बैंकले तपाईंलाई ठगिरहेको त छैन ? यसरी चल्छ वित्तीय ठगी
वाणिज्य बैंकहरुको स्वतन्त्र अडिट हुनुपर्ने माग, राष्ट्र बैंकको रहस्यमय मौनता
एउटा वाणिज्य बैंकले वीरगञ्जको एउटा कम्पनीको चल्ती खातामा निकै कम ब्याज क्रेडिट गर्यो । कम ब्याज आएको थाहा पाएपछि कम्पनीले बैंकमा यसबारेमा इन्क्वाइरी गर्यो । थाहा भयो कि, ब्याज हिसाब गर्दा प्राविधिक गल्तीका कारण यस्तो भएको रहेछ । जुक कुरा बैंकले पनि स्वीकार गरेको थियो ।
बैंकले हिसाबमा गडबडी भएको भन्दै मिलाउने आश्वान त दियो, तर विभिन्न बाहानामा आलटाल गरिरह्यो । बैंकमा व्यवस्थापकले ब्याज दिन नसकिने आशय व्यक्त गर्न थालेपछि कम्पनीले पनि दबाब बनाउन थाल्यो । कम्पनीले निकै दबाब दिएपछि बैंकले वास्तविक ब्याजको एक तिहाईमात्र दिन सकिने बतायो । कम्पानी त्यही रकममा चित्त बुझाएर ‘निगोसिएट’ गर्न बाध्य भयो ।
ठगीको अर्को उदाहरण, एक जना ग्राहकले वीरगञ्जको एउटा वाणिज्य बैंकमा १३ प्रतिशतमा मुद्दति निक्षेप राखेका थिए । पैसा निकाल्ने बेलामा ११ प्रतिशतमात्र दिन सकिने अडान बैंकमा मेनेजरले लिए । ग्राहकले ती मेनेजरको कलर समातेर लछारपछार गरेर बाबल गर्ने धम्की दिएपछि भोलिपल्टै बोलाएर सबै रकम चुक्ता गरिदिए । यी बैंकले गरेका मनोमानीका सार्वजनिक नभएका तर, भित्रभित्रै भुसको आगो झै फैलिएका घटनाहरु हुन् ।
बैंकका सचेत ग्राहकहरु यसलाई बैंकको ठगीको संज्ञा दिन्छन् । उनी भन्छन्, ‘यो त उजागर भएको तथ्यमात्रै हो । ग्राहकलाई थाहा नभएका यस्ता ठगी कति छन् कति ।’
‘केही सचेत ग्राहकले बैंकले दिने र काट्ने रकमका बारेमा चासो राखे पनि अधिकांशले वास्तै नगर्ने भएकाले बैंकहरुले आफ्नो ठगी धन्धालाई निरन्तरता दिन सजिलो भएको छ,’ एक जना व्यवसायीले बताए । बैंकहरुले गर्ने यस्तो ठगी नियन्त्रणमा सरोकारका निकायले ध्यान दिनुपर्ने माग निजीक्षेत्रको छ । नेपाल राष्ट्र बैंकले यसमा पहल गर्नुपर्ने निजीक्षेत्रमा अगुवाहरुको सुझाव छ ।
वित्तीय करोबारलाई अनुशासित र मर्यादित बनाउन अनेक नीति नियम ल्याउने राष्ट्र बैंकले बैंकहरुको स्वतन्त्र अडिट गराउनुपर्ने र ग्राहकलाई दिनुपर्ने ब्याज नदिने र शुल्कमा नाममा खाताबाट मनपरी रकम काट्ने बैंकलाई कारवाही गरिनुपर्ने निजीक्षेत्रका एक अगुवाले बताए । प्रत्येक बैंकको खर्च र आम्दानीको अडिट हुनेवित्तिकै ग्राहक ठग्ने बैंकहरुको कर्तुत बाहिर आउने दाबी उनको छ ।
बैंकहरुले ग्राहकको खातामा शर्तअनुसार ब्याज रकम जम्मा नगरिदिने, अनेक सेवा शुल्कका नाममा मनोमानी रुपमा रकम काट्ने, कर्जामा शर्तभन्दा बाहिर गएर प्रिमियम र ब्याज दर बढाउनेजस्ता अराजकता मच्चाएको व्यापारीहरु बताउँछन् ।
बैंकबाट २/४ रुपैयाँ काटेका म्यासेजमा ग्राहकले उतिसारो ध्यान दिँदैनन् । यतिसम्म कि बैंकले दिने ब्याजमा पनि ग्राहक विश्वास गर्छन् । यसको गलत फाईदा बैंकहरुले उठाइरहेका छन् ।
बैंकहरुको यस्तो मनपरी र ठगी नियन्त्रण गरेर बैंकका ग्राहकको हित रक्षा गर्नु पनि राष्ट्र बैंकको दायित्व हो । ऋणीलाई च्याप्न रातारात नयाँनयाँ नियम निर्देशन जारी गर्ने राष्ट्र बैंक यस्तो ठगीको बारेमा बेखबरजस्तै रहनुलाई उद्योगी व्यापारीले रहस्यको रुपमा लिएका छन् ।