उत्पादक भन्छन् – ३ महीनालाई पुग्ने स्टक छ, तर किन बढ्यो चामलको भाउ ?
भारत सरकारले आन्तरिक बजारमा मूल्यवृद्धि रोक्ने उद्देश्यले जुलाई २० मा बासमती बाहेकका चामल निर्यातमा रोक लगाउने निर्णय गरेको थियो। त्यसको लगत्तै नेपालका खुद्रा बजारमा चामलको भाउ एकाएक बढ्न थाल्यो।
भारतले निकासी रोक्न लाग्यो भन्नासाथ थोक व्यापारीहरूले भाउ बढाइदिएको व्यापारीहरुले बताएका छन्। पच्चीस केजीको बोरामा ३०० रुपैयाँसम्म बढेको छ ।
चामल, धान उत्पादकहरूले चाहिँ आफूहरूले भाउ नबढाएको तर थोक विक्रेताहरूले बढाइदिएको हुनसक्ने बताएका छन्। उनीहरूले अहिले देशमा तीन महिनालाई पुग्ने भण्डार रहेको र त्यसपछि नयाँ धान बजारमा आउने समय हुने बताएका छन्।
हल्लाकै भरमा चामलको भाउ बढ्ने सम्भावनाका माझ सरकारले भारतसँग कुराकानी अघि बढाएको बताएको छ। सरकारले भारतसँग धान, चामल र गहुँ किन्ने भएको छ ।
नेपाल चामल दाल तेल उद्योग संघका पूर्वअध्यक्ष सुवोधकुमार गुप्ता यो आयात रोकिएको हल्लाले भाउ नबढेको बताउँछन् । धानको मूल्य बढेकाले चामलको मूल्य बढेको उनको दाबी छ । भारतबाट आउने धानको मूल्य किलोमै ८ रुपैयाँसम्म बढेको र त्यसको असर चामलको भाउमा पनि गएको गुप्ताले बताए ।
देशभित्र वार्षिक सरदर ५५ लाख मेट्रिक टनजति धान उत्पादन हुने गरेको सरकारी तथ्याङ्कले देखाउँछ। त्यसबाहेक केही लाख मेट्रिक टन धानचामल आयात गर्नुपर्ने अवस्था छ।
नेपाल चामल, दाल, तेल उत्पादक सङ्घका अनुसार वर्षमा झन्डै १५ लाख मेट्रिक टन धानका साथै अढाई लाख मेट्रिक टन चामल भारतबाट आयात गर्नुपर्ने अहिलेको अवस्था छ। त्यसरी आयात गरिएका धानमध्ये कतिपय चाहिँ कनिका, भुस, र ढुटो उत्पादनमा पनि प्रयोग हुने गर्छ।
नेपाल राष्ट्र बैंकले नियमित प्रकाशित गर्ने तथ्याङ्क हेर्दा असारमा सकिएको एक आर्थिक वर्षको ११ महिनामा झन्डै ३३ अर्ब रुपैयाँ बराबरको धानचामल आयात भएको देखिन्छ।
नेपालको कुल गार्हस्थ्य उत्पादनमा कृषिको योगदान २४ प्रतिशत वा झन्डै एक चौथाइ रहेको छ। कृषि क्षेत्रको गार्हस्थ्य उत्पादनमा धानको मात्रै योगदान १५ प्रतिशत रहेको छ।
अघिल्लो वर्ष साढे १४ लाख हेक्टर क्षेत्रफलमा धानको रोपाइँ भएको थियो । यस वर्ष तराईमा कम वर्षा भएकाले धान उत्पादन घट्ने अनुमान गरिएको छ ।