जमैकासँग फ्रान्स बराबरीमा रोकियो
फिफा महिला विश्वकप फुटबल २०२३ मा फ्रान्स जमैकासँग रोकिएको छ । फ्रान्स जमैकासँग गोलरहित बराबरीमा रोकिएको हो ।
सिड्नी फुटबल स्टेडियम सिड्नी अष्ट्रेलियामा आइतबार भएको खेलमा फ्रान्सले ७२ प्रतिशत बल पोसेसन राख्दै जमैकालाई दवावमा राखेपनि गोल गर्न नसक्दा अंक बाड्न बाध्य बन्यो । फ्रान्सको हरेक आक्रमणमा जमैकाकी गोलरक्षक रेविका स्पेन्सर बाधक बनिन् ।
इन्ज्युरी समयमा जमैका १० खेलाडीमा समेटिन पुग्यो । इन्ज्युरी समयको थप गरिएको दोस्रो मिनेटमा खादिजा सा दोहोरो पहेलो कार्ड खाँदै मैदानबाट बाहिरिदा जमैका १० खेलाडीमा समेटिन पुग्यो । तर, त्यसको फाइदा फ्रान्सले उठाउन सकेन ।
यस बराबरीसँगै समूह ‘एफ’ मा फ्रान्स र र जमैकाले समान १ अंक जोडेका छन् । यो समूहमा ब्राजिल र पानमाले कुनै खेल खेलेको छैन ।
विश्वकपमा सोमबार तीन खेलमा प्रतिस्पर्धा हुँदैछ । समूह ‘एफ’ मा ब्राजिल पानमा, समूह ‘जी’ मा इटाली र अर्जेन्टिना तथा समूह ‘एच’ मा जर्मनी र मोरोक्कोबीच प्रतिस्पर्धा हुनेछ ।
न्युजिल्यान्ड र अष्ट्रेलियाको विभिन्न ९ स्थानमा आगामी २० अगस्टसम्म चल्ने महिला विश्वकपमा ३२ टोलीको सहभागिता रहेको छ । सहभागी टोलीलाई ८ समूहमा विभाजन गरिएको छ । हरेक समूहका शीर्ष दुई टोली प्रि–क्वाटरफाइनलमा पुग्नेछ । फाइनल सिड्नीस्थित एकर स्टेडियम (स्टेडियम अष्ट्रेलिया) मा हुनेछ ।