नेपाल काभा महिला भलिबल च्यालेन्जको सेमिफाइनलमा
बंगलादेशलाई ३-० सेटले पराजित गर्दै नेपाल एनएससी– काभा महिला भलिबल च्यालेन्ज कप २०२३ को सेमिफाइनलमा प्रवेश गरेको छ ।
नेपाल भलिबल संघको आयोजनामा पहिलो पटक आयोजना भएको च्यालेन्ज कपमा समूह ए मा रहेको नेपालले आफ्नो दोश्रो खेलमा बंगलादेशमाथी २५–१०, २५–८, २५–९ ले पराजित गर्दै एक खेल अगावै सेमिफाइनल प्रवेश गरेको हो । पहिलो खेलमा किर्गिस्तानलाई हराएर ३ अंक बटुलेको नेपालले बंगलादेशमाथीको जित संगै ६ अंक बनाएको हो ।
यसै समूहबाट भारतले किर्गिस्तानमाथी ३–० को सहज जित निकाल्दै सेमिफाईनल यात्रा तय गरेको हो । भारतले किर्गिस्तानलाई २७–१७, २५–८, २५–८ को जित निकालेको हो ।
समूह बिजेता र उपबिजेताको छिनोफाने भोली बुधबार हुने नेपाल र भारत बिचको खेलले निर्धारण गर्नेछ । किर्गिस्तान र बंगलादेशले अब बरियताका लागि प्रतिस्पर्धा गर्ने छन् ।
यस्तै मंगलबार नै भएको समूह बी को खेलमा काजाकिस्तानले श्रीलंकामाथी निकैनै प्रतिस्पर्धात्मक खेलमा ३–१ सेटको जित निकाल्न सफल भयो । पहिलो र दोश्रो सेट २५–१६, २८–२६ ले आफ्नो पक्षमा पारेको काजाकिस्तानले तेश्रो सेट १८–२५ले श्रीलंकालाई सुम्पियो ।
यस्तै चौथो सेटमा निकैनै प्रतिस्पर्धात्मक रुपमा २९–२७ ले काजाकिस्तानले जित्दै जित आत्मसाथ ग¥यो । यस जितका साथै काजाकिस्तानको ६ अंक भएको छ । पहिलो खेलमा काजाकिस्तानले मालदिभ्सलाई पराजित गरेको थियो ।