ट्विटर चलाउनु हुन्छ ? अब हुँदैछ यस्तो परिवर्तन

ट्विटरले आफ्नो ब्रान्ड र लोगो परिवर्तन गर्ने क्रममा निलो चरोबाट एक्स “X” बनाएको छ।



कालो पृष्ठभूमिमा रहेको नयाँ सेतो X उक्त सामाजिक सञ्जालको डेस्कटप संस्करणमा देखिन थालिसकेको छ भने मोबाइलमा भने अझै त्यो देखा परिसकेको छैन। ट्विटरका मालिक इलोन मस्कका अनुसार अब पोस्टहरूलाई समेत “ट्विटहरू” को साटो “x’s” भनिनेछ।



यी अर्ब पतिले आफ्नो प्रोफाइल तस्बिर परिवर्तन गरेका छन् र आफ्नो बायोमा एक्सडटकम लेखेका छन्।



मस्क एक्स भनिने एउटा “सुपर एप” बनाउन चाहन्छन्। आफ्नो दृष्टिकोणसहितको त्यस्तो नयाँ प्रकारको सामाजिक सञ्जाल मञ्च जुन निर्माणका लागि आफूले महिनौँदेखि काम गरिरहेको उनले बताउँदै आएका थिए।
आइतवार यी अर्ब पतिले ट्विटरको लोगो परिवर्तन गर्ने सोचिरहेको बताएका थिए। जस क्रममा उनले ट्विट गर्दै लेखेका थिए, र छिट्टै हामीले ट्विटर ब्रान्डलाई र क्रमैसँग सबै चराहरूलाई बिदा हुन भन्नेछौँ।
उनले त्यसपछि नयाँ X ब्रान्डलाई सान फ्रान्सिस्कोस्थित ट्विटर मुख्यालयको एकातर्फको भित्तोमा ठूलो देखिने गरी झल्काए।
मस्कले आफ्नो व्यवसायको नामलाई परिवर्तन गरेर एक्स कोर बनाएका छन्। जुन परिवर्तनलाई उनले “लामो समय अगाडि हुनुपर्ने” बताएका छन्।
उनले ढल्किएको X को एक तस्बिर ट्विटरमा राखे र पछि ट्विटर स्पेसको अडियो च्याटमा के ट्विटरको लोगो परिवर्तन हुनेछ भन्ने जिज्ञासामा ‘हो’ भने।
ट्विटरकी नयाँ प्रमुख कार्यकारी लिन्डा याकारिनोले आफ्नो सामाजिक सञ्जालमा लेख्दै ब्रान्डलाई पुनःसंरचना गर्नु एउटा रोचक नयाँ अवसर भएको बताइन्।
ट्विटरले एउटा विशाल छाप पारेको छ र हाम्रो संवाद गर्ने तरिकालाई त्यसले परिवर्तन गरेको छ, उनले भनिन्, “अब एक्स थप अगाडि जाने क्रममा ग्लोबल टाउन स्क्वायरलाई परिवर्तन गर्नेछ।
सन् २०११ मा ट्विटरका सह संस्थापक बिज स्टोनले त्यस चरालाई ल्यारी भनिने बताएका थिए। जुन चर्चित बास्केटबल खेलाडी र बोस्टन सेल्टिक टिमका प्रभावशाली अनुहार ल्यारी बर्डप्रतिको सम्मानमा राखिएको थियो।
उक्त लोगो हटेको विषयलाई लिएर मानिसहरूले ट्विटरमा दुःख पोखिरहेका छन्। त्यसो गर्नेमा सन् २०१२ मा त्यसलाई डिजाइन गर्ने मार्टिन ग्रासर समेत छन्।
उनले भने, आज हामीले यो महान् निलो चरोलाई बिदाइ भन्यौँ। पछि उक्त ट्विटलाई ट्विटरका सबैभन्दा चर्चित सह संस्थापक ज्याक डोर्सीले बाख्राको इमोजिसाथ सेअर गरे जसको अर्थ ‘ग्रेटेस्ट अफ अल टाइम’ हुन्छ।