मान्छेलेजस्तै कुराकानी गर्ने बोटबिरुवा !
मान्छेहरूले जस्तै बोटबिरुवाले पनि आपसमा संवाद गर्छन् । तिनले आफ्नो सम्पर्कमा आउने कीटपतंग, पशुपन्छी, जीवजन्तु एवम् मान्छेसँग पनि कुराकानी गर्छन् तर तिनको भाषा हामीले नबुझ्न सक्छौं ।
वैज्ञानिकहरू यस सम्बन्धी गहन अध्ययन–अनुसन्धानकै क्रममा रहेका भए पनि वनस्पतिहरूको संवादबारे केही महत्त्वपूर्ण जानकारी उपलब्ध छन् । आफूभन्दा साना र कमजोर बोटबिरुवालाई खाना बाँड्न, परागसेचन गर्न वा आपत्विपत्मा सहयोग माग्न तिनले संवाद गर्ने गरेको पुष्टि भैसकेको छ ।
प्राणीहरूले झैं बोटबिरुवाले पनि विभिन्न किसिमका आवाज निकाल्ने गरेको तथ्य अनुसन्धानकर्मीहरूले पत्ता लगाएका छन् भनी हालै न्युयोर्क टाइम्सले लेखेको छ । उदाहरणका लागि, लज्जावती झारले आफू खुम्चिँदा आवाज निकाल्ने गर्छ जुन हामीले त सुन्न सक्दैनौं, तर मुसाजस्ता साना जीवले भने सहजै सुन्न सक्छन् ।
वैज्ञानिकहरू त्यस्तो आवाज सँगैका अरू बिरुवाले सुन्छन् कि सुन्दैनन् भन्नेबारे अनुसन्धानरत छन् । केही बिरुवाले आफू असहज अवस्थामा हुँदा मौरीको जस्तै आवाज निकाल्ने अनुमान इजरायलको तेल अभिभ विश्वविद्यालयका वैज्ञानिकहरूले गरेका छन् ।
वनस्पतिहरूले सन्देशको सम्प्रेषण प्रायः ध्वनि तरंगबाट भन्दा बेसी रसायनका माध्यमद्वारा गर्छन् । त्यसका लागि विभिन्न प्रकारका बायोजेनिक भोलाटाइल अर्गानिक कम्पाउन्डजस्ता रसायन हावामा पठाउँछन् । फूलहरूले दिने सुगन्ध वा सुन्तलाको बोक्रा छोडाउँदा आउने बास्ना लगायत रासायनिक कम्पाउन्ड नै हुन् ।
बोटबिरुवाले निकाल्ने अनगिन्ती रासायनिक गन्ध हाम्रो नाकले पत्तै पाउँदैन । फूल फुल्ने प्रजातिका एन्जियोस्पर्म बिरुवाहरूले वंश वृद्धि गर्न परागसेचनमार्फत बीउ उत्पादन गर्छन् । परागसेचनको प्रक्रिया पूरा गर्न परागसेचक जीवहरूको आवश्यकता पर्छ ।
ती जीवबिना यिनीहरूको जीवनचक्र पूरा हुँदैन । मौरी, भमरा, पुतलीजस्ता कीटपतंग; हमिङ बर्डजस्ता चरा; चमेरा र अन्य साना जीव परागसेचकको भूमिकामा हुन्छन् । परागसेचक जीवहरूलाई आफूतिर आकर्षित गर्न यी बिरुवाले रंगीन फूलमार्फत सुगन्धित बास्ना निकाली बास्नाको भाषामा आफूसँग मीठो रस नेक्टर रहेको जनाउ दिन्छन् ।
अन्य कैयौं बोटबिरुवाले परागसेचक जीवहरूको आवाज सुन्नेबित्तिकै थप नेक्टर निःसृत गर्ने तथ्य इकोलोजी लेटर्स जर्नलमा प्रकाशित छ । जब कुनै बिरुवालाई पात खाने हानिकारक परजीवी कीराले संक्रमण गर्छ तब तत्कालै त्यो बिरुवाले एक प्रकारको रसायन हावामा छोडी छिमेकी बिरुवाहरूलाई हानिकारक परजीवी कीरा आएको खबर दिने गर्छ ।
त्यस्तो खबर पाउनासाथ छिमेकी बिरुवाहरू सतर्क हुँदै परजीवी कीराबाट आफ्नो बचाउका लागि रणनीतिक उपायको तयारीमा लाग्छन् । यस अवस्थामा केही बिरुवाले विष उत्पादन गरी आफूलाई सुरक्षित राख्छन् भने केहीले परजीवी कीरालाई मन नपर्ने गन्ध हावामा छोड्छन्; अन्य केही बिरुवाले सुरक्षित रहन तीतो रस स्याप उत्पादन गर्छन् ।
आत्मरक्षाका क्रममा निकालिएका रासायनिक भाषाको आशय ९गुहार० त्यस बिरुवाका मित्रजीवहरूले पनि बुझ्छन् । खतरामा रहेका बोटबिरुवाको रासायनिक सन्देश पछ्याउँदै हानिकारक परजीवीका सिकारी जीवहरू ती बिरुवानजिक पुग्छन् र परजीवीको सिकार गरी बोटबिरुवालाई बचाउने गर्छन् । यस प्रक्रियालाई प्रिडेटरी इफेक्ट भनिन्छ ।
बिरुवा र कीटपतंगबीच हुने कुराकानी हामीले बुझ्न सक्यौं भने हानिकारक परजीवी कीरालाई नियन्त्रण गर्न त्यसका सिकारी कीराहरूलाई जैविक कीटनाशकका रूपमा प्रयोग गर्न सकिन्छ । उदाहरणका लागि, लाई कीरा बिरुवाहरूको शत्रु कीरा हो जसको सिकार ‘लेडी बग’ ले गर्छ । वनस्पतिको भाषा बुझ्न सक्यौं भने प्राकृतिक विधिबाट बिरुवालाई परजीवी शत्रु कीरा ९पेस्ट० र त्यसका रोगबाट विषादीको प्रयोगबिनै बचाउन सकिन्छ ।
बोटबिरुवा जतासुकै नजिकनजिकै वा समूहमा उम्रेका हुन्छन् । तिनीहरूले पात वा हाँगाका माध्यमबाट एकअर्कालाई छोएका हुन्छन् । स्पर्शको अवस्थामा एक बिरुवाले अर्कामा एक प्रकारको विद्युत्–चुम्बकीय तरंग इलेक्ट्रो–म्याग्नेटिक सिग्नल प्रसारण गरेर एकअर्कासँग कुराकानी गर्छन् भनी प्लस वन जर्नलले लेखेको छ ।
वनस्पतिहरूले जराका माध्यमबाट पनि कुराकानी गर्छन् भन्ने रहस्योघाट्न भएको छ । जमिनमुनि माटोमा फैलिने हुँदा जराले पानीमा छिट्टै घुलनशील हुने रसायन हाइली सोलुबल स्मल मलिकुलर कम्पाउन्ड निकालेर माटोमा पाइने सूक्ष्म जीव, कीटाणु र अन्य छिमेकी बिरुवासँग संवाद गर्छ ।
जस्तै— हामीले रोपेको नयाँ बिरुवाले नयाँ माटोमा आफूलाई सहयोग गर्ने सूक्ष्म जीव–जीवाणुलाई बोलाउन एक किसिमको रसायन छोड्ने गर्छ । त्यही रसायनका माध्यमबाट माटोमा पाइने सूक्ष्म जीवाणुहरू नयाँ बिरुवानजिक पुग्छन्, जरामा टाँसिन्छन् वा जराभित्र घुस्छन् र त्यस बिरुवालाई हुर्कन मद्दत गर्छन् । उदाहरणका लागि, नाइट्रोजन जम्मा गर्ने जीवाणुहरू नाइट्रोजन फिक्सिङ ब्याक्टेरिया दुई दलीय बिरुवाको जरामा पोको परेर बस्ने गर्छन् ।
ठूला रूखको सेपमा उम्रेका ससाना बिरुवाले सूर्य किरणको प्रचुरताको अभावमा आफूलाई चाहिने खाना, ग्लुकोज बनाउन सक्दैनन् । त्यसैले तिनले आफ्ना जरालाई ठूला रूखको जरानजिकै लगेर खाना माग्ने गर्छन् । ठूला रूखले पनि ससाना बिरुवालाई खाना र ग्लुकोज दिएर सहयोग गर्छन् । यी ठूला रूखको खाना साना बिरुवासम्म पुर्याउने कामचाहिँ माइकोराइजा भनिने ढुसीले गर्छ ।
साधारणतया वनस्पतिहरू आफू हुर्किंदा छिमेकी बिरुवालाई पनि सँगसँगै हुर्कन अनुरोध गर्छन् र हुर्किन सहयोग पनि गर्छन् । यसरी सबै बिरुवा सँगसँगै हुर्किंदा एकआपसमा कुराकानी गर्न, सहयोग लिन–दिन, खाना बनाउन र घाम ताप्न सजिलो हुन्छ ।
विडम्बना, वातावरणीय प्रदूषण र बढ्दो विश्व तापमानका कारण बोटबिरुवाले निष्कासन गरेका सन्देशमूलक रसायनहरू हावामा छिट्टै बिग्रन थालेका छन् । यसरी रसायन खराब हुनाले अभिव्यक्ति सही तरिकाले सम्प्रेषण नहुँदा ती बिरुवा आवश्यक सहयोग पाउन असमर्थ भइरहेका छन् ।
यस अवस्थामा शत्रु कीराको आक्रमणको खबर छिमेकी बिरुवाले पाउन नसक्नाले वरपरका सबै बोटबिरुवा संक्रमणमा परी सखाप हुनेसम्म भइरहेको छ । बिरुवामा लाग्ने शत्रु कीरामा आश्रित कीटपतंग वा चराचुरुंगी रासायनिक सन्देश बुझ्न नसकेर लोप भइरहेका छन् ।
बिरुवाका सन्देश बोकेका रसायनलाई बिगार्ने काम विशेष गरी वातावरणको तातोपना, पराबैजनी किरण आदिले गर्छन् । हामीले पहिले स्थानविशेषमा देख्दै आएका चराचुरुंगी र कीटपतंग अहिले त्यही ठाउँमा नदेखिनुको एउटा कारण पनि बिरुवाको अभिव्यक्ति ठीक तरिकाले सम्प्रेषण नहुनु नै हो ।
बिरुवाबारे गहिरिएर बुझ्न खोजे तिनको सन्देशको केही मेसो हामी पनि पाउन सक्छौं । सरकारी निकाय र किसानहरू धेरैजसो कृषि पकेट एरिया वा कुनै एक ठाउँलाई एकै प्रजातिको अन्नबाली मनोकल्चरका लागि विशेष क्षेत्रका रूपमा विकास गर्ने गलत अभ्यासमा छन् ।
गहन अध्ययनबिना स्थानीय प्रजातिका बालीबिरुवाको खेती त्यागेर नयाँ प्रजातिका बालीबिरुवा जस्तैड्रागन फ्रुट, किवीतिर आकर्षित भइरहेका छन् । यस्ता योजना ल्याउनुअघि इकोलोजीको राम्रो अध्ययन गर्नुपर्छ ।
प्राकृतिक अवस्थामा आफ्ना कुरा र रहनसहन मिल्ने विभिन्न प्रजातिका बोटबिरुवा समूहमा रहेर सँगसँगै हुर्कने–बढ्ने गर्छन् । साथै आफूलाई सहयोग गर्ने कीटपतंग, चराचुरुंगीसँग रमाउदै बस्न रुचाउँछन् । यसरी समूहमा मिलेर बस्दा तिनले आपसी सहयोगका कारण आफ्नो अस्तित्व लामो समयसम्म बचाइराख्न सक्छन् ।
मिलेर बस्दा विश्व तापमान वृद्धिको सामना गर्न पनि तिनलाई सहज हुन्छ । यही बुझेर विकसित देशहरूले औद्योगिक रूपमा मिश्रित खेती पर्माकल्चरको अवधारणा विकास गरिरहेका छन् । विगतमा नेपालमा पनि यस्तै मिश्रित खेती हुन्थ्यो र अन्नबालीलाई रोगले खासै सताउँदैनथ्यो । तर अहिले सबैतिर परिवर्तनको मात्रै हौवा छ । बोटबिरुवाका कुराकानी बुझ्न–बुझाउन सके वातावरण सन्तुलनमा सहयोग पुग्ने थियो । कान्तिपुर