अन्तराष्ट्रिय

नीजेरमा राष्ट्रपतिलाई बन्धक बनाएर कू, पार्टी मुख्यालयमा आक्रमण

नीजेरमा राष्ट्रपतिलाई अपदस्थ गरिएपछि उक्त कदमका समर्थकहरूले राष्ट्रपतिको दलको मुख्यालयमा आक्रमण गरेका छन्। उनीहरूले त्यहाँ ढुङ्गामुढा गर्नुका साथै भवन तथा र सवारीसाधनहरूमा आगजनी पनि गरे।

Patanjali Nepal
SweetMart Nepal

विद्रोही नेताहरूको समर्थनमा संसद्‌बाहिर भेला भएका मानिसहरूको भिडबाट निस्किएको एउटा समूहले आगजनी गरेको थियो। संसद् भवनबाहिर रुसको झण्डा प्रदर्शन गरिएको थियो।

बुधवार राष्ट्रपति मोहम्मद बाजूमलाई बन्धक बनाउने सैन्य समूहलाई पछि सेनाले पनि समर्थन दिने बतायो। रुसले पनि अन्य देश तथा संयुक्त राष्ट्रसङ्घले जस्तै बाजूमको रिहाइको माग गरेको छ।

दुई वर्षअघि नीजेरको राष्ट्रपतिमा निर्वाचित भएका ६४ वर्षीय बाजूम पश्चिम अफ्रिकामा इस्लामिक लडाकुहरूविरुद्ध जारी लडाइँमा पश्चिमी मुलुकलाई सहयोग गर्ने प्रमुख पात्र हुन्।

नीजेरमा यूरेनिअम खानी छ। त्यहाँ पूर्वऔपनिवेशिक शक्ति अमेरिका र फ्रान्स दुवैका सैन्य शिविरहरू छन्। ती दुवैले अहिलेको ‘कू’ को निन्दा गरेका छन्।

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्कनले बाजूमलाई वाशिङ्टनले ‘अटुट समर्थन’ गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। संयुक्त राष्ट्रसङ्घले नीजेरमा आफ्नो मानवीय सहायता कार्य स्थगन गरेको जनाएको छ। ‘कू’ कै कारण सहायता रोकिएको हो वा होइन भन्ने चाहिँ स्पष्ट छैन।

राष्ट्रसङ्घले यसअघि नीजेरमा ४० लाखभन्दा बढी मानिसलाई मानवीय सहायता आवश्यक रहेको बताउँदै आएको थियो।

बिहीवार संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरसले राष्ट्रपति बाजूमलाई “तत्काल र बिनासर्त” रिहा गर्नु पर्ने माग अघि सारे।

बाजूमले आफूविरुद्ध चालिएको कदमको अवज्ञा गर्दै बिहीवार बिहान ट्विटरमा लेखेका छन्ः “कठिन सङ्घर्षपछि प्राप्त उपलब्धिहरूको रक्षा गरिने छ। प्रजातन्त्र र स्वतन्त्रतालाई माया गर्ने सबै नीजेरी जनताहरूले त्यो देख्न पाउने छन्।”

उनका विदेशमन्त्रीले पनि समर्थन जुटाउने र वार्ताका लागि आग्रह गर्ने प्रयास गरिरहेका छन्। यद्यपि सेनाप्रमुखले सशस्त्र बलभित्र झडपको अवस्था सिर्जना नहोस् भन्ने उद्देश्यले आफूले सत्तापलटको समर्थन गरेको तर्क गरेका छन्।

राष्ट्रपतिलाई सत्ताच्युत गर्ने सैन्य पक्षले आफ्नो नेता घोषणा नगरेकाले अहिले नीजेर कसको नेतृत्वमा छ भन्ने स्पष्ट छैन।

त्यहाँको सरकारी टीभीले देशभक्ति झल्काउने सङ्गीत र कुरानका श्लोकहरू (आयत) सहित बुधवार राति अबेर भएको ‘कू’ को घोषणा दोहोर्‍याउँदै प्रसारण गरिरहेको छ।

कू घोषणा भएपछि टेलिभिजनले नियमित समाचार बुलेटिन प्रसारण गरेको थिएन।  बीबीसी

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button