नेपाली क्रिकेट समर्थकलाई निराश नपार्न क्यानले लेख्यो आईसीसीलाई पत्र
जिम्बाब्वेमा अर्को हप्ताबाट सुरु हुन लागेको आईसीसी विश्वकप ग्लोबल छनोट क्रिकेटमा नेपालले समूह चरणमा खेल्ने चार खेलमध्ये दुई खेलको टेलिभिजनमा प्रत्यक्ष प्रसारण नहुने भएको छ।
प्रतियोगिताको आधिकारिक प्रसारक स्टार स्पोर्टसले लिग चरणको सबै खेल नभई महत्त्वपूर्ण खेलहरूको मात्र टेलिभिजनमा प्रसारण गर्न लागेको हो।
त्यसमा नेपालले खेल्ने अमेरिका र नेदरल्यान्ड्स विरुद्धको खेलको प्रत्यक्ष प्रसारण नहुने तालिका सार्वजनिक भएको छ।
प्रतियोगिताको उद्घाटन खेलको रूपमा रहेको आयोजक जिम्बाब्वे र नेपाल अनि नेपाल र वेस्ट इन्डिजबीचको खेल भने प्रत्यक्ष प्रसारण हुनेछ।
नेपालले छनोट प्रतियोगिता जितेर पहिलो पटक विश्वकपको ग्लोबल क्वालिफायर खेल्न लागेको हो अर्थात् नेपालले अन्तर्राष्ट्रिय क्रिकेटमा खेल्न लागेको यो अत्यन्त महत्त्वपूर्ण प्रतिस्पर्धा हो।
यस्तोमा ठूलो सङ्ख्यामा रहेका नेपाली समर्थकले प्रत्यक्ष प्रसारणबाट भए पनि खेल हेर्ने अवसर गुमाउने छन्।
यसअघि आईसीसीले जिम्बाब्वे यात्रामा सहभागी १० राष्ट्रका लागि राखेको ुवार्म अपु खेलमा पनि एसोसियट राष्ट्रमध्ये नेपाललाई मात्र टेस्ट राष्ट्रसँग खेल राखेको थिएन।
नेपालले प्रायः खेल्दै आएको यूएई र ओमानसँग नै वार्म अप खेल खेल्ने तालिका परेको छ। स्टार स्पोर्टस सन् २०१५ देखि २०२३ सम्म आईसीसीका खेलहरूको प्रत्यक्ष प्रसारण गर्ने आधिकारिक प्रसारक हो।
आफ्ना दुई महत्त्वपूर्ण खेल टेलिभिजनमा प्रत्यक्ष प्रसारण नहुने भएपछि नेपाल क्रिकेट सङ्घले आईसीसीलाई पत्राचार गर्दै ती खेलहरू प्रसारण गर्न माग गरेको क्यानले जनाएको छ।