खुकुलो मौद्रिक नीतिको आशमा बढ्दैछ शेयर बजार, होला त अपेक्षा पूरा ?
वित्तीय प्रणालीमा अधिक मात्रामा तरलता रहेपछि त्यसको सकारात्मक प्रभाव शेयर बजारमा परेको देखिएको छ ।
अधिक तरलताकै कारण महँगो ब्याजदर पनि घटिरहेको छ । यस कारण पनि आगामी दिनमा शेयर बजारमा सकारात्मक प्रभाव पर्ने जानकारहरू बताउँछन् ।
त्यस्तै वित्तीय प्रणालीमा अधिक तरलता भएकाले राष्ट्र बैंकले कर्जा प्रवाह हुने गरी केही लचक मौद्रिक नीति ल्याउने अपेक्षामा पनि लगानीकर्ता सकारात्मक भएको देखिन्छ ।
बजार बढ्न थालेसँगै लगानीकर्ताहरू सक्रिय हुन थालेका छन् । सोही कारण परिसूचसँगै कारोबार रकम बढेको छ । मंगलवार नेप्से परिसूचक ९ दशमलव ९१ अंक बढेर २ हजार १५४ दशमलव ०७ विन्दुमा पुगेको हो ।
लगातार तीन दिनसम्म नेप्से परिसूचक बढेर बन्द भएको छ । राष्ट्र बैंकका अधिकारीहरुले सबैलाई सहज हुने गरी नीति ल्याउने बताए पनि केही विज्ञहरुले अझै केही समय कसिलो नीतिको खाँचो औंल्याएका छन् । राष्ट्र बैंकले कस्तो नीति ल्याउने हो यो भने प्रतीक्षाको विषय बनेको छ ।