कला/साहित्य

यसरी रचियो ‘गरिबको चमेली’

विसं २०२३ सालतिर बनेको एउटा साङ्गीतिक टोलीको नाम थियो – राल्फा समूह। त्यसका सदस्य थिए – मेघराज शर्मा नेपाल मञ्जुल, हरि श्रेष्ठ नोरेम, खगेन्द्र बस्नेत सिमोस, निरञ्जन चापागाई निनु, नारायणभक्त श्रेष्ठ रायन, रामेश्वर श्रेष्ठ रामेश, अरुण ऋषि मनोज अरिम लगायत।

Patanjali Nepal
SweetMart Nepal

त्यसका सदस्यहरूका भनाइमा राल्फा समूहले त्यस बेलाको पञ्चायती व्यवस्थाविरुद्ध गाउँगाउँ गएर गीतको माध्यमबाट जागरण फैलाउने काम गर्थ्यो। सँगसँगै लोकगीत र त्यसका लयलाई पनि सङ्कलन गरिरहेको थियो।

त्यसैक्रममा विसं २०२८ सालतिर उक्त समूहका दुईजना सदस्यहरू मञ्जुल र रामेश काठमाडौंबाट निस्किएर पूर्वाञ्चलतर्फ लागेका थिए।

एकदिन उनीहरू रामेछापको मन्थलीस्थित मुगीटारमा बास बसे। भोलिपल्ट मुगीटारको चौतारोमा उनीहरूले गीत गाए। हामीले गीत गाउँदै गर्दा त्यहाँका मानिसहरूले हामीलाई एकजना सानी नानीलाई देखाउँदै यीनले पनि राम्रो गीत गाउँछिन् भने, पाँच दशकअघिको घटना स्मरण गर्दै रामेशले भने।

हामीले फकाइफुल्याइ ती नानीलाई गीत गाउन लगायौँ। उनले दुईवटा हँसिया ठोकठाक गरेर ताल निकाल्दै लोकभाकामा गीत गाइन्।

उनले गाएको गीतमा शब्दहरू प्रेमसँग सम्बन्धित थिए। त्यो भाका रामेश र मञ्जुललाई मन पर्‍यो। उनीहरूले त्यसलाई टिपोट गरे। अनि, बाटो लागे।

रामेश भन्छन्, पछि हामीले त्यो भाकामा आफ्नै शब्दहरू राखेर गरिबको ‘चमेली बोल्दिने कोही छैन’ गीत लेख्यौँ। मैले त्यसमा सङ्गीत भरेँ।

पञ्चायत ढलेर देशमा प्रजातन्त्र आएपछि विसं २०५० को दशकमा बनेको चलचित्र बलिदानमा उक्त गीत समावेश भयो। चलचित्रमा समावेश हुँदा राल्फा समूहमा पहिले गाउने केही गायक छुटे भने केही नयाँ थपिए।

रामेशका भनाइमा पहिले गाउँगाउँमा चर्चित भएको उक्त गीत चलचित्रमा आएसँगै विभिन्न सञ्चारमाध्यममा प्रसारण हुन थाल्यो र थप चर्चित भयो।

त्यसयता लगातार विभिन्न आन्दोलनमा उक्त चलचित्रमा समावेश भएका जनवादी गीतहरू बज्ने गरेका छन्। त्यसमध्ये एउटा यो पनि सधैँ पर्ने गरेको रामेश बताउँछन्।

उनका भनाइमा उक्त गीतमा समावेश चमेली शब्द कुनै पात्रलाई लिएर भन्दा पनि लयमा रहेको थेगोलाई टिपेर राखिएको हो। विशेषगरी गाउँगाउँबाट उठ बस्तीबस्तीबाट उठ र गरिबको चमेली बोल्दिने कोही छैन जस्ता गीतहरू विभिन्न आन्दोलन र विरोध प्रदर्शनमा निकै प्रयोग हुने गरेका छन्।

‘जनवादी भनेर चिनिएका भए पनि यस्ता गीतहरू सबैखाले विचार वा मत राख्नेहरूले विरोध जनाउने क्रममा वा मानिसलाई विरोधका लागि आकर्षित गर्ने क्रममा प्रयोग गर्ने गरेका छन्।

त्यसको सम्भावित कारणबारे काठमाडौं विश्वविद्यालयको सङ्गीत विभागका प्रमुख लोचन रिजाल भन्छन्, सङ्गीतको शक्तिले जनतालाई सहजै प्रभावित पार्न सकिन्छ भनिन्छ। त्यसैले पनि धेरैले विरोध गर्नका लागि जनताको तत्कालै मन छुने गीतको सहारा लिएका होलान् जस्तो लाग्छ।

उनका अनुसार नेपालमा अहिले पनि गरिबी धेरै भएको तथा भुइँमान्छेहरूले आफ्नो बोलिदिने कोही नभएको महसुस गरेकाले यस्ता गीतहरू प्रयोग भइरहेका हुनसक्छन्।

रिजाल आजभन्दा पाँच दशकअघि कुनै पनि सर्जकले गीतको रचना गर्दा त्यसबेलाको परिप्रेक्ष र त्यसै बेलाका लागि समयसापेक्ष हुनेगरी गीत लेखेको हुनसक्ने ठान्छन्। तर आजका दिनसम्म पनि अवस्था नफेरिएकाले ती गीतहरू विरोधका लागि अझ सान्दर्भिक बनेका हुन्।

जनवादी गीत भनौँ वा जे भनौँ त्यसबेला सर्जकले मान्छेको बोली बोलेको हुनुपर्छ र अहिले पनि नेपालमा त्यस्तै अवस्था रहिरहेकाले पनि हो जस्तो लाग्छ, उनी भन्छन्।

रामेश चाहिँ उक्त गीत गरिबहरूमाथि भइरहेको अन्यायबारे उनीहरूलाई नै बोध गराउन र कसरी न्याय हुन्छ भनेर जागरुक गराउन लेखिएको बताउँछन्। गीतका सुरुका आठ हरफले गरिबमाथि भइरहेको थिचोमिचोबारे चेतना जगाउने र अन्तिम दुई हरफले त्यस्तो थिचोमिचो कसरी अन्त्य हुन्छ भन्ने सन्देश दिने उनको भनाइ छ।

त्यस्ता सन्देशहरू आजका दिनमा पनि आश्यक पर्ने भएकाले यो गीत विरोध प्रदर्शनमा प्रयोग भएको हुनसक्ने उनी ठान्छन्।

रामेशका भनाइमा आफू र मञ्जुलले पाँच दशकअघि रामेछापमा लोकभागामा गीत गाउने ती बालिकालाई नभेटेको भए सायद यो गीतको रचना हुने थिएन। यद्यपि जीवनको आठ दशक टेकेका यी गायकले त्यसपछि कहिल्यै पनि ती बालिकालाई भेट्न पाएनन्।

आज पनि उनलाई ती नानी कहाँ होलिन् र कस्ती भइन् होला जस्तो लाग्छ। कुनै पनि विरोध प्रदर्शन वा आन्दोलनको खबर आउँदा होस् वा अन्यत्र नै किन नहोस् गरिबको चमेली बोल्दिने कोही छैन को धून बज्ने बित्तिकै उनका कानमा तिनै बालिकाले हँसिया जुधाएर निकालेको ट्वाकट्वाक आवाज गुञ्जिन्छ।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button