गर्मीले जनजीवन अस्तव्यस्त, कहिलेदेखि घट्ला गर्मी ?
उखरमाउलो गर्मीका कारण केही दिनयता देशका विभिन्न भागमा जनजीवन प्रभावित भएको अधिकारीहरूले बताएका छन्। असह्य गर्मीका कारण तराई भूभागमा शिक्षण संस्थाहरू समेत बन्द गरिएको छ।
जल तथा मौसम विज्ञान विभागले तराई भूभागमा अझै केही दिन ुलूु अर्थात् तातो हावा चल्न सक्ने भएको सकेसम्म बाहिर ननिस्किन आग्रह गरेको छ।
विभागका अनुसार नेपालका चार ठाउँमा अहिलेसम्मकै सर्वाधिक तापक्रम मापन गरिएको छ।
नवलपरासीको दुम्कौली, सुनसरीको धरान बजार, इलामको कन्याम चिया बगान र ओखलढुङ्गामा हालसम्मकै उच्च तापक्रम मापन गरिएको हो।
दुम्कौलीमा ४३.८ डिग्री सेल्सियस, धरानमा ३९.३, ओखलढुङ्गामा ३१ र कन्याम चिया बगानमा ३० डिग्री सेल्सियस मापन गरिएको विभागले जनाएको छ।
नेपालमा तथ्याङ्क राख्न थालिएयता सबैभन्दा उच्च तापक्रम ४६.४ डिग्री सेल्सियस मापन गरिएको विभागले जनाएको छ। विभागका अनुसार सन् १९९५ को जुन ५ तारिखमा धनगढीमा ४६.४ डिग्री सेल्सियस तापक्रम मापन गरिएको थियो।
सन् १९९५ कै मे ३ मा ४५.२ डिग्री सेल्सियस र जुन १६ मा नेपालगन्ज ४५ डिग्री सेल्सियस मापन भएको विवरण छ।
सुर्खेतमा तापक्रम ४२ डिग्री सेल्सियस पुगेको थियो।
कहिले घट्छ गर्मी ?
विभागस्थित हावापानी विश्लेषण शाखा प्रमुख तथा वरिष्ठ मौसमविद् इन्दिरा कँडेलका अनुसार अहिलेको गर्मीसँग तीनवटा अवस्था जोडिएको देखिन्छ।
पहिलो त नेपालको भौगोलिक अवस्थितिका कारण यो समयमा सूर्यको किरण धेरै आउँछ जसका कारण जमिनको सतह धेरै तात्छ र हावालाई पनि तताउँछ, उनले भनिन्। दोस्रो अहिले वर्षा गराउने गतिविधि कम भएको छ जसले गर्दा गर्मी धेरै भइरहेको छ र तेस्रो कारण जलवायु परिवर्तनको असर हो।
जल तथा मौसम विज्ञान विभागस्थित मौसमविद् रोजन लामिछानेका अनुसार मनसुन सुरु नभएसम्म गर्मी कम हुने सम्भावना देखिएको छैन।
मनसुन सुरु भएपछि बल्ल तापक्रम घट्न थाल्छ, उनले भने। तर नेपालमा अझै पाँच÷सात दिनसम्म मनसुन सक्रिय नहुने पूर्वानुमान रहेको वरिष्ठ मौसमविद् कँडेलले बताइन्। त्यसकारण अहिले भइरहेको गर्मी यथावत् रहन्छ वा अझै बढ्ने हुन्छ, उनले थपिन्।
मौसमविद्हरूका अनुसार एल निन्यो हुने बेला नेपालमा मनसुनमा कम वर्षा हुने गरेको पाइएको छ। त्यो हुँदा पनि गर्मी बढ्छ।
यो मनसुनमा नेपालमा कम वर्षा हुने आकलन छ। तापक्रम पनि सरदरभन्दा बढी हुने आकलन छ, मौसमविद् लामिछानेले भने।