चाचान समूहले ल्यायो मनोरञ्जनको पूर्ण प्याकेजसहितको थ्रिल फ्याक्ट्री (भिडियो)
चाचान समूहले वीरगञ्ज–पथलैया कोरिडोरस्थित चैनपुरमा मानोरञ्जनको पूर्ण प्याकेजसहितको थ्रिल फ्याक्ट्री सञ्चालन गरेको छ । दशकौंदेखि उद्योग र व्यापारका अन्य आयामहरुमा सक्रिया यो समूहले विगत करीब १ वर्षयता मनोरञ्जन उद्यममा लगानी बढाएको हो ।
वीरगञ्जमा पर्यटन प्रवद्र्धनको उद्देश्यबाट मनोरञ्जनको पूर्ण प्याकेजसहितको थ्रिल फ्याक्ट्री सञ्चालन गरिएको चचान समूहका निर्देशक निखिल चाचानले जानकारी दिए । यसअघि थ्रिल फ्याक्ट्रीमा इनडोर पार्क, वाटर पार्क सञ्चालनमा ल्याएको थियो । पछिल्लो पटक थ्रिल अफरोड ट्रयाक थपिएको हो ।
अफरोड ट्रयाक र त्यससम्बन्धी सुरक्षा सावधानीको मापदण्डअनुसार तयार पारिएको यो नेपालमै पहिलो अफरोड ट्रयाक भएको समूहले बताएको छ ।
थ्रिल अफरोड ट्रयाक थपिएपछि मनोरञ्जनका लागि इनडोर र आउटडोरमा पूर्ण प्याकेज तयार भएको सञ्चालक चाचानले जानकारी दिए । चाचान समूहले यसमा अहिलेसम्म १७ करोड रुपैयाँ लगानी गरिसकेको छ ।
यो समूहले सञ्चालनमा ल्याएको वाटरपार्क मधेसमै पहिलो हो । यसमा वेभ पुल (समुद्री छालको अनुभूति हुने पुल), जाकुजी (पानीबाट हुने मसाज), ट्युव स्लाइड, स्विमिङ पुललगायतका मनोरञ्जनात्मक क्रियाकलाप समेटिएका छन् ।
इनडोर पार्कमा ट्रेम्प्लिङ, गो कार्टिङ, रोप कोर्स, जीप साइकललगायत मनोरञ्जनका ३ दर्जन क्रियाकलाप सञ्चालनमा छन् । थ्रिल फ्याक्ट्री परिसरमै रेष्टुराँ र संगीतका पारखीहरूका लागि कारोके रुम पनि सञ्चालनमा ल्याइएको समूहले बताएको छ ।
‘औद्योगिक शहर वीरगञ्जमा मनोरञ्जनस्थलहरूको कमी थियो । यो कमीलाई पूर्ति गर्ने उद्देश्यले थ्रिल फ्याक्ट्री इनडोर पार्क शुरू गरेका थियौं । त्यसको केही समयपछि वाटर पार्क सञ्चालनमा ल्यायौं । भर्खरै अफरोड ट्रयाक शुरु भएपछि मनोरञ्जनको पूर्ण प्याकेज तयार भएको छ,’ उनले भने । गत बैशाखमा थ्रिल फ्याक्ट्रीमा वाटर पार्क थपिएको थियो ।
पारिवारिक र समूहिक रुपमा हुने सबै खालका भ्रमणलाई लक्षित गरेर थ्रिल फ्याक्ट्रीले सेवा प्रदान गरेको चाचानले जानकारी दिए । ‘थ्रिल फ्याक्ट्रीमा अब बालबालिकादेखि वयस्कसम्मलाई मनोरञ्जनको पूर्ण पूर्वाधार तयार भएको छ,’ उनले थपे ‘वीरगञ्ज भन्नेबित्तिकै उद्योग, व्यापार, भन्सार नाकामात्रै बुझ्ने गरिएको छ । अब यो चिनारी फेर्नु पर्दछ । यो शहरलाई मनोरञ्जनको हब बनाएर पर्यटक आकर्षित गर्न सकिन्छ ।’
थ्रिल अफरोड उबडखावड बाटोमा गाडी चलाएर मनोरञ्जन लिन चाहानेहरूलाई लक्षित गरेर २ विघा क्षेत्रफलमा ट्रयाक तयार पारिएको हो । यसमा अहिले विभिन्न प्रकारका ६ ओटा गाडी राखिएका छन् । निकट भविष्यमा गाडी थप्ने योजना चाचानले सुनाए ।
थ्रिल फ्याक्ट्रीमा बितेको १० महीनामा ५० हजार जनाले भिजिट गरिसकेको समूहले बताएको छ । पर्सा, बारा, रौतहट, सर्लाही, मकवानपुर, चितवन र छिमेकी देश भारतका पर्यटकहरू बढी आउने गरेका छन् ।