No Image Headlineदेशमुख्य खबर

नेपाल मनसुन कतै बाढी पहिरोको पीडा, कतै सुक्खाले सास्ती

पूर्वी नेपालका विभिन्न जिल्लामा बाढी तथा पहिरोमा परेर चार जनाको मृत्यु हुनुका साथै २८ जना हराइरहेको नेपाल प्रहरीले जनाएको छ।

Patanjali Nepal
SweetMart Nepal

प्रभावित जिल्ला तथा स्थानीय तहका अधिकारीहरूले बाढीपहिरोले सडक तथा पुल जस्ता पूर्वाधारमा क्षति पुर्‍याएको जानकारी दिएका छन्। उनीहरूले पनि बेपत्ताहरूको खोजीका लागि आवश्यक सबै खाले पहल जारी राखेको जनाएका छन्।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बाढीपहिरो प्रभावित क्षेत्रमा हराइरहेका मानिसहरूको तत्काल खोजी तथा उद्धार र राहतका लागि सक्रियतापूर्वक लाग्न अधिकारीहरूलाई निर्देशन दिएका छन्।

नेपाल प्रहरीको कोशी प्रदेश प्रहरी कार्यालयका अनुसार संखुवासभा, ताप्लेजुङ, पाँचथर र भोजपुरमा गरी चार जनाको मृत्यु भएको हो। मृत्यु हुनेमा एक महिलासहित ३ जना पुरुष रहेका छन् ।

कोशी प्रदेशका प्रहरी प्रवक्ता प्रहरी उपरीक्षक ऋषिराम कँडेलका अनुसार बेपत्ता हुनेमा पाँचथरमा पाँच, ताप्लेजुङमा तीन र सङ्खुवासभामा २० जना रहेका छन्।

बेपत्ता हुनेमा सङ्खुवासभामा निर्माणाधिन सुपरहेवा जलविद्युत आयोजनाका १७ जना कामदार रहेका छन्।

सुतिरहेको अवस्थामा खोलामा आएको बाढीले उनीहरूलाई बगाएको हुनसक्ने सङ्खुवासभाका सहायक प्रमुख जिल्ला अधिकारी मोहनमणि घिमिरेले बीबीसीलाई बताए । बाढीले उक्त जलविद्युत् आयोजनामा समेत क्षति भएको बताइएको छ।

पाँचथरको हेवा खोलामा आएको बाढीमा परेर हिलिहाङ गाउँपालिकाका तीन जना र फिदिम नगरपालिकाका दुई जना बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायब उपरीक्षक हरि खतिवडाले जानकारी दिए।

बाढीले मेची राजमार्गअन्तर्गत पाँचथर र ताप्लेजुङ जाने बाटोमा पर्ने हेवा खोलाको पुल पनि बगाएको छ। त्यो सँगै उक्त राजमार्ग अवरुद्ध भएको छ।

ताप्लेजुङका प्रहरी नायब उपरीक्षक राजन लिम्बुका अनुसार सिदिङ्वा गाउँपालिकाका एकै घरका तीन जना र अर्का एक जना बेपत्ता भएका छन्।

ताप्लेजुङकी प्रमुख जिल्ला अधिकारी गोमादेवी चेम्जोङले वर्षाका कारण बेपत्ताको खोजी तथा उद्धारमा कठिनाइ भइरहेको तर त्यसका लागि जनशक्ति परिचालन गरिएको जानकारी दिइन्। त्यस्तै सङ्खुवासभाको सभापोखरीमा गोठघर भत्किँदा दुई जना बेपत्ता भएका छन्।

यसैबीच सङ्खुवासभाको हेवाखोलामा बाढीले पुर्‍याएको क्षतिबारे प्रधानमन्त्री प्रचण्डलाई उक्त जिल्लाका सांसदको नेतृत्वको टोलीले ध्यानाकर्षण गराएको छ।

सङ्खुवासभाका प्रतिनिधिसभा सदस्य दीपक खड्का नेतृत्वको टोलीले आइतवार बिहान दाहाललाई भेटेर ध्यानाकर्षण गराएको राससले जनाएको छ। दाहालले खोजी तथा उद्धार र राहतका लागि पहल गर्ने उनीहरूलाई आश्वासन दिएका थिए।

प्रहरीका अनुसार सङ्खुवासभाको पाँचपखन नगरपालिका(५ स्थित हेवा खोलामा एक युवकको शव पनि फेला परेको छ। अधिकारीहरूले बेपत्ताको सङ्ख्या धेरै देखिए पनि हालसम्म एक जनाको मात्र मृत्यु पुष्टि भएको बताएका छन्।

यसैबीच प्रधानमन्त्री दाहालले पूर्वी नेपालका विभिन्न जिल्लामा बाढी पहिरोबाट बेपत्ता नागरिकको खोजी, उद्धार एवं राहतमा सक्रियतापूर्वक लाग्न निर्देशन दिएको जनाएका छन्। प्रधानमन्त्रीको ट्विटरमार्फत् उनले त्यस्तो निर्देशन दिएको जानकारी दिइएको छ।

दाहालले बाढी प्रभावितको उद्धारमा जुट्न सुरक्षा अङ्ग, राष्ट्रसेवक कर्मचारीलाई निर्देशन दिँदै उक्त अभियानमा सहयोग गर्न आम जनसमुदायलाई पनि अपिल गरेका छन्।

उनले बाढीपहिराका कारण भएको धनजनको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेको उक्त ट्वीटमा जनाइएको छ।

गृह मन्त्रालयको विपद् तथा द्वन्द्व व्यवस्थापन महाशाखाका प्रमुख सहसचिव महादेव पन्थले पनि बाढीपहिरो गएको क्षेत्रमा उद्धार तथा राहतको काम सुरु भइसकेको बताए।

उनले भने, हामीले सम्बन्धित जिल्ला तथा स्थानीय तहसँग समन्वय गरेर कर्मचारी तथा सुरक्षाकर्मीहरू परिचालन गरिसेका छौँ।

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशको पूर्वी तथा मध्य भू–भागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ। बाँकी भू–भागमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव परेको छ।

आइतवार दिउँसो कोशी र गण्डकी प्रदेशका पहाडी भू–भागका केही स्थानमा, कोशी प्रदेशका तराईका साथै देशका बाँकी पहाडी भेगका केही स्थान र देशका बाँकी तराई भागका एकाध स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

कोशी र गण्डकी प्रदेशको एकाध स्थानमा भारी वर्षाको सम्भावना रहेको छ महाशाखाले जनाएको छ।

यता मध्य तराईमा पर्ने मधेस प्रदेशमा अध्याधिक गर्मी र सुक्खाका कारण जनजीवन प्रभावित भएको छ । चर्को घाम र गर्मीका कारण धारा सुकेर ठाउँठाउँमा खानेपानीको समस्या देखिएको छ ।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button