाई क्षेत्रमा बुधवार मध्यरातपछि भएको एउटा बस दुर्घटनामा हुँदा कम्तीमा सात जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। अरू डेढ दर्जन यात्रु घाइते भएका छन्।
मृतकहरूमध्ये छ जना भारतीय र एक जना नेपाली रहेको बताइएको छ। बसमा सवार अधिकांश मानिस पशुपतिनाथ दर्शन गरेर जनकपुरतिर जाँदै गरेका भारतीय तीर्थयात्रु भएको प्रहरीले जनाएको छ।
बस मूल सडकबाट झन्डै ५० मिटर तल खसेको छ। बाराका प्रहरी उपरीक्षक होविन्द्र बोगटीका अनुसार मृत्यु हुनेमा चार महिला र तीन पुरुष छन्। घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर भएको उनले बताए।
अधिकांश घाइतेको मकवानपुरको हेटौँडा अस्पतालमा उपचार भइरहेको छ। केहीलाई चितवनको भरतपुर पठाइएको छ। चौबीस घण्टाको अन्तरालमा नेपालमा भएको यो दोस्रो ठूलो सडक दुर्घटना हो।
बुधवार बिहान एउटा यात्रुवाहक बस धादिङको गजुरीनजिक त्रिशूली नदीमा खस्दा आठ जनाले ज्यान गुमाएका थिए। दुर्घटनाग्रस्त गाडीमा सवार सबै जना भारतको राजस्थानस्थित गङ्गापुर गाउँका बासिन्दा भएको बुझिएको प्रहरीले बताएको छ। अधिकांश यात्रुहरू ६० देखि ७० वर्षका हुन्।
दुर्घटनामा मृत्यु भएका एक नेपालीले बीच बाटोबाट गाडी चढेको देखिएको प्रहरीले जनाएको छ।
भारतीय राजदूतावाससँग समन्वय गरेर घाइते तथा मृतकका परिवारलाई सम्पर्क र समन्वय गर्ने कार्य भइरहेको छ, प्रहरी उपरीक्षक बोगटीले भने।
चालकले ब्रेक फेल भएर दुर्घटना भएको बताए तापनि प्रहरीले केही जाँचको रिपोर्ट आएपछि मात्र त्यसबारे धारणा बनाउने प्रहरी उपरीक्षक बोगटीले बताएका छन्। दुर्घटनालगत्तै चालक र सहचालक दुवै जना भागेका थिए। उनीहरूको मोबाइललाई ट्र्याक गरेर दुवै जनालाई धनुषाबाट नियन्त्रणमा लिइएको थियो।