अन्तराष्ट्रिय

भारत: प्रधानमन्त्री मोदीविरुद्धको अविश्वासको प्रस्ताव संसदबाट अस्वीकृत

भारतमा प्रधानमन्त्री नरेन्द्र मोदीको सरकारले संसद्मा विपक्षीले दर्ता गरेको अविश्वासको प्रस्तावलाई पराजित गरेको छ।  दुई राजनीतिक पक्षबीच तीन दिनसम्म चर्को रूपमा संसद्‌मा छलफल भएपछि आज उक्त प्रस्ताव असफल भएको हो।

Patanjali Nepal
SweetMart Nepal

विपक्षी दल कंग्रेसले प्रधानमन्त्री मोदीलाई मणिपुर राज्यमा भएको हिंसाबारे बोल्न बाध्य पार्न चाहेको बताएको थियो।  मणिपुरमा गत मे महिनामा दुई समुदायबिच झडपहरू सुरु भए पनि त्यो क्षेत्रमा मोदी अहिलेसम्म पुगेका छैनन् र उनले उक्त घटनाबारे आज मात्रै तल्लो सदन लोक सभामा सम्बोधन गरेका हुन्।

सम्बोधनमा विपक्षी दलको चर्को आलोचना गरेका उनले मणिपुर राज्यमा शान्ति कायम गराएरै छाडिने र त्यहाँ महिलाहरूमाथि अक्षम्य अपराध भएको भन्दै दोषीलाई कडा सजाय दिलाइने बताए।

संसद्‌मा जबाफ दिने क्रममा मोदीले विपक्षी गठबन्धनलाई घमण्डी गठबन्धन भन्दै अर्को वर्ष हुने चुनावमा उक्त गठबन्धन अझ कमजोर भएर जाने दाबी गरे। उनले चुनाव जित्नका लागि विपक्षीहरूले जनतामाथि नयाँनयाँ बोझ थोपरेको भन्दै अबको पाँच वर्षमा आफूले भारतलाई विश्वको तेस्रो अर्थ व्यवस्था बनाउने दाबी पनि गरे।

प्रधानमन्त्री मोदीले मणिपुर हिंसाका बारेमा टिप्पणी गर्नुअघि नै विपक्षी सांसदहरू बैठकबाट बाहिरिएका थिए। विपक्षी गठबन्धनप्रति मोदीले कठोर निसाना साँधिरहँदा उनीहरू एकसाथ बैठक हलबाट बाहिरिए।

त्यसपछि भारतीय प्रधानमन्त्रीले विपक्षीहरूले आफ्नो जबाफ सुन्ने धैर्य समेत नदेखाएको बताए। त्यसपछि मणिपुरको विषयमा बोलेका उनले मणिपुरको विषयमा मात्रै सरकार छलफल गर्न तयार भए पनि विपक्षीहरूले छलपूर्वक प्रस्ताव ल्याएको बताए।

उनले भने, देश तपाईँको साथमा छ। कोही यहाँ होऊन् या नहोऊन् हामी सबै मिलेर समाधान निकाल्छौँ। मणिपुरमा फेरि शान्ति हुने छ र त्यहाँ द्रुत गतिले विकास होस् भन्नका लागि कुनै कसर बाँकी राखिने छैन।

मणिपुरमा ‘भारत माताको हत्या गरिएको’ भन्ने विपक्षी नेता राहुल गान्धीको टिप्पणीप्रति मोदीले रोष व्यक्त गरे। उनको भनाइ थियो, सत्ता सुखबिना जिउन नै सकिँदैन कि क्या हो। किनकि केही मानिसले भारत माताको मृत्युको कामना गरिरहेका छन्। मोदीले आफूहरूका लागि उत्तर-पूर्वी भारत मुटुको टुक्रा भएको भन्दै कंग्रेसको पुरानो राजनीतिका कारण नै त्यहाँ समस्या देखिएको बताए।

राष्ट्रिय गान गाउन रोक लगाइनेदेखि पुस्तकालय जलाउनेसम्मका घटना मणिपुरमा हुँदा कंग्रेसको सरकार रहेको उनको टिप्पणी थियो।  राजनीतिको खेल खेल्न मणिपुरलाई प्रयोग गर्न नहुनेमा मोदीले जोड दिए। भारतीय प्रधानमन्त्रीले सम्बोधन सकेपछि उनका समर्थकहरूले ‘मोदी, मोदी’ भन्दै नाराबाजी गरेका थिए।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button