रोकिएन शेयरबजार घट्नेक्रम, यस कारण हुँदैछन् लगानीकर्ता प्यानिक
शेयर बजार घट्ने क्रम रोकिएको छैन । आइतवार नेप्से १ दशलमव ८३ प्रतिशत घटेर २ हजार ५१ दशमलव ४७ विन्दुमा झरेको छ ।
मौद्रिक नीतिमा शेयर धितो कर्जा, रियल स्टेट कर्जा तथा हायर पर्चेज कर्जाका विद्यमान जोखिम भारसम्बन्धी व्यवस्था पुनरावलोकन गरिने व्यवस्था उल्लेख भएपछि बढेको बजार भोलिपल्टदेखि घट्न थालेको हो । मौद्रिक नीति सार्वजनिक भएको दिन (यही साउन ७ गते) ६३ अंकले बढेको बजार त्यसयता १९३ अंकले घटिसकेको छ ।
मौद्रिक नीति सार्वजनिक पछिको पत्रकार सम्मलेनमा गभर्नर महाप्रसाद अधिकारीले शेयर धितो कर्जा प्रवाह गर्दा ५० लाख रुपैयाँसम्मको कर्जामा जोखिम भार सय प्रतिशत रहने व्यवस्था परिमार्जन गरिएको जानकारी दिएपछि बजार ओरालो लागेको हो । आइतवार बैंकहरूको वित्तीय विवरणले लगानीकर्तालाई तान्न नसके पनि आकर्षक नाफा कमाउने केही बैंकको शेयर मूल्य भने बढेको छ ।
बजार निरन्तर ओरालो लाग्दा लगानीकर्ता प्यानिक बनेका छन् । सोही कारण पनि कारोबार रकम बढेको देखिन्छ । अघिल्लो कारोबार दिन रू. १ अर्ब ७८ करोड बराबरको शेयर कारोबार भएकोमा आइतवार रू. २ अर्ब ६८ करोड बराबरको भएको हो ।