सिप्रबी सेक्युरिटिजको शाखा वीरगञ्जमा, शेयर शिक्षासम्बन्धी सामग्री निःशुल्क
सिप्रबी सेक्युरिटिजले मोफसलमा पहिलो शाखा वीरगञ्जमा विस्तार गरेको छ । शुक्रबार नेपाल उद्योग वाणिज्य महासंघ मधेस प्रदेशका अध्यक्ष अशोककुमार टेमानीले सो शाखाको औपचारिक उद्घाटन गरेका छन् ।
शेयर बजार पूँजी निर्माणको महत्वपूर्ण आधार भएको टेमानीले बताए । यसमा सानो लगानीमा पनि काम गर्न सकिने र सचेत भएर लगानी गर्दा नाफा कमाउन सकिने बताए ।
लाखौं लगनीकर्ताको भरोसाको क्षेत्र बनेको शेयर बजारप्रति सरकारी दृष्टिकोण अझै पनि नकारात्मक रहेको भन्दै उनले यस्तो दृष्टिकोणमा नै दोष रहेको दाबी गरे । सरकारले शेयरबजारप्रति राख्ने दृष्टिकोण पूर्वाग्रही र सत्यतामा आधारित नभएको उनले बताए । यस्तो धारणा सच्याउन पनि उनले आग्रह गरे ।
वीरगञ्जको रुंगटा कम्प्लेक्समा सञ्चालनमा आएको यो शेयर ब्रोकर कम्पनी वीरगञ्जमा भने चौथो हो । नासा सेक्युरिटिज, प्राइमो सेक्युरिटिज र भृकुटी सेक्युरिटिज यसअघि नै सञ्चालनमा आइसकेका छन् ।
सिप्रबीका महाप्रबन्धक जयन्त श्रीवास्तवले सो खाता खोल्नेलाई इमेलमार्फत शेयर बजारको शिक्षासम्बन्धी सामग्री उपलब्ध गराइने बताए । यस्तो सामग्री निःशुल्क हुने पनि उनले जानकारी दिए ।
टेलिफोनलेस यो शाखाले प्रविधिमा आधारित स्मार्ट सेवा प्रदान गरिने बताएको छ। यसका लागि इन्टरनेटमा आधारित गुगल, फेसबुक, भाइबर, ह्वाट्अपजस्ता सामाजिक सञ्जालको भरपूर उपयोग गरिने उनले बताए ।