No Image Headlineदेशमुख्य खबर

प्रमको भारत भ्रमण : सात सम्झौतामा हस्ताक्षर, केके भए सम्झौता ?

Thrill Factory
Rungta Group

नेपाल र भारतबीच सात वटा मुख्य सम्झौतामा हस्ताक्षर भएका छन् । 

प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणको क्रममा बिहीबार द्वीपक्षीय सम्झौतामा हस्ताक्षर भएको हो ।  तल्लो अरुण, फुकोट कर्णाली, पेट्रोलियम पाइपलाइन, क्रस बोर्डर पेमेन्ट लगायतका समझदारीमा हस्ताक्षर भएको छ ।

बिहान भएको प्रतिनिधिमण्डलस्तरीय वार्तापछि पत्रकार सम्मेल मार्फत् सहमति सार्वजनिक भएको हो । नेपालका प्रधानमन्त्री प्रचण्ड र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले पत्रकार सम्मेलन गर्दै सहमतिबारे जानकारी दिएका हुन् ।

१० वर्षमा १० हजार मेगावाट किन्ने

भारतले नेपालबाट १० हजार मेगावाट बिजुली किन्ने भएको छ । भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँगको भेटवार्तापछि बिहीबार आयोजित संयुक्त पत्रकार सम्मेलनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आगामी १० वर्षमा नेपालबाट १० हजार मेगावाट बिजुली किन्ने लक्ष्य लिएको जानकारी दिएका हुन् । 

फुकोट कर्णाली र तल्लो अरुणको विद्युत् आयोजनामा सहयोग गर्ने सम्झौता भएको र यसले नेपालको विद्युत् क्षेत्रको विकास सहयोग पुग्ने प्रधानमन्त्री मोदीले बताए । 

प्रधानमन्त्री प्रचण्डको नेपाल भ्रमणले दुई देशबीचको सम्बन्धलाई थप बलियो बनाएको जानकारी दिँदै उनले पछिल्लो ९ वर्षमा भारतले नेपालबाट ४५० मेगावाट बिजुली किनेको बताए । 

नेपालको विकासका लागि सिर्सिया र झुलाघाटमा पुल निर्माणमा भारतले सहयोग गर्ने भारतीय प्रधानमन्त्री मोदीले बताए ।

पेट्रोलियम पाइप लाइन

नेपालमा पेट्रोलियम पदार्थ आयातमा पाइप लाइन विस्तार गर्न भारत सहमत भएको छ । 

भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँगको भेटवार्तापछि हैदरावाद हाउसमा आयोजित संयुक्त पत्रकार सम्मेलनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालमा पेट्रोलियम पदार्थको पाइपलाइन विस्तार गरिने जानकारी दिएका हुन् । 

रक्सौलदेखि अमलेखगञ्जसम्म रहेको पाइपलाइनलाई विस्तार गरेर चितवनसम्म पुर्‍याउने प्रधानमन्त्री मोदीको भनाइ छ । साथै सिलगुडीबाट झापासम्म पनि पेट्रोलियम पदार्थको पाइपलाइन बनाउने उनले जानकारी दिए ।

चारदिने भारतको औपचारिक भ्रमणका लागि बुधबार दिल्ली पुगेका प्रधानमन्त्री प्रचण्ड र मोदीबीच बिहीबार भेटवार्ता भएको हो । भेटवार्तापछि संयुक्त पत्रकार सम्मेलनको आयोजना गरिएको थियो ।  प्रधानमन्त्री प्रचण्ड शनिबार स्वदेश फर्किने कार्यक्रम छ ।

रामायण सर्किट

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले रामायण सर्किटसँग सम्बन्धित परियोजनालाई तिव्रता दिएर काम अघि बढाउने बताएका छन् ।

भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँगको भेटवार्तापछि हैदरावाद हाउसमा आयोजित संयुक्त पत्रकार सम्मेलनमा मोदीले भारत र नेपालको धार्मिक र सांस्कृतिक सम्बन्ध पुरानो र मजबुत रहेको बताउँदै रामायण सर्किटसँग सम्बन्धित परियोजनालाई तिव्रता दिइने जानकारी दिएका हुन् । 

प्रधानमन्त्री प्रचण्ड र आफूले रामायण सर्किटसँग सम्बन्धित परियोजनालाई द्रुत गतिमा अघि बढाउने निश्चित गरेको मोदीको भनाइ छ । ‘नेपालको धार्मिक र सांस्कृतिक सम्बन्ध पुरानो र मजबुत छ ।

यो सुन्दर कडी अझ मजबुत बनाउन प्रचण्डजी र मैले निश्चित गरेका छौँ कि रामायण सर्किटसँग सम्बन्धित परियोजनालाई द्रुत गतिमा अघि बढाइनेछ,’ पत्रकार सम्मेलनमा मोदीले भने । 

सीमा समस्याको समाधान

भारतीय प्रधानमन्त्री  मोदीले नेपालसँग रहेको सीमा समस्याको समाधान गर्ने बताएका छन् ।

भारत भ्रमणमा रहेका नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग हैदरावाद हाउसमा भएको भेटपछि आयोजित संयुक्त पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन् । उनले भने, ‘यही भावनाले सबै मुद्दा, चाहे सीमाको होस् वा अरु सबैको समाधान गर्छौँ ।’

मोदीले दुई देशको सम्बन्धलाई उचाइ दिन काम गरिरहने बताए ।

कार्गो रेल्वे सेवाको उद्घाटन

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उनका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले  भारतको बथनाहादेखि विराटनगरको बुधनगरसम्मको रेल्वे सेवाको संयुक्तरुपमा उद्घाटन गरेका छन् ।

नयाँदिल्लीस्थित भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको कार्यालय हैदरावाद हाउसबाट दुई देशका प्रधानमन्त्रीले हरियो झण्डा देखाएर कार्गो रेल्वे सेवाको उद्घाटन गरेका हुन् । 

प्रधानमन्त्री प्रचण्ड र उनका भारतीय समकक्षी मोदीले झण्डा देखाएपछि बथनाहाबाट भारतीय पक्षले कार्गो रेललाई बिदाइ र बुधनगरमा नेपाली सरकारी अधिकारीले स्वागत गर्नेछन् । 

विराटनगरस्थित एकीकृत भन्सार जाँच चौकीसम्म आइपुग्ने सो मालवाहक रेलले केही उद्योगका लागि कच्चापदार्थ ढुवानी गरेको छ । लामो समयदेखि कोशी प्रदेशका व्यवसायीले सीमा क्षेत्र बथनाहादेखि विराटनगरको एकीकृत जाँच चौकीसम्म सञ्चालनमा रहेको रेललाई माल सामान ढुवानीका लागि खुला गरेर सहजीकरण गर्न अनुरोध गर्दै आएका थिए । 

भारतको बथनाहाबाट विराटनगरको आइसिपी रेल्वे स्टेसनसम्म बिछ्याइएको आठ किलोमिटर रेलमार्ग तयारी अवस्थामा छ । सो रेलमार्ग २०७५ कात्तिक ८ गते रेल सञ्चालनका लागि परीक्षणसमेत भइसकेको छ । बुधबार पनि सो रेलमार्गको पुनःपरीक्षण गरिएको रेल विभागले जनाएको छ । 

आज उद्घाटन भएपछि सो रेलमार्ग नियमितरुपमा सञ्चालन हुनेछ । यात्रुवाहक रेल भने शीघ्र सञ्चालनमा ल्याउने तयारी छ । यात्रुवाहक रेलका लागि भने कटहरीसम्म रेलमार्ग निर्माण हुनुपर्नेछ । त्यसका लागि पनि आवश्यक तयारी भइरहेको छ । 

बथनाहादेखि विराटनगर हुँदै कटहरीसम्म १८ दशमलव एक किलोमिटर लामो रेलमार्ग सन् २०११ देखि निर्माण सुरु भएको भए पनि पूरा हुन सकेको छैन । केही स्थानमा मुआब्जा विवाद कायमै छ । उक्त समस्या समाधानका लागि पहल भइरहेको छ । 

भारत सरकारको आर्थिक र प्राविधिक सहयोगमा सो रेलमार्ग निर्माण भएको हो । विवरणअनुसार भारतको बथनाहाबाट विराटनगर हुँदै कटहरी गाउँपालिकाको महेशपुरमा अन्तिम स्टेशन निर्माण गर्ने सरकारको योजना छ । कूल लम्बाइमध्ये भारततर्फ पाँच र नेपालतर्फ १३ किलोमिटर बराबर छ । 

सो आयोजनाको कूल लागत तीन अर्ब ७३ करोड भारतीय रुपैयाँ छ । उक्त रेलमार्ग निर्माणको जिम्मा भारतीय कम्पनी इरकोनले लिएकोे थियो । यस्तै हाल जनकपुर जयनगर रेलमार्गसमेत सञ्चालनमा छ । सो रेलमार्ग महोत्तरीको बर्दिवाससम्म निर्माणाधीन छ । 

केही स्थानमा भने निर्माण सम्पन्न भइसकेको छ । भारत सरकारले नेपालका विभिन्न छ स्थानमा रेलमार्ग निर्माण गर्ने सम्झौता तत्कालीन राष्ट्रपति डा रामवरण यादवको भारत भ्रमणका क्रममा भएको थियो । 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button